|

काठमाडौं : नवराज पराजुली नेपाली कविता क्षेत्रका चर्चित कवि हुन्। छोटो समयमा नेपाली साहित्यमा कविका रूपमा स्थापित उनको पहिलो कवितासंग्रह 'सगरमाथाको गहिराइ' २०७३ मा प्रकाशन भएको थियो। सरल तथा संवेदनात्मक कविता लेखन, आकर्षक प्रस्तुति शैली उनको पहिचान हो। नेपालका विभिन्न क्षेत्र तथा विदेशमा समेत उनको कविताका पारखीहरूको संख्या बढ्दो छ। उनको कृति सगरमाथाको गहिराइले २०७३ सालको पद्मश्री पुरस्कार प्राप्त गरेको थियो। यसै कृतिभित्रका तीन कविताको रचना परिवेशका बारे थाहाखबरकर्मी राजु पौडेलले गरेको कुराकानी प्रस्तुत छ। 

लोकसेवा आयोग

कुनै एक मित्रले आएर भनिदियो, 'हेर नवराज, लोकसेवा आयोगमा नाम निस्किएर परराष्ट्र मन्त्रालयमा जागिरे भइस् भने छ देश कम्फर्म घुम्न पाउँछस्।' साथीहरूले उकेरा लगाइदिएपछि घुम्नमा रुचि राख्ने कवि नवराज पराजुलीको दिमागमा फुरौला उफ्र्यो- 'वाह छवटा देश!' उनी भन्छन्, 'मैले कतिसम्म गरेँ भने नाम निस्किएपछि घुम्न जाने देशलगायत अन्य संभावित देशको सामाजिक, आर्थिक, भौगोलिक स्थितिको समेत अध्ययन गरेँ।'

त्यसपश्चात लोकसेवाको तयारीमा लागे उनी। लोकसेवामा संभावित प्रश्नहरूको अध्ययन गर्दा त्यहाँ अजीवको प्रश्न सोध्ने प्रचलन रहेछ। जस्तै : कुनै किताबभित्र के छ मतलव छैन तर त्यसले कुन मितिमा नोबेल पुरस्कार जितेको थियो? कुन सालमा फलानो देशले विश्वकप जितेको थियो? उनले लोकसेवा परीक्षाको तयारीमा यति धेरै संवतहरू कण्ठ पार्नुपर्थ्यो, जुन जिन्दगीमा काम नै छैन। उनी भन्छन्, 'जोसुकैले जुन सालमा जितोस्, हामीलाई के मतलब? जितेर के गर्‍यो? कृतिमा के थियो? यो मतलवको कुरा थियो तर यस्ता प्रश्न त्यहाँ सोधिँदा रहेनछन्। मात्र साल गते बार। प्रथम पत्रको उनले परीक्षा दिए। जीवनमा लागू हुने एउटा प्रश्न पनि उक्त परीक्षामा सोधिएन। उनको नाम निस्किएन। पहिलो चरणबाट उनी बाहिरिए।

जीवनमा पराजुलीले प्रेम गरे तर लोकसेवाले प्रेमको बारे केही सोधेन। उनले जागिर खाए। लोकसेवाले जागिरको बारेमा केही सोधेन। जिन्दगीमा सुखदु:खको अनुभव गरे। लोकसेवाले त्यसको पनि कुनै प्रश्न सोधेन। सुखमा साथ दिने साथी छन्। साथीको बारेमा केही सोधेन। दु:खमा लात हान्ने साथी थिए। तिनको बारेमा पनि केही सोधेन।

जब जीवनमा भोगेको कुरा नै लोकसेवा नै केही सोध्दैन भने पास हुने कसरी? अंग्रेजी साहित्यबाट स्नातकोत्तर सकेका उनलाई आफ्नै प्रतिष्ठामा आँच आएको अनुभव भयो। उनी भन्छन्, 'लोकसेवाले मलाई हेपेजस्तो लाग्यो। बरु समाजको बारेमा सोधेको भए पास हुन्थेँ।' नेपालीहरूको ‍औसत आयुको आधा जिन्दगी बाँचेको मान्छेले भोगेका कुनै पनि प्रश्न नसोधेपछि त्यही असन्तुष्टिको प्रमाण स्वरूप उनले 'लोकसेवा आयोग' कविता लेखे।

ब्रह्माजीको रजस्वला

'ब्रह्माजीको रजस्वला' शीर्षकको कविता उनले लेख्छु भनेर लेखेका हुन्। आजभन्दा तीन वर्ष अगाडि अछाममा पहिरोले छाउघर बगायो। रजस्वला भएर छाउघरमा बसेकी एक किशोरीलाई समेत उक्त पहिरोले बगायो। बिना कसुर उनले देह त्याग गर्नुपर्‍यो। कहिलेकाहीँ समाचारमा आउने यस्ता घटना झूठ सावित भइदिए कति गज्जब हुँदो हो! किशोरीको ज्यान गएको समाचार सत्य थियो। यो मात्र होइन, छाउघरमा बस्दा बलात्कार भए भन्ने समाचारले आफूलाई अति नै भावुक बनाउने बताउँछन् उनी। उनले सोचे- पहिरोले उनी मरेकी होइनन्, उनको मृत्युको कारण रजस्वला हुँदा छाउगोठमा जानुपर्ने परम्परावादी नेपाली कुसंस्कारले उनलाई मर्न विवश बनाएको हो। सृष्टिको पहिलो कारण नै रजस्वला हो। पहिलो र अन्तिम सत्य पनि।

यो सामाजिक विसंगतिका विरुद्ध जोसँग जे छ, त्यसको भरपूर प्रयोग गर्न जरुरी छ। बोल्न जरुरी छ। लेख्न जरुरी छ। कहिल्यै छाउगोठ नदेखेका उनले यस विषयमा अनुसन्धान गर्न लागे। आजसम्म उनले लेखेका कविताको रिसर्चमध्ये सबैभन्दा लामो रिसर्च नै यस कविताका लागि गरेको बताउँछन्।

उनी भन्छन्, 'यो दुनियाँमा सृष्टि संभवको कारण नै रजस्वला हो। एकातिर रजस्वला भएको कारण सृष्टि संभव छ, अर्कोतिर रजस्वला भएकै कारण महिला, किशोरीको मृत्यु हुनु कतिसम्मको विडम्बना! कहालीलाग्दो विडम्बनाले जोसुकैका आँखा रसाउन सक्छन्। मनमा आँधी आउन सक्छ। कुनै विद्वानले भनेका छन्, 'यो संसारमा पापले जित्न एउटै कुरा पर्याप्त छ- असल भनिएका व्यक्ति चुपचाप बस्नु।' आफ्नै आँखा अगाडि कसैको मृत्यु हुन्छ र मानवीयता जाग्दैन भने मुर्दा र आफूमा कुनै भिन्नता नरहेको उनको तर्क छ।

यो सामाजिक विसंगतिका विरुद्ध जोसँग जे छ, त्यसको भरपूर प्रयोग गर्न जरुरी छ। बोल्न जरुरी छ। लेख्न जरुरी छ। कहिल्यै छाउगोठ नदेखेका उनले यस विषयमा अनुसन्धान गर्न लागे। आजसम्म उनले लेखेका कविताको रिसर्चमध्ये सबैभन्दा लामो रिसर्च नै यस कविताका लागि गरेको बताउँछन्। उनले गुगल गरे। छाउगोठसम्बन्धी सबै फोटोको अध्ययन गरे। छाउगोठसम्बन्धी साइन्सले के भन्छ? धर्मशास्त्रमा के लेखिएको छ? उनले पढे। विश्वविद्यालयमा पढ्ने उनका समकालीन महिला साथीहरू समेत घर जाँदा छाउगोठमै बस्ने कुरा पराजुलीले पत्ता लगाए। यसले पनि उनको मन शान्त हुन सकेन। उनी छाउगोठको अध्ययनका लागि पश्चिम जाने सोच बनाए तर अस्तव्यस्त शहरको आफ्नो कार्यतालिकाले उनी पश्चिम जान नसकेकोमा थकथकी मान्छन्।

सबै कुराको अध्ययनपश्चात उनले यो समाजको विसंगति विरुद्ध कलम चलाए। एक दिन ब्रह्माजीको रजस्वला कविता लेखे। यो कविता उनले एकै दिनमा सकेको बताउँछन्। सुरुमा १७ सय शब्द थियो। काटछाट गर्दै जाँदा अहिले यो कविता ८०० शब्दको छ। उनी भन्छन्, 'यो कविताले समाजलाई कस्तो प्रभाव पार्छ, त्यो समयले बताउला तर यो कविता मलाई मनपर्ने कविताहरूमध्येको एक हो।'

सेल्फी

कुनै बेला उनी एक कम्पनीको कारिन्दा थिए। मिति भुले उनले। मधुरो घाम। चिसो बतास। ठण्डी मौसम। यसबाट बच्न उनी मफलर लगाएर अफिस पुगेका थिए। अफिस पुग्दा अफिसमा काम गर्ने महिला, जुन शहरमा हुर्केकी उच्च घरानाकी थिइन्, ती महिलाले पराजुलीको मफलर हेरेर भनिन्, 'छ्या नवराज सर, तपाईं कस्तो मधेसी जस्तो देखिनुभएको छ।' उनी त्यो दिन सम्झँदै भन्छन् 'यस्तो  टिप्पणीको प्रतिक्रियाको के दिनुपर्छ मलाई थाहा थियो। रिस उठेन। चित्त दुख्यो। मान्छे रिसमा प्रतिक्रिया दिन्छ। चित्त दुखेपछि मान्छेले कुनै जवाफ फर्काउने कोसिस गर्दैन।' 'छ्या तपाईंलाई यो मफलर सुहाएन' भनेको भए पनि केही हुँदैन थियो अथवा 'छ्या नवराज सर, तपाईंको मफलर फोहोर छ' भनेको भए पनि चित्त फाट्ने कुरा हुँदैन थियो रे! तर उनले मधेसी जस्तो देखियो भनिदिइन्।

यसको मतलब कुरूप अथवा जेसुकै पनि हुन सक्छ तर नियत खराब नै थियो। यो वाक्यले उनको रगत उम्लियो। मानौँ, शान्त तलाउमा कसैले ढुंगा फ्याँक्यो। छाल उठ्यो। के गरौँ, कसो गरौँ भयो उनलाई। त्यस बखत अशोककुमार यादव भन्ने एक जना भाइ जस्तो साथी सम्झिए उनले। यादव अहिले जनकपुरमा छन्। पराजुली सम्झिन्छन्, 'त्यो भाइ एकदम असल थियो। एक्लोपनको साथी थियो। दु:खमा हात दिने भाइ थियो। निराश हुँदा ऊर्जा दिने दाइ जस्तो थियो।' पराजुलीका लागि मधेसी भनेको अशोककुमार यादव थियो, जसले उनका लागि जस्तोसुकै दु:ख झेल्न तयार थियो।

पराजुलीको नजरमा मधेसी भनेको बिना स्वार्थ आफूले गर्न सक्ने सबै सहयोग गर्ने व्यक्ति थियो। ती महिलाले मधेसी भनेर यादवको खिल्ली उडाएको महसुस भयो। महसुस रिसमा बद्लियो। त्यो रिस कवितामा पोखेका हुन् उनले। उनी भन्छन्, 'रिस लेखेको हुँ कवितामा तर रिसले लेखेको होइन।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.