भक्तपुर : कुनै समय यस्ताे थियो, दसैँको आगमनसँगै मध्यपुर थिमी–५ हात्तीमहाँकालका कृष्णबहादुर खड्गीलाई भ्याइनभ्याइ हुन्थ्यो। मासु व्यापार पुर्ख्यौली व्यवसाय भएका खड्गीलाई दसैँमा कमेरो (सेतो माटो)को व्यापारले फुर्सद हुँदैनथ्यो।
‘दसैँ आउन एक महिनाअघि नै कमेरो संकलनका लागि खानी जानुपर्थ्यो। सोह्रश्राद्ध लागेसँगै कमरो बोकेर काठमाडौं र ललितपुरका विभिन्न स्थानमा अर्डर अनुसारको कमेरो पुर्याउने काम हुन्थ्यो’, उनी भन्छन्, २०१५ सालमा धार्नीको ६ पैसामा कमेरो बच्ने ७८ वर्षीय खड्गी अहिले ६० रुपैँयाँमा बिक्री गरिरहेका छन्।
कमेरो दसैँमा घर लिप्न प्रयोग गरिन्छ। विशेषगरी दसैँको जमरा राख्ने दसैँ घर र परम्परागत रूपमा घरघरमा हुने पुजा कोठा वा ढुकुटी कोठाको भित्ता कमेरोले लिप्नु पर्ने मान्यता छ। कमेरोलाई माटो मध्ये चोखो मोटोको रूपमा लिइन्छ। कमेरोले नलिपे दसैँ घर वा ढुकुटी चोखो नहुने विश्वास गरिन्छ।
बढ्दो शहरीकरणले आधुनिक प्रविधिको सिमेन्ट जोडाइ र ढलान घरका कारण कमेरोको व्यापार भने ठप्प भएको विगत ४० वर्षदेखि कमेरो बेच्दै आएकी ५५ वर्षीय कान्छी खड्गीले बताए। कुनै समय दिनमा एक दुई हजारको कमेरो बिक्री गर्ने कान्छी अहिले दिनको दुई चार सयको कमेरो बेच्दै आएको बताउँछिन्।
‘पहिला दसैँमा घर लिप्न धार्नीका धार्नी, बोराका बोरा, कसैले ट्रयाक्टरमा समेत कमेरो लान्थे अहिले एक पाउ, दुई पाउ, कोही कोही त एक दुई टुक्रा माग्न आउँछन,’ उनले भने, ‘कमेरो लिन भक्तपुरका गाउँ गाउँबाट मात्र नभई र काठमाडौँ र ललितपुरका विभिन्न स्थान, काभ्रेको बनेपा, धुलिखेल, पनौती, कीर्तिपुर, त्रिशुली र थानकोटदेखि आउँथे। अचेल त्यस्तो छैन।’ हिजो आज घर लिप्न भन्दा पनि घर चोखो बनाउन र मानिसको मृत्यु हुँदा चोख्याउन थाेरै मात्रामा कमेरो लिन आउने कान्छी खड्गीले बताइन्।
कमेरो मध्यपुर थिमीकै वडा नम्बर ५ र ६ मा पाइन्छ। कमेरो पाइने भएकैले सो ठाउँको नाम नै कमेरोटार रहेको छ। कमेरोटारमा चारदेखि पाँच फिट खनेपछि कमेरो निस्कन्छ। अहिले सो स्थानमा काठमाडौं उपत्यका विकास प्राधिकरणले करिब १२ वर्ष अघिदेखि जग्गा एकीकरण आयोजना लागु गरेपछि कमेरो झिक्न बन्द भएको कान्छी बताउँछिन्। ‘अचेल बिक्री पनि हुँदैन कमेरो लिने ठाउँ पनि छैन’, उनले भनिन्।
'पहिले पहिले कमेरो झिक्न जग्गा धनी स्वयंले बोलाउन आउँथे', कान्छी सम्झिन्छन्, 'त्यो पनि विना पैसा निकाल्न पाइन्थ्यो।' उनका अनुसार खेती गर्न विशेष गरी धान रोप्नको लागि टार खेतमा पानीको समस्या हुने भएकाले जग्गाधनीहरू आफ्नो खेत होचो बनाउन कमेरो झिक्न बोलाउँथे।
कमेरो दसैँमा घर लिप्न मात्र नभई अन्य कार्यमा समेत प्रयोग हुन्छ। विशेषगरी साबुन बनाउन कमेरो उत्तम माटोको रूपमा लिइन्छ। साबुनको प्रचलन नहुँदा कमेरोले नुहाउने गर्थे। यसका साथै शरीरमा डाबर आउने समस्या हुँदा पनि कमेरोले जिउ नुहाउने चलन छ। नेवार समुदायमा मानिसको मृत्यु हुँदा दसौँ दिनमा कपाल खौरन र चाखो हुन कमेरोले नुहाउने प्रचलन अहिलेसम्म पनि छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।