७५ शाखा विस्तार २० वटा शाखा थप हुने

|

काठमाडौं : महालक्ष्मी विकास बैंकले चुक्ता पुँजीको ७ प्रतिशत रकम नगद लाभांश वितरण गर्ने भएको छ। शुक्रबार काठमाडौंमा सम्पन्न बैंकको १७ औँ साधारणसभाले सो लाभांश वितरण गर्न स्वीकृति दिएको हो।

बैंकको चुक्ता पुँजी दुई अर्ब ६३ करोड ३७ लाख ९७ हजार कायम रहेकोमा त्यसको ७ प्रतिशत अर्थात् १८ करोड ४३ लाख ६५ हजार ८२१ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने भएको हो। त्यस्तै, बैंकले चुक्ता पुँजीको ८ प्रतिशतका दरले २१ करोड सात लाख तीन हजार ७९६ रुपैयाँ बोनस शेयर जारी गर्ने विषयमा पनि साधारणसभाबाट स्वीकृति पाएको छ। यसपछि गर्दा बैंकको दुई अर्ब ८४ करोड ४५ लाख एक हजार रुपैयाँ चुक्ता पुँजी पुग्नेछ।

बैंकको कुल निक्षेप गत वर्षको तुलनामा ८ प्रतिशतले वृद्धि भएर २७ अर्ब २७ करोड पुगेको छ। त्यस्तै, लगानी एक अर्ब ७६ करोड, कर्जा तथा सापटी २१ अर्ब ६५ करोड रुपैयाँ पुर्‍याएको बैंकले जनाएको छ। बैंकको कुल सम्पत्ति भने ३१ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ। यो गत अर्थिक वर्षको तुलनामा ८ दशमलव ९१ प्रतिशतले बढी हो।

बैंकले चालु आर्थिक वर्षबाटै चिप्स बेस्ड कार्ड प्रयोगमा ल्याउने जनाएको छ। बैंकका अध्यक्ष राजेश उपाध्यायले बैंकलाई आगामी दिनमा अझ राम्रो र थप विश्‍वासिलो बनाउनका लागि बैंकले आधुनिक प्रविधिको प्रयोगमा प्राथमिकता दिने बताए। उनले बैंकले जनताबाट बचत भएको निक्षेपको सही प्रयोग गर्ने र राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउने गरी काम गर्ने पनि बताए।

बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले आफ्ना शाखाहरूले विविधिकरण र विस्तार गर्दै लगेको जानकारी गराए। बैंकले हालसम्म देशभर ७५ वटा शाखा विस्तार गरिसकेकाे छ। आगामी एक वर्षभित्रमा थप २० वटा शाखा विस्तार गर्ने योजना रहेको बैंकले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.