नियतवस कुनै प्रमाण नष्ट गरेको छैन : दिल्लीराज बिष्ट

|

काठमाडौं : कंचनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार पछि हत्या भएको शुक्रबार १०० दिन पुरा भएको छ। हत्या भएको सय दिनसम्म पनि प्रहरीले पन्तको हत्यारा  को हुन त्यसको भेउसम्म पाउन सकेको छैन।

छोरीको हत्याराको कारबाहीको मागसहित निर्मलाका बुवाआमासहित मानव अधिकारवादी स्थानीयवासीको चौतर्फी दवाब हुँदा पनि प्रहरीले हत्यारालाई कानुनी दायारामा ल्याउन सकेको छैन। निर्मलाकै कारण प्रहरीको चौतर्फी आलोचना समेत हुने गरेको छ।

निर्मलाका बुवा यज्ञराज पन्त भने १०० दिन पुग्दासम्म प्रहरीले अपराधीलाई पक्राउ गर्न नसक्नुले न्याय पाउने आश नै मरिसकेको बताउँछन्। 'मैले निर्मलाको दोषीलाई कारबाही हुनपर्छ भनेर भनेको हो सरकारसँग पैसा मागेको होइन। अहिले निर्मलाको हत्यारा पत्ता लगाउनु भन्दा बिभिन्नठाँउबाट पैसाको बार्गेनिङ गर्दैछन्। यसले निर्मलाका हत्यारा बचाउन सरकार लागेको अाभास भएको छ,' पन्तले भने। उनले सरकारका धेरै ठाउँबाट क्षतिपूर्ति दिनका लागि अनुराेध गरिएको बताए। तर उनले पैसा नभएर न्यायका लागि लडेको बताए।  

नेपाल प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले भने प्रहरी प्रधान कार्यालयले सिआइबी र जिल्ला प्रहरी कार्यालय कंचनपुरले नियमित अनुसन्धान गरिरहेको र सुरुवाती चरणमा प्रहरीले गरेको कमजोरीमाथिसमेत एआइजी धिरु बस्न्यानको टोलीले अनुसन्धान गरिरहेकाले अपराधीसम्म चाँडै पुगिने बताए।

निर्मला हत्या अनुसन्धान प्रकरणमा सुरुवाती चरणमै प्रहरीले लापरबाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले क‌ंचनपुरका तत्कालिन प्रहरी प्रमुख एसपी दिल्लीराज विष्ट र वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश भट्टलाई सेवाबाट समेत बर्खास्त गरिसकेको छ। अनुसन्धानमा संलग्न बाँकी प्रहरी अधिकारीमाथि पनि अनुसन्धान जारी रहेको एसपी सुवेदीले बताए।

यसरी भएको थियो अनुसन्धान

जिल्ला प्रहरी कार्यालय कंचनपुरले सुरुमै निर्मलाका हत्यारालाई पक्राउ गर्न नसकेपछि आलोचना भएको थियो। त्यस लगत्तै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले डिएसपी अंगुर जिसी नेतृत्वको टोली कंचनपुर पठाएको थियो। टोलीले पनि नक्कली हत्यारालाई पक्राउ गरेर बास्तविक अपराधी लुकाउन खोजेको आरोप लाग्यो। पछि डिएसपी जिसीलाई समेत निलम्बन गरेर सिआइबीका तत्कालिन एसएसपी हालका डिआइजी ठाकुर ज्ञवालीलाई अनुसन्धानका लागि पठाइयो। तर उनको टोली समेत अझै अपराधीसम्म पुग्न सकेको छैन।

त्यसैगरी डिआइजी हुँदा अनुसन्धानको जिम्मेवारी पाएका धीरु बस्न्यात हाल एआइजी छन्। घटनास्थल पुगेरसमेत उनले अवलोकन गरे। बस्न्यातको टोलीलेसमेत कुनै तथ्य फेला पार्न सकेको छैन। गृह मन्त्रालयका सहसचिव हरि मैनालीको टोलीले घटनामा प्रहरीको लापरबाही भएको बतायो। त्यहाँभन्दा बढी अहिलेसम्म केही बाहिर आउन सकेको छैन।

प्रहरीले निर्मला हत्या आशंकामा तत्कालिन कंचनपुर प्रहरी प्रमुख दिल्लीराज विष्ट, उनका छोरा किरण र आयुष विष्ट, दीलिपसिंह विष्ट र चक्र बडूको रगत संकलन गरी डिएनए परीक्षण गरेको छ। त्यसमा नेगेटिभ देखिएको थियो।

गत १० साउनमा साथीको घर जाने भन्दै हिँडेकी निर्मला भोलिपल्ट घर नजिकैको उखुबारीमा मृत भेटिएकी थिइन्। शुक्रबार १०० दिन पुग्दा समेत सरकारले अपराधी पत्ता लगाउन नसकेको भन्दै निर्मलाका निम्ति न्याय अभियानले पाटको कृष्ण मन्दिरमा दीप प्रज्वलन गर्ने भएका छन्।

के भन्छन् बर्खास्तीमा परेका तत्कालिन कंचनपुर प्रहरी प्रमुख बिष्ट

निर्मला पन्तको हत्या अनुसन्धानमा लापरबाही गरेको भन्दै बर्खास्तीमा परेका तत्कालिन कंचनपुर प्रहरी प्रमुख दील्लीराज बिष्ट निर्मलाको हत्या अनुसन्धानमा सेवामा रहँदा नियतबस कुनै कमजोरी नगरेको बताउँछन्।

'हत्या पछि बिभिन्न ठाउँमा अान्दोलन चर्केको थियो। स्थानीवासी अान्दोलित थिए त्यस्तो अबस्थामा माहोल साम्य पार्नु एउटा चुनौती थियो अर्को अपराधीका बारे अनुसन्धान गर्नु थियो त्यो प्रयास मैले गरेकै हो,' बिष्टले थपे 'अझै पनि कस्ले के भन्यो म माथि नै विभिन्न आरोप लाग्यो त्यसको वास्ता नगरी निर्मलाको हत्यारा सरकारले पत्ता लगाअोस् भन्नेमा सधैं सहयोगी रहने छु,' बिस्टले थाहा खबरलार्इ भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.