कुकुरको सहयोगमा प्रहरीले गरेका पाँच सफल अनुसन्धान

|

काडमाडौं : नेपालीहरूको दोस्रो ठूलो चाडअन्तर्गत यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार। कुकुर तिहारमा कुकुरको पूजा गरी मीठामीठा खानेकुरा दिने प्रचलन छ। आजको दिन कुकुरलाई भोजन गराउँदा यमराज तथा पितृहरू खुसी हुने धार्मिक मान्यता छ। 

कुकुरलाई मानिसको साथी समेत भनिन्छ। कुकुर मानिसको साथी मात्र नभएर रक्षक पनि हो। घरको सुरक्षादेखि अपराधी पत्ता लगाउने कामसमेत कुकुरको प्रयोग गरिन्छ। त्यसैले कुकुरको महत्त्व विशेष छ। विश्वभरका प्रहरीले अपराध अनुसन्धानमा कुकुरको सहयोग लिँदै अाएका छन्। कतिपय अवस्थामा अनुसन्धान अधिकृतहरूले पत्ता लगाउन नसकेका अपराधी कुकुरको सहयोगमा पत्ता लागेका छन्। नेपाल प्रहरीले पनि कुकुरलाई अनुसन्धानमा प्रयोग गर्दै अाएका छन्।कतिपय घटनामा मान्छेले पत्ता लगाएका अपराधीमा आशंका गर्ने गरे पनि कुकुरले पत्ता लगाएका अपराधी सही हुन् भन्ने विश्वास गर्न थालिएको छ। यो कुकुरमा भएको अद्भुत क्षमताका कारण नै हो। 

विश्वभर लगभग २०० प्रजातिका कुकुर छन्। प्रजातिअनुसार कुकुरको फरकफरक विशेषता हुने गर्छ। कुकुरमा वातावरणमा हुने सानोतिनो हलचल पनि थाहा पाउने सक्ने क्षमता हुन्छ। कुकुरले निकट भविष्यमा कुनै ठूलो दुर्घटना वा प्राकृतिक प्रकोप आउन लाग्यो भने सूचना प्रवाह गर्न रोएर वा अन्य  क्रियाकलापबाट चेतावनी दिने आम बुझाइ रहेको पाइन्छ। त्यसैले कुकुरले रोए वा असामान्य व्यवहार देखाए कुनै नराम्रो घटना हुने कि भन्ने मान्यता नेपाली समाजमा छ।

यस्ता विशेषता भएकाले पनि अपराध अनुसन्धानमा प्रहरीले कुकुरको सहयोग लिन गर्छन्। नेपालमा पनि अपराध अनुसन्धान र विशिष्ट व्यक्तिहरूको सुरक्षामा कुकुरको प्रयोग गरिँदै अाइएको छ।  नेपाल प्रहरीले ठूलठूला अपराधको अनुसन्धानमा कुकुरको प्रयोगले सफलता पाउँदै आएका छन्।

अपराध अनुसन्धानका लागि नेपाल प्रहरीसँग पोलिग्राफ मेसिन, डिजिटल फरेन्सिक ल्याब, डिएनए प्रोफाइलिङ युनिट, अटोमेटिक फिंगर प्रिन्ट, आइडेन्टिफिकेसन सिस्टमजस्ता आधुनिक प्रविधि रहेको छ। यसबाहेक अपराध अनुसन्धानको अर्को भरपर्दो  माध्यम तालिम प्राप्त कुकुरलाई लिइन्छ।

नेपाल प्रहरीसँग विभिन्न प्रकारका अपराधमा प्रयोग हुने आठ प्रजातिका कुकुर रहेको केन्द्रीय कुकुर तालिम केन्द्रका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) देउती गुरुङले जानकारी दिइन्। त्यसमध्ये लिजा, रेस्क्यू, सिया, जोली, ब्रुक, जुलेट, भुन्टी, सोल र डेनी, जंगे नामक कुकुरले अपराध अनुसन्धानमा ठूलो सफलता हात पारेको एसएसपी गुरुङले बताइन्। उनले भनिन्, 'कुकुर आफैंले अपराधी समातेर ल्याउने होइन, अपराधीसम्म पुग्न बाटो देखाउने हो,अपराध अनुसन्धानमा घटना स्थलमा भेटिएका प्रमाणलाई सुझबुझकासाथ सुँघाउने हो भने अपराधी पत्ता लाग्छ।' 

२०२७ सालमा नेपाल प्रहरीले दुई प्रहरी अधिकृतलाई कुकुरबारे तालिम लिन मलेसियामा पठाएको थियो। त्यसपछि नेपाल प्रहरीले अपराध अनुसन्धान र सुरक्षामा कुकुरको प्रयोग गर्न थालेको हो। नेपाल प्रहरीले अपराध अनुसन्धानमा कुकुरको प्रयोग व्यवस्थित गर्न थालेको २०३२ सालदेखि हो। 

हाल नेपाल प्रहरीसँग अपराध अनुसन्धानका लागि प्रयोगहुने आठ प्रजातिका ८० वटा कुकुर छन्। त्यसमध्ये ४५ कुकुर केन्द्रीय तालिम केन्द्रमा रहेको एसएसपी गुरुङले जानकारी दिइन्। 

यसरी दिइन्छ कुकुरलाई तालिम

नेपाल प्रहरीले भारत, थाइल्याण्ड, बेलायत, अमेरिकालगायतका देशबाट आठ प्रजातिका कुकुरका छाउरा ल्याउने गरेको छ। ती छाउरालाई छ महिना पुगेपछि तालिम दिन सुरु गरिने तालिम केन्द्रका प्रमुख एसएसपी गुरुङले बताइन्। विभिन्न जातका कुकुरलाई तीन महिनाको आधारभूत तालिम दिएपछि क्षमताअनुसार वर्गीकरण गरेर अपराध अनुसन्धानमा प्रयोग गरिन्छ।

आधारभूत तालिममा कुकुरलाई अनुशासित बनाइने, मान्छेसँग घुलमिल हुन सिकाउने र बाँकी एक वर्षसम्म सम्बन्धित अपराध अनुसन्धानसम्बन्धी तालिम गराइने गरुङले जानकारी दिइन्।

एउटा कुकुरलाई एक जनाले मात्र तालिम दिने र ह्यान्डलसमेत एकजनाले नै गरिन्छ। नेपाल प्रहरीसँग अहिले ट्रयाकर (बाटो पत्ता लगाउने), एक्सप्लोसिभ (विस्फोटक पदार्थ पत्ता लगाउने), सर्च एण्ड रेस्क्यू (खोजी र उद्धार) र ड्रक्स सर्च (लागूऔषध पत्ता लगाउने) गरी चार विधाका कुकुर छन्। 

कसरी पुग्छ अपराधिसम्म कुकुर?

कुकुरमा सुँघ्ने क्षमता बढी हुने गर्छ। सुँघ्ने क्षमताकै आधारमा कुकुरले अपराधी पत्ता लगाउने गरेको प्रहरीको भनाइ छ। प्रत्येक मान्छेमा हुने गन्ध फरक–फरक हुन्छ। एक व्यक्तिको गन्ध अर्को व्यक्तिसँग मेल खाँदैन। त्यसैको अाधारमा कुकुर अपराधीसम्म पुग्न सफल हुने गर्दछ।

घटनास्थलमा भेटिएका सबुत प्रमाणमा भएको मानिसको गन्ध सुँघ्ने र कुकुरले अपराधमा को व्यक्ति संलग्न छ भन्ने पत्ता लगाउँछ। घटनास्थलमा कुनै सबुत प्रमाण नछाडे पनि मान्छेको पाइलाको गन्ध सुँघेर कुकुरले अपराधी पत्ता लगाउने गरेको एसएसपी गुरुङले बताइन्।‍

यी हुन् कुकुरको सहयोगमा नेपाल प्रहरीले सफलता पाएका ठूला घटना :

एक:

गत असोज ८ मा कास्कीको पोखरा-२२ पुम्दीभुम्दीकी श्रेया सुनारको बलात्कारपछि हत्या भयो। ८ गते साँझ श्रेयाका छिमेकी कुसुम पौडेलले उनलाई बलात्कारपछि ढुङ्गाले टाउकोमा हानी हत्या गरेका थिए।

श्रेयाको शव पोखरा प्रहरीले ९ गते बिहान झाडीमा फेला पार्‍यो। तर कसले हत्या गर्‍यो भन्ने त्यो अनुमान प्रहरीलाई थिएन। प्रहरीलाई कुकुरको भर पर्नुको विकल्प थिएन। पोखरा प्रहरीले प्रहरी निरीक्षक विक्रमबहादुर पाण्डेको नेवृत्वमा कुशल नाम गरेको 'ट्रयाकर डग' घटनास्थलमा पठायो।

पाण्डेले घटनास्थलमा श्रेयालाई प्रहार गरिएको ढुङ्गा भेटे र कुशललाई त्यही ढुङ्गा सुँघाए। घटनास्थलमा भेटिएको ढुङ्गाबाट कुशलले असोज १० मा कुसुम पौडेललाई संकेत गरे। त्यही आधारमा प्रहरीले पौडललाई पक्राउ गर्‍यो।

दुई :

गत जेठ ९ मा ललितपुरको गोदावरी नगरपालिका-११ का ४० वर्षका दीपक दमाईको हत्या भयो। उनको शव छम्पी र चापागाउँबीचको खोल्सामा फालिएको अवस्थामा फेला पर्‍यो। हत्या कसले र किन गर्‍यो प्रहरीले अनुमान लगाउन सक्ने अवस्था थिएन। घटनाबारे पत्ता नलागेपछि अनुसन्धान गर्न जर्मन सेफर्ड जातको ‘लिजा’ नामक कुकुर परिचालन गरियो। घटनास्थलमा भेटिएको नीलो रंगको सर्ट लिजालाई सुँघाइयो।

सर्ट सुँघेपछि लिजा ५०० मिटरअगाडि हिड्यो जहाँ चौबाटो थियो। लिजाकै इसाराअनुसार प्रहरीले सिन्धुपाल्चोक घर भई चापागाउँ खटिएका म्यादी प्रहरी कुमार पाख्रिनलाई पक्राउ गर्‍यो। अनुसन्धानपछि पाख्रिनले दुई जनासँगै बसेर मादक पदार्थ सेवन गरेको र पछि विवादका क्रममा दमाईको हत्या गरेका स्वीकार गरे। लिजाकै सहयोगले प्रहरी पाख्रिनलाई पक्राउ गर्न सफल भयो। 

तीन :

२०७२ जेठ २३ मा पर्साका आयुष डंगोल र काठमाडौं असनका रवीन कपाली ४० ग्राम खैरो हिरोइनसहित पक्राउ परे। त्यस्तै, वीरगञ्जबाट भारततर्फ जाँदै गरेका बाराका जयुना खातुन अाठ किलो चरेससहित पक्राउ परे। उनीहरूलाई प्रहरीले रिचा र सिया नामका दुईवटा कुकुरको सहयोगमा पक्राउ गरेको थियो। 

चार :

२०६४ कात्तिक १८ मा बाराका पत्रकार वीरेन्द्र साह अज्ञात समूहबाट अपहरणमा परे। पत्रकार साह अपहरणमा परेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले उनको खोजी गरे। तर एक महिनासम्म पनि साहको अवस्थामा पत्ता लागेन। प्रहरीको केन्द्रीय कुकुर तालिम केन्द्रबाट ‘ब्ल्याकी’ नामको कुकुरलाई अनुसन्धानमा पठाइयो। ब्ल्याकीले साहको शव बाराको भैवानाकाको जंगलमा गाडिएको अवस्थमा पत्ता लगायो।

पाँच ः

२०७० माघ १० मा रसुवाको ब्राप्चेको पहिरोमा पुरिएर सिभिल इन्जिनियर चेरव घिमिरे बेपत्ता भए। उनलाई सुरक्षाकर्मीले खोजी गरे । तर, घिमिरेको अवस्था पत्ता लगाउन सकिएन। पछि रेस्क्यु र खुस्बु कुकुरको सहयोगमा घिमिरेको शव फेला परेको थियो।

यी माथि उल्लिखित घटनाहरुजस्तै कुकुरको सहयोगले प्रहरीले अन्य थुप्रै घटनाको सफल अनुसन्धान गरेको छ। कुकुरको क्षमताअनुसार विभिन्न घटनामा प्रयोग हुने भए पनि हत्या, अपहरणजस्ता जघन्य अपराधका घटनामा जर्मन सेफर्ड जातको कुकुर प्रयोग गरिने एसएसपी गुरुङले बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.