|

काठमाडौ : निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचन हत्या प्रकरणको अनुसन्धानले एक वर्षपछि नयाँ रहस्य खुल्दै आएको छ। अपराध महाशाखाको टोलीको कात्तिक १२ गते गौचन हत्याका थप तीन जना पक्राउ गरेसँगै घटनाले अर्को मोड लिएको हो।

प्रकाउ परेकाहरुको बयानबाट प्रहरीले आइतबार गौचन हत्याका मुख्य अभियुक्त काठमाडौं बाफलका समिरमानसिंह बस्तेतकी श्रीमती माया शेरचनलाईसमेत पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाको टोलीले उनलाई काठमाडौं ठूलो भर्‍याङबाट पक्राउ गरेको हो। तीन वटा गोलीकाण्डमा संलग्न रहेको आरोपमा पक्राउ परेकी मायालाई संगठित अपराध तथा कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर अनुसन्धान गरिने महाखाका प्रमुख धीरजप्रताप सिंहले बताए।

यस्तो छ मायामाथिको अभियोग

गत वर्षको असोज २३ गते नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या भयो। हत्या हुनु पूर्व नै मायाका श्रीमान समिरमानसिंह बस्नेत भारत पलायन भइसकेका थिए।

तर हत्या समिरकै निर्देशनमा अम्बर बहादुर राना मगर, लोप्साङ लामा र रोशन बुढाथोकीले गराएका थिए। उनीहलाई महाशाखाको टोलीले कार्तिक १२ मा झापाको काकडभित्ताबाट पक्राउ गरेको हो।

उनीहरुलाई सहयोग गर्ने छ जनालार्इ यस अघि नै प्रहरीले पक्राउ गरिसकेको छ।  कात्तिक १२ गते पक्राउ परेका राना, लामा र बुढाथोकीको बयानका आधारमा अपराधमा समीरकी श्रीमती माया शेरचनको संलग्नता देखिएकोले पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सिंहले बताए। ‘मायालाई आज अदालतबाट म्याद गरी अनुसन्धान अगाडि बढाउछौं, बाकी केही नयाँ कुरा खुल्दैछ,' सिहले भने।

प्रहरीका अनुसार २०७३ चैत २९ बौद्ध गौरीघाटमा जिम गर्न जाँदै गर्दा दावामाथि गोली हान्न र गौचनको हत्या गर्न समेत मायाले नै हतियार उपलब्ध गराएकी थिइन्। दुबै जनामाथि प्रयोग भएको हतियार नै एउटै भएको प्रहरीको दाबी छ। त्यो मायाले नै अम्बरलाई उपलब्ध गराएकी थिइन्।

त्यस्तै मायामाथि गौचनको हत्यापछि अम्बरबहादुर राना, लोप्साङ लामा, रोशन बुढाथोकी लगायतका केहीलाई समेत काठमाडौंको बाफल स्थित समीरमानको पुरानो घरमा सेल्टल दिएर राखेको अभियोग छ।

प्रहरीका अनुसार गौचन हत्याका अभियोगमा गत मंसिरमा भारतबाट पक्राउपछि पुर्पक्षका लागि जेल चलान भएका समिरमान बस्नेतको बाहिरी सेटिङसमेत मायाले नै मिलाउँदै आएको प्रहरीको दाबी छ।

समीर कारागारमा भएको बेला समेत अर्को ठूलो हत्याको योजना बनाउँदै गरेको र त्यसको जिम्मा मायाले लिएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले बताए। प्रहरीका अनुसार उनीहरुको समुहले केही दिन भित्र नै एक वरिष्ठ पत्रकारको गोली हानि हत्या गर्ने योजना रहेको थियो।

को हुन माया?

कास्की दाङछिन ८ की हुन् माया शेरचन। उनका बुवा गेम प्रसाद शेरचन नेपाल प्रहरीका पूर्व प्रहरी नाबय निरिक्षक (सई) समेत हुन्।

करिब १० वर्ष पहिला बाफलका स्थानीय समिरमानसिंह बस्नेतसँग उनले प्रेम बिबाह गरेकी थिइन्। समिरसँग प्रेम बिवाहपछि आफ्नो माइतीघर तिर कसैसँग पनि सम्पर्कमा नरहेको मायाले प्रहरीलाई बयान दिएकी छन्।  मायाका एक छोरा र एक छोरी रहेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.