|
फाइल तस्बिर

डोल्पा : विकट हिमाली जिल्ला डोल्पा १६ असोजमा राष्ट्रिय सडक सञ्जालमा जोडियो। करिब ११८ किलोमिटर लम्बाई भएको जाजरकोट–डोल्पा सडकको  औपचारिक उद्घाटनको शुभमुहुर्त निकाल्दै थियो सेना। कात्तिक अन्तिमसम्म उद्घाटनको तयारी गरिँदै थियो। केन्द्रबाट प्रधानमन्त्री, प्रधानसेनापति आउने बताइएको थियो।

एक साताभित्रै सडक उद्घाटन हुने भएपछि डोल्पाली खुशीले दंग थिए। खुशी नहुन पनि कसरी, बस्ती बसेदेखि नै थाप्लोको भरमा नुनदेखि सुनसम्मको जोहो गर्दै आएका थिए। कतै जानु पर्दा पैतालामा फोका उठाएर हिँड्नुको विकल्प थिएन्।

जिल्ला बाहिर जानुपर्दा त हप्तौँ लगाएर हिँड्नुपर्थ्यो। खच्चडको भरमा डोल्पालीको दैनिकी चलेको छ। त्यस्ता दुःख झेल्नुपर्ने धेरै दिन थिएनन्। सडक उद्घाटनको तयारी नजिकिँदै गर्दा डोल्पालीका मनमा खुशीका फूलहरू फुल्दै थिए।

अब घर आँगनबाटै मोटर चढ्न पाइने र गाडीबाट ल्याइएको उपभोग्यवस्तु प्रयोग गर्न पाइने आशाले मूर्तरूप लिँदै थियो। तर एक्कासी डोल्पालीको नजिकिँदो खुशीमा बज्रपात भयो। केही दिनभित्रै खुलासा गर्न साँचिएका खुशीका पलहरू सोखमा परिणत भए। सोमबार भएको गाडी दुर्घटनाले डोल्पा स्तब्ध बन्यो।

दुर्घटनामा परी दश जनाले ज्यान गुमाए। दुईजना घाइते छन् भने एक बेपत्ता भएको प्रहरीले जनाएको छ। अहिले डोल्पा आँशुको भेलमा डुबिरहेको छ। डोल्पासम्म सिघा यातायात सञ्चालनमा आए पनि सोमबारको गाडी दुर्घटना डोल्पालीका लागि कालो दिनको रूपमा रहिरहने काइको गाँउपालिका स्थानीय ओम मगरले बताउँछन्।

गाडी दुर्घटना कसरी भयो प्रहरी नै बेखबर

सदरमुकाम दुनैबाट त्रिपुराकोटतर्फ गइरहेको १२ जना यात्रुसवार भे १ च १६१० नम्बरको जिप ठूलीभेरी नगरपालिका ९ मा पर्ने कालागौंडा बस्ती नजिकै पर्ने बतासे वडारमा दुर्घटनाग्रस्त भयो। दुर्घटनामा परेर सात पुरुष र तीन महिलासहित दश जनाले ज्यान गुमाउनुका साथै दुई गम्भीर घाइते भए भने एक महिला अझै बेपत्ता छिन्। बस सडकदेखि पन्ध्र मीटर तर भेरी नदीमा खसेको प्रहरीले जनाएको छ।

जिल्लामा पहिलो पटक यति ठूलो दुर्घना हुँदा पनि दुर्घटनाको कारण खुल्न सकेको छैन्। चालकको उपचार भइरहेकाले दुर्घटना के कसरी भयो भन्न नसकिने जिप्रका डोल्पाका डिएसपी अभदेश बिष्टले बताउँछन्।

यता चालक दिनेश बोहोरा ब्रेकले काम नगरेकाले दुर्घटना भएको बताउँछन्। उनी भन्छन्, 'उकालो कट्नेबित्तिकै गाडीलाई बायाँतर्फ मोड्ने प्रयास गरे तर गाडीको ब्रेकले काम गरेन त्यसपछि के भयो थाहा छैन्।'

दुर्घटना भएको करिब आधा घण्टापछि उद्धार

जीप दुर्घटना भएको करिब आधा घण्टापछि उद्धारा भयो। तर दुर्घटना भएको केही समयभित्रै उद्धार भएको भए केही व्यक्ति बाँच्न सक्ने परिवार र आफन्तजनको भनाइ छ।

'दुर्घटना दिउसो करिब २ बजेर ३५ मिनेट भएको अनुमान गरेका छौँ, गाडी भेरीमा खसेको खबर पाएको पाँच मिनेटमै पाँचजना प्रहरी र सात/आठ जना स्थानीयसहित घटनास्थलमा पुग्यौँ' कालागौंडा प्रहरी चौकीका ईन्चार्ज शशिराम वलीले भने, 'हामी पुग्नेबित्तिकै चालकसहित एकजनाको उद्धार गर्‍यौँ, गाडी पूरै पानीमा डुबेकाले थोरै मान्छेले तत्काल उद्धार गर्न सम्भव थिएन।'

करिब २० देखि २५ मिनेटपछि जिल्लाबाट सिडियो र डियसपीसहितको प्रहरीको टोली आइसकेपछि सेना प्रहरी मिलेर उद्धारकार्य तीव्र पारिएको उनले बताए। गाडी पूर्णरूपमा पानीमा डुबेकाले गाडीभित्र सवार यात्रुहरू बचाउन सक्ने स्थिति नभएको वलीको भनाई छ।

हेलिकोप्टरबाट ल्याएका जीपले लिए १४ जनाको ज्यान

राष्ट्रिय सडक सञ्जालमा डोल्पा नजोडिँदै डोल्पामा जीप गुडाइएको थियो। २०६९ सालको फागुनमा हेलिकोप्टरबाट झारेर जीप सञ्चालनमा ल्याइएको थियो। अहिले दर्जन हाराहारीमा जीपहरू दुनै–सुपानी दुनै–जुफाल सञ्चालित छन्। यातायात सञ्चालनका लागि सडक विभागको अनुमति छैन तर डोल्पालीको सुविधाका लागि गाडी सञ्चालन भएको प्रहरी प्रशासन बताउँछ। करिब १४ किलोमिटर आन्तरिक सडक निर्माण गरेर जीप सञ्चालनमा ल्याइएको हो। ठूलो मानवीय क्षति हुने गरेर डोल्पामा अहिलेसम्म दुईपटक गाडी दुर्घटना भइसकेको छ।

विस२०७४ साल फागुन १ गते ठूलीभेरी नगरपालि ९ मा पर्ने पातीहाल्नामा भएको भे १ च १२५१ नम्बरको जीप दुर्घटनामा परेर चालकसहित चार जनाले ज्यान गुमाएका थिए भने दुई जना गम्भीर घाइत भएका थिए। सो दुर्घटनाको आधिकारिक कारण अझैसम्म प्रहरीले पत्ता लगाउन सकेको छैन्। डोल्पामा दुर्घटनामै परेर अहिलेसम्म १४ जनाले ज्यान गुमाइसकेका छन्।

नागरिक भन्छन्, प्रशासनकै कमजोरी

स्थानीय प्रहरी प्रशासनकै कमजोरीका कारण डोल्पामा भयानक दुर्घटना भइरहेको नागरिक अगुवा बताउँछन्। 'एक त सडक प्रमाणीकरण भएको छैन्, त्यसमाथि राता नम्बर प्लेटका गाडीले मान्छे बोक्न पाउँदैन, कता निदाएको छ स्थानीय प्रशासन', नागरिक समाज डोल्पाका अध्यक्ष शेर बहादुर बुढाले प्रश्न गरे 'निजी जीपले क्षमताभन्दा धेरै यात्रु ओसारपसार गर्छन्, कच्ची साँघुरो बाटोमा तीव्र गतिमा गाडी गुडाउँदा प्रहरी रोक्दैन्, यी र यस्तै कारणले डोल्पालीहरू सडक दुर्घटना ज्यान गुमाउनु परेको छ।'

चालकसँग चालक अनुमतीपत्र छ की छैन्, कुन गतीमा कसरी गाडी हाकिरहेका छन्, राम्रोसँग त्यसको अनुगमन पनि प्रशासनले गर्न नभ्याएको बूढाको भनाई छ। आन्तरिक रूपमा सञ्चालन गरिएका निजी जीपहरूलाई कडा निगरानी गनुपर्ने उनको तर्क छ।

मृतक सबैको सनाखत

दुर्घटनामा परेर मृत्यु हुनेमा त्रिपुरा सुन्दरी नगरपालिका १ त्रिपुराकोट बस्ने वर्ष ४५ का हेमराज हमाल, सोही ठाउँका १८ वर्षीया लक्ष्मी रोकाय, ६२ वर्षीय नरसिँह कठायत,२५ वर्षीय शेरबहादुर थापा, सोही नगरपालिका २ बस्ने १३ वर्षीया अस्मिता रोकाय, २४ वर्षीय कुमार रोकाय, सोही नगरपालिका ३ बस्ने ४५ वर्षीय बुध धराला, सोही नगरपालिका ५ बस्ने १२ वर्षीय याम राकाय, ठूलीभेरी नगरपालिका ५ बस्ने ३० वर्षीय भद्र रोकाय र सोही नगरपालिका ३ बस्ने अन्दाजी १७ वर्षीय मनिसा धराला रहेको जिप्रका डोल्पाका प्रहरी नायव उपरीक्षक अभदेश विष्टले जानकारी दिए।

घाइते हुनेमा त्रिपुरा सुन्दरी नगरपालिका २ बस्ने नन्द बहादुर थापा र सोही नगरपालिका ३ बस्ने चालक दिनेस बोहोरा रहेका छन्। घाइतेको अवस्था सोमबारभन्दा मंगलबार केही सुधार भएको र जिल्ला अस्पताल डोल्पामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

त्यस्तै घटनास्थलबाट जिल्ला अस्पताल डोल्पामा कार्यरत त्रिपुरा सुन्दरी नगरपालिका बस्ने अरुणा बूढाको परिचय खुल्ने कागजपत्र फेला परेकाले उनको पनि दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ। उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।

मृतक सबैको शव पोष्टमार्टमका लागि सोमबार नै जिल्ला अस्पतालमा ल्याइ सकिएकाले पोष्टमार्टमपछि आफन्तलाई बुझाउने तयारी भएरहेको बताइएको छ। यसैबीच पूर्वशान्ति मन्त्री सत्य पहाडीले जीप दुर्घटनामा दुःख व्यक्त गर्दै मृतकहरूप्रति हार्दिक श्रद्धान्जलि र घाइतेहरूको शीघ्र स्वास्थ लाभको कामना गरिन्।

डोल्पा जिप दुर्घटना अपडेट : १० जनाको मृत्यु, दुई घाइते 

डोल्पा जीप दुर्घटना अपडेट : मृतक सबैको सनाखत 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.