|

बैतडी : दशैं आयो, खाउला पिउँला, कहाँबाट ल्याउला, चोरी ल्याउला, धत्त पापी म त छुट्टै बसुँला ! यो भनाई बैतडीसहित सुदूरपश्चिममा भने लागू भएको पाइँदैन। देशका अन्य ठाउँ जस्तै बैतडीसहित सुदूरपश्चिममा पनि दशैंको चहलपहल बढेको छ। तर यहाँ पुस्तौंदेखि सात्विक दशैं मनाइँदै आएको छ।

देशका अन्यभागमा दशैंमा खानपीन रमाइलो गर्ने चलन रहेको भएपनि सुदूरपश्चिमका जिल्लाहरूमा पूजापाठ गर्ने, जाग्राम बस्ने लगायतका चलनहरू रहेका छन्। सुदूरपश्चिममा दशैंको बेला खानपिन भन्दा भक्तिभावमै बढी केन्द्रीत हुने गरेको पाइन्छ। सुदूरपश्चिम क्षेत्र सत्यको भूमि भएकाले यो बेला शक्तिकी अधिष्ठात्री देवी भगवतीको सात्विक हिसाबले पूजन हुने गर्दछ। दशैंको बेला देवीदेवताका मन्दिरमा पूजापाठ हुने भएकाले सादगी हिसाबले दशैं मनाउने गरेको संस्कृतिका जानकार आचार्य घनश्याम लेखकले बताए।

दशैंको बेला बैतडीका प्रत्येक गाउँमा देवीदेवताका मन्दिरमा पूजाआजा हुने भएकाले नवरात्र उपवास गरेर पूजा गर्ने चलन रही आएको छ। बैतडीकासहित सुदूरपश्चिममका  विभिन्न शक्तिपीठ र देवताका मन्दिरमा घटस्थापनादेखि नै पूजाआजा जारी रहेका छन्। धेरैजसो नागरिकले नवरात्रीको ९ दिनसम्म चोखो भोको रहेर पूजापाठ गर्ने चलन रहेको छ। सुदूरपश्चिममा दशैंलाई गौरा पर्वसँगै जोडेर हेर्ने गरिएको छ।

भदौ महिनामा गौरीका पूजा गरे जस्तै अश्विन शुक्ल पक्षमा पनि सात्विक हिसाबले शक्तिकै पूजा गर्ने चलन रहेको आचार्य लेखकले बताए। उनले भने, 'मानसरोबर क्षेत्रसँग जोडिएको हुनाले यसलाई मानसखण्ड क्षेत्र भनिएको र मानसखण्ड शिवको तपोभूमी भएकाले यो क्षेत्रका मनाइने चाडपर्वहरु सात्विक हिसाबले मनाउने चलन रहेको छ।' दशैंका बेला दिइने पशुबली पछिल्लो समयमा चलाइएको हुनाले पशुबली आवश्यक नरहेको उनको भनाई रहेको छ।

शास्त्रहरूमा गलत कर्मको बलिदिने, घमण्डको बलिदिने, अहंकारको बलिदिने कुराहरू उल्लेख गरिएको तर पशुबली दिनुपर्ने कुरा कतै उल्लेख छैन उनले भने,'पाशविक क्रियाकलापहरूलाई बलिदिनुपर्ने तर पशुहरूको बलीपछि चलाएको चलन समेत रहेको  छ।' दशैंलाई पारिवारिक मिलनको पर्वका रुपमा समेत लिने गरिएको छ। दशैंको बेला मन्दिरमा पूजाआजा गर्नका लागि तराइमा बसाँसराई गरेकाहरू पनि पहाडमा पुगेका स्थानीयबासीहरूले बताएका छन्।

दशैंलाई पुस्तौंदेखि सात्विक पर्वको रुपमा मनाइने गरेको महाकाली साहित्य संगमका अध्यक्ष चन्द्रमोहन तिवारीको भनाई समेत रहेको छ। दशैंको बेला मिठोमसिनो खाने, मासु खाने चलन देशका अन्य ठाउँमा छ। तर यहाँका विभिन्न शक्तिपीठहरूमा दशैंको दिन पूजाआजा हुने भएकाले सो दिन श्रद्धालुहरू ब्रत बस्ने गर्दछन्।

सात्विक भोजन भन्नाले शान्ति,संयम, पवित्रता र आनन्द जस्ता गुण विकसितलाई भनिन्छ। साथै परिश्रमपूर्वक आफनै धनद्वारा ल्याएका पवित्र खाद्य पदार्थहरू सात्विक भोजनमा पर्दछन्। यस्तै गाइको दूध र गाइको दूधबाट बनेका सबै परिकारहरु घ्यु, गहुँ, चामल जौ, मुग, हरियो पात भएको साग, घिरौला, लौका आदि सात्विक भोजनअन्तर्गत पर्दछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.