|

बैतडी : दशैंंनजिक आएसँगै बैतडीका गाउँघरमा चहल-पहल बढेको छ। दशैंंका लागि तराइबाट पहाड आउनेकाे संख्या पनि अत्याधिक बढेको छ। अहिले तराइबाट पहाडका गाडीमा भीड लागेको महाकाली यातायात सतबाँझका काउण्टरका इन्चार्ज कर्णबहादुर पाण्डेले जानकारी दिए। 

मूलघर पहाड भई तराइमा बसाइँसरेकाहरू पनि दशैंंका समयमा पूजापाठका लागि पहाड आउने गरेका छन्। तराइबाट पहाड आउने यात्रुको संख्या बढेसँगै सवारी साधनको चाप पनि बढेको हो।

अहिले गाउँगाउँमा तराइबाट पहाड आउनेको संख्या निकै बढेको दशरथचन्द नगरपालिका त्रिपुराका गणेशसिंह थापाले जानकारी दिए। अन्य समयमा सुनसान हुने गाउँहरू हिजोआज गुल्जार भएका छन्। गाउँमा दशैंंको रौनक छाएको सुर्नया ६ का शिक्षक लवदेव अवस्थीले बताए। रोजगारीको सिलसिलामा भारत पसेकाहरू पनि घर फर्केकाले गाउँमा निकै चहल-पहल बढेको उनले बताए। 

यस्तै पढाइका लागि जिल्ला बाहिर रहेकाहरू पनि घर फर्किन थालेका छन्। रोजगारीका लागि भारतमा रहेका नेपालीहरू घर फर्किने क्रम पनि बढेको छ। सीमा नाका झुलाघाटबाट स्वदेश फर्कनेको संख्यामा वृद्धि भएको सीमा प्रहरीचौकी झुलाघाटले जनाएको छ। दशैंंका लागि घर फर्कनेहरू लर्को लागेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए। 

सदरमुकाम सुनसान

गाउँमा चहल-पहल बढेका बेला सदरमुकाम क्षेत्र भने सुनसान बनेका छन्। दशैंंको समयमा काम बिशेषले बाहिर रहेकाहरू पनि घर फर्किसकेका छन् भने कर्मचारीहरू पनि गाउँ फर्केका छन्। दशैंंको चहलपहल बढेसँगै सदरमुकाम भने सुनसान बनेको छ।अधिकांश कर्मचारीहरू दशैंँका लागि घरतिर हिँडेपछि सदरमुकाम सुनसान बनेको हो। दशैंंको बेला सदरमुकाम चहलपहल कम हुने गरेको सदरमुकामका एक व्यापारी कर्णप्रसाद बोगटीले बताए।

सदरमुकाममा जिल्ला बाहिर तथा अन्य कर्मचारीहरूको बसोबास हुने भएकाले दशैंंका लागि उनीहरू घर हिडेपछि सदरमुकाम सुनसान बनेको उनले बताए। 

रौनकता छायो 

नेपालीको महान चाड बडादशैंं र तिहार नजिकिएसँगै बैतडीका गाउँघरमा रौनकता छाएको छ। पढाई तथा रोजगारीको लागी घरबाहिर रहेकाहरू पनि गाउँमा आएपछि रौनकता छाएको गुरुखोलाका पुस्कर भट्टले बताए। घरबाहिर रहेकाहरू गाउँघरमा फर्किएसँगै स्थानीय बजारहरूमा पनि किनमेल गर्नेको पनि भीडभाड बढेको देहिमाडाैंका एक व्यापारी शंकर बोहराले बताए। यस्तै घटस्थापनादेखि बैतडीका शक्तीपीठहरूमा पनि भक्तजनहरूको भीड लागेको छ।

बसाई सरेर गएकाहरू पनि दशैंंको बेला पाठपूजाका लागी आउने गरेका छन्। यसका साथै राजमार्गमा चल्ने सवारी साधनमा पनि यात्रुको भीडभाड बढी भएको महाकाली यातायातका सिल्लेगडा बुकिंग काउन्टरका इञ्चार्ज दशरथ चन्दले जानकारी दिए।  

किनमेल गर्नेको भिड 

दशैंंतिहार नजिक आएसँगै यहाँका स्थानीय बजारमा  किनमेल गर्नेको भीड लागेको छ। जिल्लाका देहिमाडाैं, पाटन, पुर्चौडी हाट, मेलौली, खोडपे लगायतका बजारमा किनमेल गर्नेको घुइँचो लागेको छ। अहिले सबैभन्दा बढी लुगा ,कपडा र खाद्यन्नको सामान बिक्री हुने गरेको व्यापारीले बताएका छन्। दशैं तिहारमा नयाँ लुगा लगाउने मिठो खाने प्रचलन अनुसार बजारमा किनमेल गर्नेको भीड लागेको मुस्याचौरका व्यापारी भिमराज भट्टले बताए।

दशैंमा सबै परिवार जम्मा भएर रमाइलो गर्ने मिठो मसिनो खाने गर्दछन्। पहिले फाट्टफुट्ट ग्राहक आउने गरेको भएपनि दशैं सुरु भएदेखि बजारमा किनमेल गर्नेको भीड लाग्ने गरेको भट्टको भनाई छ। दशैं तिहार जस्ता चाडपर्वनजिक आएपछि जिल्ला प्रहरी कार्यालय बैतडीले शान्ति सुरक्षाको अवस्थालाई मजबुत बनाएको जनाएको छ। प्रहरी विशेष सुरक्षायोजना बनाएर सुरक्षा व्यवस्था कडा बनाएको बैतडीका प्रहरी प्रवक्ता कान्तिराज जोशीले जानकारी दिए। 

शक्तिपीठहरूमा भक्तजनको घुइँचो

नेपालीकाे ठूलो चाड दशैंंको अवसरमा बैतडीका विभिन्न शक्तिपीठहरूमा भक्तजनको घुइँचो लागेको छ। देहिमाडाैंमा रहेको प्रसिद्ध निङ्गलाशैंनी भगवती मन्दिर , मेलौलीमा रहेको मेलौली भगवती मन्दिर,पाटनमा रहेको उदयदेव मन्दिर, त्रिपुरामा रहेको त्रिपुरासुन्दरी मन्दिर, पुर्चौडीमा रहेको डिलाशैनी भगवती मन्दिर, दोगडाकेदारमा रहेको दोगडाधाम, देउलेक केदार लगायतका दर्जनौं मन्दिरमा घटस्थापनादेखि नै भक्तजनको घुइँचो लागेको हो। 

यी मन्दिरहरूमा भारतका विभिन्न स्थानबाट समेत दर्शनार्थी आएका छन्। दशैंको बेलामा लाग्ने मेलामा भक्तजनहरूको घुइचो लागेकोे दशरथचन्द नगरपालिका २ देहिमाडाैंका अध्यक्ष रनबहादुर बोहराले जानकारी दिए। बैतडीसहित सुदूरपश्चिम लगायत भारतवाट समेत दर्शानार्थी आएका छन् उनले भने, 'महाअष्टमीको दिन राँगा र बोकासहित पूजाआजाका लागि मेला लाग्दछ।'  यस्तै निंगलाशैनी मेला व्यवस्थापन समितिले मेलालाई सभ्य र भव्य रुपले सफल पार्न सबैमा आग्रह गरिएको छ। मेलालाई व्यवस्थित गर्नका लागी गाडी, जीप कार तथा मोटरसाइकल लागी निशुल्क पार्किङको व्यवस्था गरिएको छ। मेलास्थलमा दर्शनार्थीको चाप बढी हुने भएकोले निंगलाशैनी भगवती मन्दिरको पूर्वमा दशरथचन्द राजमार्ग छेउमा निंगलाशैनी क्याम्पसका लागि काटिएको ठाउँ घुसुल्लाको तल्लोमोडमा पार्किङको व्यवस्था गरेको छ। यस्तै पुर्चाैडी नगरपालिकाको मल्लादेहीमा रहेको डिलाशैनी भगवती मन्दिरमा पनि महाअष्टमीको दिन राँगाको बली दिने गरिन्छ।

पाटनमा रहेको उदयदेव मन्दिरमा नवमीको दिन राँगाको बली दिइन्छ। त्रिपुरा सुनदरी मन्दिरमा घटस्थापनादेखि दशैंसम्म बली दिने गरिएको छ। नवरात्रमा चोखोभोको रहेर शक्तिपीठहरूको पूजाआजा गर्ने चलन रही आएको निंगलासैनी भगवती मन्दिरका पूजारी देवदत्त भट्टले बताए। जिल्लाका अन्य शक्तिपीठहरूका साथै अन्य मन्दिरहरूमा पञ्चमीदेखि बिशेष पूजा भइरहेको स्थानीयले बताएका छन्।

परापूर्वकालमा नेपालमै घर भएका तर अहिले उतै स्थायी बसोबास गरिरहेकाहरू दर्शन गर्न आउने गरेका छन्। मेलाहरूलाई व्यवस्थित बनाउन सबै ठाउँमा मदिरा निषेधित क्षेत्र, धम्रपान निषेधित क्षेत्र र खुला दिशा पिसाबमुक्त क्षेत्र घोषणा गरिएको मेला व्यवस्थापन समितिहरूले जनाएका छन्। यसका साथै मेलामा मिठाई,जेरी लगायत अन्य खाद्य पदार्थको सेवन गर्दा ध्यान दिन स्वास्थ्यकर्मीहरूले सुझाएका छन्। धेरै रंग प्रयोग भएको चीजहरू नखान उनीहरूले सचेत गराएका हुन्।

मेलामा कुनै अपाराधिक क्रियाकलाप नहोउन भन्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय बैतडीले मेला स्थलहरूमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.