|

उदयपुर : नेपाली प्राचीन संस्कृतिसँग जोडिएका कला, भाषा, धर्म, संस्कार, दैनिक उपभोग्य वस्तु आदिमा परिचित हुने लेखक हुन्, प्रा.डा. सोमप्रसाद खतिवडा। समाजमा दीर्घकालसम्म अपनाइएका पद्धतिहरू नै संस्कृति हुन्।  त्यही संस्कृतिका बारेमा खोज, शोध र अनुसन्धान गर्नेहरूको समूहमा खतिवडा पनि दर्ज भएका छन्। 

सभ्यता र संस्कृतिको निर्माण, समाज, देश, सन्दर्भ जोडेर पनि खतिवडालाई चिन्ने गरिन्छ। इतिहास, दर्शन, भूगोल, समुदायसँग जोडिएका खतिवडाका पुस्तक पाइन्छ। प्राचीन र मध्ययुगीन संस्कृति, भौतिक संस्कृति, पाश्चात्य संस्कृति, हिन्दु संस्कृति तथा मुगल संस्कृतिलगायत विविध पाटा समेटिएका पुस्तक खतिवडाले पाठक सामु ल्याउने गरेका छन्।

संस्कृतिविद्को रूपमा परिचय बनाएका खतिवडाको जन्म २०१८ सालमा तेह्रथुमको थाक्समा अर्थात् अहिलेको छथर गाउँपालिकामा भएको हो। बुबा शरदचन्द्र खतिवडा र आमा नैनकला खतिवडाको साहिँलो सन्तानका रूपमा जन्मेका हुन् उनी। खतिवडाले २०६० सालमा संस्कृति विषयमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन्। 

२०३७ सालमा प्राथमिक विद्यालयको प्रधानाध्यापक पदबाट राजीनामा दिए उनले। ‘पढ्न मलाई बहुत मन लाग्थ्यो’, उनले भने, ‘बुबाको आग्रहमा पढ्नलई धरान आएँ।’ त्यहीँ एउटा विद्यालयमा पुस्तकालयमा कर्मचारी भएर जागिर खाँदै महेन्द्र क्यम्पसमा मानवविकीतर्फ आइएलाई पढाउन थाले। त्यहाँ पढ्दा पढ्दै फेरि प्राथमिक तह र निम्नमाध्यमिक तहमा शिक्षक सेवा आयोगमै नाम निकाले। निमावि पढाउँदै माध्यमिक तहलाई पनि पढाउन थाले। जागिर खाँदै बिए र बिएल एकैचोटि पास गरे।

२०४५ सालमा जागिर छाडेर एमएम पढ्न काठमाडौं हिँडे। त्रिभुवन विश्वविद्यालयमा संस्कृति विभागबाट २०४७ सालमा एमए प्रथम श्रेणीमा प्रथम भएर पास गरे। प्रथम भएको अवसरमा पहिलो विदेश भ्रमणका लागि अवसर पाए। खतिवडाले भने, ‘२०६० सालमा पिएचडी गरेर त्रिभुवन विश्वविद्यालयकै महेन्द्र मोरङ क्याम्पसमा संस्कृति विभागमै अध्यापन गराइरहेको छु।’

लोप हुँदै गएका विभिन्न जात जातिका संस्कार, परम्परा अनि भाषाभाषिकालाई उजागर गरेर लेख्ने लेखक तथा संस्कृतिविद्का रूपमा खतिवडालाई लिने गरिन्छ। ‘मेरो विधा नै संस्कृति हो’, खतिवडा भन्छन्, ‘बहुभाषिक, बहुजातीय, धर्म, परंपरा भएको देश नेपाल हो। त्यसैलाई शोध, खोज गरी लेख्नु मेरो कर्तव्य हो।’

यसरी संस्कृतिका क्षेत्रमा लेख्न थाले

संस्कृतिका विषयमा कलम चलाउने खतिवडा अध्यापनमा पेसामा आवद्ध छन्। संस्कृति विषय नै अध्यापन गराउने खतिवडा भन्छन्, ‘मैले एमए प्रथम श्रेणीमा प्रथम भएर पास गरेको हुँ। जो टप हुन्थ्यो, त्यसलाई त्रिभुवन विश्वविद्यालय काठमाडौंमा पढाउन दिने भनिएको थियो। त्यो बेला प्रजातन्त्र आएको थियो। त्रिविमा चारवटा दरबन्दी हुँदा पनि राजनीतिक सिकार बनेर धरान नै आएँ।’ 

‘धरानकै क्याम्पसमा आइएलाई पढाउन थाले र एउटा निजी विद्यालय पनि खोलेँ। विराटनगरमा महेन्द्र मोरङ क्याम्पसमा कल्चर पढाइ हुने भयो। त्यहाँ धेरै जनालाई पढाउन बोलाइएछ’, विगत सम्झँदै उनी भन्छन्, ‘पढाउने मनसायमा थिइनँ। गुरुहरूले पढाउनुपर्छ, लेख्नुपर्छ भन्नुभयो अनि पढाउन र किताब लेख्न थालेँ।’ 

पहिलो किताबमै ८० हजार घाटा लाग्यो

खतिवडाले पहिलो किताब २०५४ सालमा ‘हिन्दु समाज र धर्म’ डा. गणेश क्षेत्रीसँग संयुक्त रूपमा प्रकाशन गरे। ‘त्यहीँबाट संस्कृति पढेकाले यही विधा रोजेर लेख्न थालेँ’, उनले भने, ‘अहिले पनि विराटनगरको डिग्री क्याम्पसमा पढाउँदै लेखनमा सक्रिय छु।’ पहिलो किताब नबिकेर ८० हजार रुपैयाँ घाटा लग्यो उनलाई तर पछि प्रा.डा. पेशल दाहाललगायतसँग मिलेर लेख्दै गए। अहिले पनि लेखिरहेका छन्।

खतिवडाका पुस्तकहरू

त्रिभुवन विश्वविद्यालयका प्रा.डा. खतिवडाले अधिकांश पुस्तहरूमा संस्कृतिको बारेमा खोज, अनुसन्धान, शोध गरेर लेख्ने गरेका छन्। खतिवडाका ‘बराहक्षेत्रको सांस्कृतिक सम्पदा, २०६७, ‘कौशिकी संस्कृति’, २०७०, ‘पर्यटकीय क्षेत्र रौताको परिचय’, २०६९, ‘नेपालका लिपि र मुद्राहरूको परिचय’, २०६६, ‘सुनसरीको तीर्थयात्रा पर्यटन ः विगत र वर्तमान’, २०६८, ‘मोरङ सांस्कृतिक पर्यटन ः संभावना र चुनौतीहरू’, २०६७, ‘राजा धनपालको इतिहास’, २०७०, ‘नेपालको पुरातत्त्व कला, वास्तुकला र पर्यटनको परिचय’, २०६५, ‘कालीकोसी सात कन्या, सिमसार तथा पर्यटकीय क्षेत्र’, २०७१, ‘रामधुनी बाबा वनखण्ड तप्सथली’, २०७४ प्रकाशित छन्। 

यसैगरी ‘अनुसन्धान पद्धति’, २०६४, सहलेखन, ‘नेपाली समाज र संस्कृतिको परिचय’, २०६५, सहलेखन, ‘नेपालमा पुरातत्त्व’, २०६४, सहलेखन, ‘नेपालको सांस्कृतिक पर्यटन’, २०६७, सहलेखन, ‘नेपाली कला र वास्तुकला’, २०६३, सहलेखन, ‘नेपाली समाज र संस्कृति’, २०६३, सहलेखन, ‘हिन्दु समाज र धर्म’, २०५४, सहलेखन, ‘उदयपुरगढीको इतिहास र पर्यटन’ २०७४, ‘नेपाली संस्कृति र विश्वकोश’, २०७४ डा. खतिवडाका प्रकाशित पुस्तकहरू हुन्।

‘पैसा कमाउन र पुरस्कार पाउन लेख्दिनँ’

पुरस्कार पाउन र पैसा कामाउनका लागि नलेख्ने गरेको भनाइ खतिवडाको छ। खतिवडाले भने, ‘इतिहास र भावी पुस्ताको संरक्षण गर्न लेख्ने गर्छु।’ संस्कृति विधाको राष्ट्रिय प्रतिभा पुरस्कार, २०७१ पाएका छन् उनले। ‘त्यहाँभन्दा अरू केही पाएको छैन’, उनले भने। त्यसो त उनले गुरुकुलचन्द्र शास्त्री स्वर्ण पदक, २०४८ र महेन्द्र विद्याभूषण दोस्रो २०४८ मा एमएमा प्रथम श्रेणीमा प्रथम हुँदा पाएका थिए। पुरस्कार पाउन योग्य मात्र भएर नहुने, पहुँच पनि पुग्नुपर्ने उनको अनुभव छ। 

‘पुरस्कारको लोभमा परेर लेखेको होइन’, उनले भने, ‘पाँच-सातवटा किताब त आफैँले लेखेर छापेर बिना पैसा बाँडेको छु।’ विभिन्न सभ्यता र संस्कृतिको गहिरो खोजी गरेर लेख्छन् उनी। ‘पेट पाल्नका लागि क्याम्पसमा जागिर खान्छु,’ उनले भने, ‘बिदा निकालेर हिँडेर, खर्च गरेर अध्ययनमा डुबेर मात्र लेख्ने गरेको छु, जुन भावी पिँढीका लागि मार्गदर्शन बनोस्।’

‘संस्कृति भनेको नाचगान मात्र होइन’

८० दशकअघि संस्कृति नाचगान मात्र भएको बताउँदै खतिवडा भन्छन्, ‘संस्कृति भनेको नाचगान मात्र गर्ने अनि क्षेत्री ब्राह्मणको संस्कार हो भन्ने सोच थियो। संस्कृति आत्मा हो, पहिचान हो। यो आर्थिक पाटोसँग पनि जोडिएको हुन्छ।’

नेपाली संस्कृति पहिचान तथा परिचय हो भन्दै खतिवडा थप्छन्, ‘कुन जातिको के परिचय, पहिचान, धर्म–संस्कार, परंपरा खोजेर लेख्नु मेरो दायित्व सम्झन्छु। त्यही कुरा समाज र विद्यार्थीलाई समेत सिकाउने गर्छु।’ पछिल्लो समय विदेशमा बस्ने नेपालीहरूले संस्कृतिसँग जोडिएका पुस्तकहरू किनेर पढ्न थालेपछि अझ हौसला बढेको खतिवडाको भनाइ छ।

२० वर्ष लगाएर लेखे ‘नेपाली संस्कृति विश्वकोश’

प्रकाशनगृहरूले धेरै रोयल्टी नदिएको गुनासो गर्दै खतिवडाले दुखेसो गरे। ‘बजारमा कल्चरका किताबको धेरै माग छ। बिक्री हुन्छन्। कल्चरका किताब पनि पाठकले पढ्न थालेको महसुस गर्दै खोज गरेर २० वर्ष लगाएर गएको फागनुमा नेपाली संस्कृति विश्वकोश ल्याएको छु’, उनले भने, ‘त्यसमा विश्वभर रहेका नेपालीको कल्चरको बारेमा समेटेको छु। धेरै क्षेत्रमा अध्ययन गर्नेहरूलाई काम लग्ने पुस्तक हो– नेपाली संस्कृति विश्वकोश।’ 

पहिलो विदेश भ्रमणको त्यो क्षण

एमए प्रथम श्रेणीमा प्रथम भएर विदेश भ्रमणमा अवसर पाएका खतिवडालाई सहज भने भएन। ‘जापान जानका लागि त्रिभुवन विश्वविद्यालयको संस्कृति विभागबाट सिफारिस भएन’, उनले भने,  ‘विभागले सात जना मान्छेको ठाउँमा अरू मान्छेको नाम पनि पठाएको थियो। मलाई थाहा भएन, साथीहरूले भन्नुभयो, तेरो जापान जान नाम सिफारिस भएको छ। नेपालका लागि जापानी राजदूताबासमा एउटा निबन्ध लेखेर बुझाएँ।’

सबैले कम्युटर टाइपिङ गरेर बुझाए। उनले भने नगरीकन बुझाए। ‘तँ जापान केका लागि जन्छस्?’ भन्नेबारेमा निबन्ध लेख्नुपर्ने थियो। मन्त्रालयदेखि सबैले हातले लेखेको निबन्ध होइन, कम्युटर टाइपिङ गर भने। ‘मैले एकोहोरो रूपमा मानिनँ। फिर्ता गर भने गरिनँ। त्यही बुझाएँ’, उनी भन्छन्, ‘मलाई जापान जान पाउँछु भन्ने आशा पनि थिएन। अन्तिममा अन्तर्वार्ता लिइयो। मैले नाम बिर्सें, त्यसबेला अन्तर्वार्ता लिनेलाई म पढ्न आएको मान्छे, गाउँमा बाबुबाजेलाई दुःख छ, कम्युटर टाइप गर्ने पैसा मसँग छैन।’

त्यसपछि उनलाई एक नम्बरमा छनोट गरेर सातै जनाको लिडर बनाइदियो। पछि हङकङ पनि घुमाउने भयो। त्यहाँ पनि घुमेर आए उनी। ‘नेपालीहरू जापान गएपछि फर्केर आउँदैनथे। मैले सबैलाई फिर्ता लिएर आएँ’, उनले भने, ‘त्यो मान्छेले बेलाबेला बोलाएर घुमाउने पनि गथ्र्यो। त्यो थाई एयर दुर्घटना हुँदा मर्‍यो। पछि अन्य देशहरूमा पनि भ्रमण गरेको नै छु।’

संस्कृति अध्ययन गर्नेलाई खतिवडाको सुझाव

नेपाली संस्कृति अति धनी छ। खोज अनुसन्धानमा ‘भर्जिन’ छ। खोज अनुसन्धान भएको छैन। यो पुस्तौँ पुस्ताले गर्ने कुरा हो। आउने पिँढीले गर्नै पर्छ। राष्ट्रको उन्नति, देशको प्रगति र जनताको विकास यही संस्कृतिबाट हुने उनको भनाइ छ। संस्कृति नै आर्थिक सम्पन्नताको आधार भएकाले सोध, खोज, अनुसन्धान र प्रवद्र्धन गर्ने नीति राज्यले लिनुपर्ने उनको भनाइ छ। ‘यसो भयो भने आउने पिँढी यसमा लाग्नेछन्’, उनी भन्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.