आफन्तले शव उठाउन मानेनन्

|

काठमाडौं : रामनगर गाउँपालिका ४ मा दुई पक्षबीच भएको झडपमा भरुवा बन्दुक चल्दा एक जनाको मृत्यु भएको छ। नेपाल कम्युनिस्ट पार्टी र नेपाली कांग्रेसका कार्यकर्ताबीच भएको झडपमा एक जनाको मृत्यु भएको हो।

सर्लाहीको रामनगर गाउँपालिका ४ मा नेकपा र कांग्रेस कार्यकर्ताबीच भएको झडपमा भरुवा बन्दुक चल्दा रामविलास महतोको मृत्यु भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जानकारी दिए।

महतोलाई भरुवा बन्दुकको गोली लागेको हो। झडपका क्रममा एक पक्षले भरुवा बन्दुक पड्काएको प्रहरीले जानकारी दिएको छ।

५० वर्षीय मृतक महतो आफ्नो कार्यकर्ता रहेको नेपाली कांग्रेसले दाबी गरेको छ।

घटनास्थलमा प्रहरी परिचालन

झडप भएको स्थलमा व्यापक प्रहरी परिचालन गरिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको व्यापक परिचालन गरिएको सुरक्षा अधिकारीहरूले जानकारी दिएका छन्। घटनालाई ध्यानमा राखेर प्रदेश २ मा रहेको प्रहरी कार्यालयको बैठक बसिरहेको छ। प्रदेश २ का प्रहरी प्रमुख डिआईजी हरिबहादुर पाल लगायत सुरक्षा अधिकारीहरूको बैठक बसिरहेको छ।

रामनगर गाउँपालिका ४ को वडा कार्यलय नजिक विवाद भएको हो। घटनास्थलमा रहेका प्रहरी निरीक्षक कुन्दन देवका अनुसार गोली कसले प्रहार गरेको हो भन्ने निश्चित भइसकेको छैन। उनले भने, 'गोली हान्ने मान्छेको खोजी भइरहेको छ। प्रहरी परिचालन भइरहेको छ र घटनाबारे विस्तृतमा बुझ्ने काम भइरहेको छ।'

घटनाबारे जानकारी दिँदै उनले भने, 'निर्वाचित वडाअध्यक्ष घरबाट कार्यालय जाने क्रममा कुटपीट भएको थियो। सोही विषयमा आज बिहान थप विवाद हुँदा झडपको स्थिति आएको रहेछ। सोही क्रममा एउटा समूहले फायर खोल्यो र एकजनालाई लाग्यो। ५-६ जना सामान्य घाइते भएका छन्। ढुंगा लागेर घाइते भएका हुन्। कसैलाई टाउकोमा त कसैलाई निधारमा चोटपटक लागेको छ।'

देवका अनुसार घटनास्थल अहिले सामान्य अवस्थामा आइसकेको छ। तर, कतिबेला झडप हुने भन्ने निश्चित नभएको उनले संकेत गरे। उनले भने, 'थप अवस्था के होला भन्न सकिन्न तर अहिलेलाई सामान्य रहेको छ।'

आफन्तले शव उठाउन मानेनन्

मृतक महतोका आफन्तले शव उठाउन मानेका छैनन्। डिआईजी पालका अनुसार पीडितलाई शव उठाउन आग्रह गरिएको र अपराधी पक्राउ गर्न प्रतिवद्धता व्यक्त गरिएको छ।

पालले घटनास्थलमा तीनसय भन्दा बढी प्रहरी परिचालन गरिएको जानकारी दिए।  

सम्बन्धित समाचारः

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.