|

त्रिपुराकोट(डोल्पा) : यहाँका महिलाले स्वास्थ संस्थामा गएर सुत्केरी गराएबापत पाउनुपर्ने यातायात खर्च र उत्प्रेरण भत्तावापतको रकम पाएका छैनन्। त्रिपुरा सुन्दरी नगरपालिकाअन्तर्गत पर्ने त्रिपुराकोट स्वास्थ चौकी, सुँ स्वास्थ चौकी, लिकु स्वास्थ चौकी र पहाडा स्वास्थ चौकीमा सुत्केरी गराएका महिलाले यातायात खर्च र उत्प्रेरणा रकम नपाएका हुन्।

'सुत्केरी भएकै दिनमा भत्ता पाइन्छ भन्थे तर चार महिना बितिसक्यो यातायात खर्च र उत्प्रेरणा भत्ताबापतको रकम पाइएको छैन', त्रिपुरासुन्दरी नगरपालिका–१  की शान्ति थापाले गुनासो गरिन्, 'कि पाँइदैन भने हुन्थ्यो। पाइने भए समयमै नदिए त्यसको के अर्थ?'

सरकारले सुत्केरी महिलालाई लक्ष्य गरी छुट्याइएको रकमसमेत लामो समयसम्म नपाँउदा महिलाहरू निराश भएको थापाले बताइन्। त्यस्तै त्रिपुरासुन्दरी– १ की अस्मिता नेपालीले पनि यातायात खर्च र उत्प्रेरण खर्च वापतको रकम नपाएको बताइन्। 'असार अन्तिममा सुत्केरी भएकी हुँ। रकमका लागि तीन पटक स्वास्थ संस्थामा आए तर रकम पाउन सकेको छैन', उनले भनिन्।

एक महिला गर्भवती भएदेखि सुत्केरी नहुन्जेलसम्म स्वास्थ संस्थामा चारपटक चेकजाँच गराएवापत उत्प्रेरण भत्तास्वरूप एकमुष्ठ ८०० रुपैयाँ र स्वास्थ संस्थामै सुत्केरी गराएवापत हिमाली जिल्लामा यातायात खर्च तीन हजार रकम पाउने सरकारले व्यवस्था गरेको छ।

स्वास्थसंस्थामा सुत्केरी भएवापत २४ घण्टा भित्र पाउनुपर्ने रकम चार महिना बितिसक्दा समेत नपाएपछि महिलाहरू स्वास्थ चौकीमा धाउन थालेको त्रिपुरासुन्दरी नगरपालिका–१ स्थित त्रिपुराकोट स्वास्थचौकीका प्रमुख तुलबहादुर श्रेष्ठले बताए।

'गत साउनमा त्रिपुराकोट स्वास्थ्यचौकीमा सुत्केरी भएका नौ जना महिलाले यातायात खर्च र उत्प्रेरणा भत्तावापतको रकम पाएका छैनन्, नगरलाई रकम निकासाका लागि माग गर्दा सुनुवाइ भएको छैन्', श्रेष्ठले भने, 'सुत्केरी भएको २४ घण्टामा उपलब्ध गराउनुपर्ने पैसा हो तर चार महिनापनि नपाएपछि स्वास्थ्यका कर्मचारीले नै खाइदिएको भन्दै महिलाहरू पटकपटक स्वास्थ चौकी अाउँछन्।'

रकम खोज्दै स्वास्थ संस्थामा आउने महिलाहरूलाई नगरपालिकाबाट रकम निकासा नभएको र भएपछि मात्रै पाउनुहुन्छ भनेर फर्काउने गरेको श्रेष्ठले बताए। त्यस्तै नगरको पहिलो प्रसूति गृहको रूपमा सञ्चालन गरिएको लिकु प्रसूतिगृहका १८ महिलाले पनि यातायात खर्च र स्वास्थजाँच गराएवापतको उत्प्रेरणा भत्ता नपाएको स्वास्थ प्रमुख मेघराज बरालले बताए।

'एक दिन बिराएर माग्न आँउछन्।थोरै रकम भए सरसापट गरेर उपलब्ध गराउनहुन्थ्यो। माग्न आएका सबैलाई रकम निकासा नभएको भन्दै त्यसै फर्काउने गरेका छौँ', बरालले भने।

नगरमा प्रसूति गृह सञ्चालन भएका चारवटै स्वास्थ चौकीका महिलाले यातायात खर्च र उत्प्रेरण खर्च वापतको रकम नपाएको बताए। अर्को पहाडा स्वास्थ चौकीमा सुत्केरी गराएका महिलाले पनि यातायात खर्च र नियमित स्वास्थ चेकजाँच गराउँदा पाईने  उत्प्रेरण भत्तावापतको रकम पाएका छैनन्।

त्यस्तै सुँ स्वास्थ चौकीमा सुत्केरी गराएका ६ महिलाले यातायात खर्च र नियमित स्वास्थ जाँच गराउँदा पाईने उत्प्रेरणा भत्तावापतको रकम नपाएको स्वास्थ प्रमुख रमेश केसीले जानकारी दिए। नगरपालिकाभित्र पर्ने सम्पूर्ण स्वास्थचौकीको सेवा प्रवाह प्रभावकारी बनाउने, स्वास्थसम्बन्धी स्थानीय कानुन निर्माणका लागि पहल गर्ने, कर्मचारीको नियमितताको विषयमा अनुगमन गर्ने निकायको रूपमा रहेको नगर स्वास्थ इकाइले नगरको स्वास्थ सेवा व्यवस्थापनको विषयमा चासो नदिएको स्वास्थ प्रमुखहरूको भनाइ छ। 

नगर स्वास्थ इकाइको संयोजको जिम्मा पाएका कृष्ण कार्कीले प्रभावकारी रूपमा स्वास्थ संस्थाहरुसँग समन्वयगर्न नसकेको समेत सरोकारवालाको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.