|

काडमाडौं : गत असोज २३ गते निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्याका मुख्य भूमिकामा रहेका ‘सुटर’ उदयपुर रौता- ५ का अम्बर राना मगरसहित तीन जना पक्राउ परेका छन्। गौचनलाई रानाले गोली हानी हत्या गरेका थिए।

त्यस्तै, हत्यामा संलग्न अन्य दुई जना झापा विर्तामोड नगरपालिका- ५ का सोम लामा ‘लोप्साङ’ र काठमाडौं नागार्जुन नगरपालिका- ४ का रोशन बुढाथोकी रहेका छन्। महानगरीय अपराध महाशाखाले उनीहरूलाई झापाको काँकडभिट्टाबाट पक्राउ गरेको महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) धीरजप्रताप सिंहले जानकारी दिए।

उनीहरूले गौचन हत्यापछि भारतमा लुकिछिपी विभिन्न व्यवसायीहरूलाई धम्क्याउँदै आएका र विशेष सूचनाको आधारमा उनीहरूलाई झापाको एकै ठाउँबाट आइतबार पक्राउ गरिएको सिंहले बताए।  

यसअघि पनि प्रहरीले गौचन हत्याका पाँच जना अभियुक्तलाई पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमा मुख्य योजनाकार काठमाडौं बाफलका समिरमानसिंह बस्नेतलगायत राजीव स्याङ्तान, पर्सा कालिकामाई गाउँपालिका- १ का शिवजी महतो, भारत बेतिया ग्राम पंचायत चौबेटोला- ७ बस्ने २४ वर्षका मुकेशकुमार पाण्डे,  सन्तोष गुरुङ, काठमाडौं नार्गाजुन नगरपालिका- ४ का प्रकाश बुढाथोकी रहेका थिए। अर्का आरोपी मनोज पुन भने प्रहरीको इन्काउन्टरमा मारिएका थिए।

यस्तो छ गौचन हत्याका सुटर अम्बर रानाको विगत

उदयपुर रौता- ५ का अम्बर राना मगर नेपाली सेनाका भगौडा सिपाही हुन्। इलामस्थित कालीध्वज गणबाट २०७२ सालमा सेनाको जागिर छाडेर अपराधको दुनियाँमा प्रवेश गरेका थिए उनी।

छोटो समयमा नै अपराधको दुनियाँमा चर्चा कमाएका रानाको मुख्य भूमिका नै सुटरको रहने गरेको प्रहरीको भनाइ छ।

रानाले गौचनको गोली हानी हत्या गर्नुअघि काभ्रेका अर्का गुण्डा नाइने दावा लामामाथि समेत ०७३ चैत २९ गते काठमाडौं बौद्धको नयाँबस्तीस्थित दिव्य पार्टी प्यालेस अगाडि जिम जाँदै गर्दा गोली हानेको समेत स्वीकार गरेको प्रहरीको भनाइ छ।

त्यस्तै, गौचन हत्याका अर्का गुण्डा लोप्साङ लामाले समेत ०७३ पुस ४ मा रूपन्देही देवदह- ७ का दुर्गा तिवारीको हत्यामा सुटरको भूमिका खेलेको प्रहरीको भनाइ छ। पक्राउ परेका तीन जना समिरमानसिंह बस्नेतका समूहका रहेको प्रहरीको भनाइ छ।

यसरी भएको थियो गौचनको हत्या

असोज २३ गते निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचन आफ्नो कारमा शान्तिनगरबाट नयाँ बानेश्वरतर्फ जाँदै थिए। शान्तिगरको खरिबोट पुग्दा रोशन बुढाथोकीले उनको कारमा इटाले प्रहार गरे।

कार गौचनका चालकले चलाएका थिए। इटा प्रहारबाट कारको अगाडिको सिसा फुट्यो। त्यही मौकामा अम्बर राना मगरले दुई राउण्ड गोली प्रहर गरी गौचनको हत्या गरेका थिए। हत्यापछि उनीहरू मोटरसाइकलमा भागेका थिए। भाग्ने क्रममा राना मगरले आफूले लगाएको टोपी र ज्याकेटसमेत फालेर भागेका थिए। गौचन हत्या भएको एक वर्षपछि उनीहरू पक्राउ परेका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.