|

काठमाडौं : तिहार आयो भन्दैमा तपाईहरू जथाभावी पटका पड्काउने, पटकाको किनबेच गर्ने, जुवातास खेल्ने जस्ता कार्यमा संलग्न त हुन भएको छैन? यदि त्यस्तो कार्यमा संगल्न हुनू भएको छ भने होसियार! प्रहरीको फन्दामा परिएला।

उपत्यका प्रहरीले तिहारको समयमा जुवातास खेल्ने, जथाभाबी पटका पड्काउने, देउसी भैलो खेल्ने नाममा अमर्यादित कार्य गरेको पाएमा सार्वजनिक अपराध अन्तर्गत कारबाही गर्ने भएको छ। काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) होविन्द्र बोगटीले तिहारको समयमा पटका पड्काउने ठूलो, रकम हारजित गराउने उदेश्यले कसैले जुवा खेलाएको सूचना पाए तुरून्त पक्राउ गरिने बताए।

'नेपालीहरूको दोस्रो महान चाड हो, तिहार। तर, यसको नाममा विकृति फैलाउने अमर्यादित कार्य गर्नेलाई छुट दिन सकिँदैन', बोगटीले थपे, 'देउसीकै नाममा रुपैयाँको बार्गेनिङ गरेर उठाउने जस्ता गतिविधि देखिए त्यस्ता समूहलाई समेत कडा कारबाही गर्ने तयारी गरेका छौँ।'

प्रहरीले उपत्यकाका तीन जिल्ला ललितपुर, काठमाडौं र भक्तपुरलाई पूर्णरूपमा पटका पड्काउन निषेध गरेको छ। त्यस्तै राति १० बजे पछि देउसी भैलो खेल्न समेत रोक लागाएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जानकारी दिएको छ।

राती देउसी भैलो कार्यक्रमको नाममा हुन सक्ने अपराधी घटनालाई मध्यनजर गरेर राति १० बजे पछि पूर्णरूपमा देउसी भैलो खेल्न रोक लगाएको बोगटीले बताए।

एक करोड बराबरको पटका बरामद

उपत्यका प्रहरीले तिहार लगायत उपत्यकाको विभिन्न ठाँउबाट एक करोड रुपैयाँ बराबरको पटका बरामद गरिको छ। पटका कारोबारमा संलग्न ११ जनासमेत पक्राउ परेका छन्। कार्तिक ११ गते अपराध महाशाखाको टोलीले काठमाडौंको महाबौद्धबाट सात क्विन्टल पटकासहित दुईजना पक्राउ परेको थियो। त्यस्तै काठमाडौं प्रहरी परिसरले समेत बुधबार १० लाख रुपैयाँ बराबरले पटका सहित नौ जनालाई पक्राउ गरेको छ।

अपराध महाशाखाको टोलीले सर्लाही कविलासी नगरपालिका ७ का अशोककुमार साह र सर्लाहीकै बबरगंज नगरपालिका ७ का नन्दलाल साहलाई पक्राउ गरेको हुन्। त्यस्तै, परिसरको टोले बौद्ध तीन चुलिका बलराम लामा, धनुषा चौबिसे गाउँपालिका ६ का चेतनाथ राई लगायत नौ जनालाई पक्राउ गरेको छ।

तिहारको समयमा बालबच्चाहरू दुर्घटनामा पर्न सक्ने भन्दै प्रहरीले पटका पड्काउन पूर्ण रूपमा रोक लगाएको हो। तर, तिहारको समयमा झिलीमिली बत्ती बालेसँगै पटका पड्काउनु अपराध सम्झिन नहुने कतिपयको भनाई छ।

तर, पटकाले रमाइलोको सट्टा आगजनी, बालबच्चालाई हुन सक्ने  हानीनोक्सानी र अंगभंग मध्यनजर गरेर पटका पड्काउन पूर्णरूपमा रोक लगाएको प्रहरीको भनाइ छ।

यी हुन् पटका पड्काउँदा हुन सक्ने हानी :

१. पटका पड्काउने बहानामा चश्मा नलगाई पड्काउँदा पटकाको चोटको असर आँखाको नानीमा पर्‍यो भने दृष्टीसमेत गुम्न सक्छ।

२. कतिपय बालबालिका बहादुरी देखाउन हातमा राखेर पटका पड्काउँछन् तर यस्तो कार्यबाट बालबालिकाहरूलाई निरुत्साहित गर्नुपर्छ। जलिरहेको पटकालाई छुनु हुँदैन, त्यो जुनसुकै बेला विस्फोट हुन्छ र मानवीय क्षतिसमेत हुन सक्छ।

३. रकेट वा माथि आकाशसम्म जाने पटकालाई घना बस्तीमा पड्काउदा आगजनीको हुन सक्छ।

४. दियो र मैनबत्ती नजिकै पटका बाल्नु हुँदैन। यसबाट आगो फैलने डर हुन्छ।

५. ठूलो आवाज आउने पटका पड्काउदा यसले कानको जाली फुट्न सक्छ जसका कारण पटका पड्काउने व्यक्ति तथा आसपासका बसेको व्यक्ति बहिरो हुने सम्भावना हुन्छ ।

६.गाडी, मोटरसाइकल जस्ता छिट्टै आगो लाग्न सक्ने पदार्थ भएका सवारी साधनको नजिकमा पटका पड्काउदा पेट्रोलले चाँडै आगो समात्ने हुँदा आगो लाग्ने सम्भावना हुन्छ।

७.पटका पड्काएको हात राम्रोसँग साबुन पानीले नधुएरै खाना खादा बारुदको कण खानासँगै खाइने हुँदा पेटको समयस्या हुन्छ।

पढ्नुहोस्,

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.