काठमाडौं : गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणको काम ५५ प्रतिशतभन्दा बढी सम्पन्न भएको छ।
गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माण आयोजनाले अहिले विमानस्थलनको रन वे कालोपत्रे गर्ने काम धमाधम सुरु गरेको छ। निर्माण कार्य गरिरहेको चिनियाँ कम्पनीले चाइनाबाटै ल्याएका मजदुरबाट निर्माणको काम भइरहेको छ। कालोपत्रे गर्नका लागि मात्रै कम्तिमा चारदेखि छ महिना लाग्ने आयोजनाका निमित्त प्रमुख प्रवेश अधिकारीले जानकारी दिए। आयोजनाका निमित्त प्रमुख अधिकारीका अनुसार विमानस्थलको अराइभलको सम्पूर्ण संरचना पूरा भएको छ भने डिपार्टरको पनि अधिकांश संरचना पूरा भएको छ। अहिलेसम्मको संरचना निर्माणको दृष्टिकोणबाट ५५ प्रतिशत काम पूरा भएको उनले जानकारी दिए।
पछिल्लो पटक थप भएको म्यादअनुसार जुन २८, २०१९ अर्थात् २०७६ असार १३ गतेसम्ममा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सम्पूर्ण निर्माण कार्य सम्मपन्न गरी उडान भर्ने लक्ष्य आयोजनाले लिएको छ। अन्तर्राष्ट्रिय उडान भर्नका लागि प्राविधिकदेखि त्यससँग सम्बन्धित विभिन्न पक्षको काम सम्पन्न हुनुपर्ने भएकाले पूर्ण रूपमा नसकिए पनि सीमित उडान भने २०७६ असार १३ देखि नै सुरु गर्ने तयारी आयोजनाले गरेको छ।
समयमा निर्माण सम्पन्न नभएपछि आयोजनाका लागि पटकपटक म्याद थप गरिएको थियो। ६ अर्ब २२ करोड ५१ लाख ३० हजार २१७ रुपैयाँमा चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल कन्स्ट्रक्सन ग्रुप चाइनाले विमानस्थल निर्माण सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो। विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउनका लागि एसियाली विकास बैकको ऋण ४०.५ प्रतिशत र अनुदान सहायता १८ प्रतिशत, साउदी अरबको साउदी फण्डबाट ३०.५ प्रतिशत र नेपाल सरकारले ११ प्रतिशत लगानी रहेको छ। २०२३ सालदेखि नियमित उडान गर्दै आएको भैरहवास्थित गौतमबुद्ध विमानस्थलको पर्याप्त जग्गा भए पनि अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको योजनासँगै २०६३ सालमा २१३ बिघा जग्गा थप गरी ७८७ बिघा पुराइएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।