प्रहरीको टाउको दुखाएका यी ५ अपराध

|

काठमाडौं : पछिल्लो सयम उपत्यकालगायत देशका विभिन्न ठाउँमा आपराधिक घटना बढ्दो छ। बढ्दो आपराधिक घटना र त्यसमा प्रहरीको भूमिकासमेत शंकास्पद हुने गरेका छन्। जसको कारण प्रहरी संगठन नै बदनाम हुँदै गएको छ।

कतिपय आपराधिक घटनामा प्रहरीकै संलग्नता देखिनुले अझ प्रहरी संगठप्रति आम जनताको न्याय पाउने आस नै मरिसकेको कतिपय पूर्वप्रहरी अधिकारीहरू नै बताउँछन्। जनताको शान्ति सुरक्षा कायम गर्न जनतासँग प्रत्यक्ष जोडिएको संगठप्रति आममानिसको धारणा नकारात्मम हुनु विडम्बना भएको नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक ( एसएसपी) उत्तमकुमार सुवेदीको भनाइ छ।

कतिपय गम्भीर अपराधका घटनामा प्रहरी सफल हुन नसक्नुमा प्रहरीकै लापरबाही हुने गरेको पूर्वप्रहरी नायव महानिरीक्षक (डिआइजी) हेमन्त मल्ल‍को भनाइ छ। घटनास्थल सुरक्षित र भेटिएका प्रमाणबारे प्रहरीले सही आँकलन गर्न नसके अपराधीसम्म पुग्न वर्षौं लाग्ने मल्लको बुझाइ छ।

हुन त यसअघि प्रहरीले लामो अनुसन्धानपछि सफलता पाएका थुप्रै घटनाहरू पनि छन्।  अपराध अनुसन्धानमा निकै नै अगाडि मानिने विश्वका धेरै देशका प्रहरीलाई छक्याएर भाग्न सफल ‘बिकिनी किलर’ भनेर चिनिने चार्ल्स शोभराजलाई नेपाल प्रहरीले नै पक्राउ गरेको थियो।

उनी हाल केन्द्रीय कारागार सुन्धारामा जेलजीवन भुक्तान गरिरहेका छन्। त्यस्तै, सर्वोच्च अदालतका न्यायाधीश रणबहादुरका बमका हत्यारादेखि १४ वर्ष पुरानो रानीबारी हत्याकाण्डका दोषी रामेछापका मनराज गुरुङ र प्रमेश चौहानलाई पक्राउ गर्नु नेपाल प्रहरीको इतिहासमा ठूलो सफता मान्ने गरिन्छ।

तर पछिल्ला केही गम्भीर अपराधका घटनाले भने प्रहरीको टाउको दुखाइको विषय बनेको छ। जसको कारण प्रहरी संगठन आलोचितसमेत भएको छ। यी हुन् पछिल्लो समय प्रहरीको टाउको दुखाइका विषय बनेका पाँच अपराधका घटना।

घटना एक

गत साउन १० गते साँझ आफ्नै साथीको घर गएकी कंचनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्त हराइन्। उनको साउन ११ गते ९ बजेतिर बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुबारीमा शव भेटियो।

तर निर्मलाको हत्या भएको ११२ दिन पुग्दासम्म कंचनपुर प्रहरीले उनको हत्यारा पत्ता लगाउन सकेको छैन। स्थानीयबासी यस घटनामा प्रहरी अधिकृतकै आफन्त र केही राजनीतिक दलका प्रतिनिधिका सदस्यहरूको संलग्नता रहेको आशंकामा आक्रोशित छन्। निर्मलाका बुबा अामा धर्नामा बसेका छन्। 

कंचनपुर प्रहरीले निर्मलाको हत्यारा पत्ता लगाउन नसकेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) बाट गएको टोलीले करिब एक महिनापछि पन्तको बलात्कारपछि हत्या गरेको अभियोगमा स्थानीय दीलिपसिंह विष्टलाई पक्राउ गरेको थियो।

यसअघि कर्तव्य ज्यान मुद्दामा नौ वर्ष जेल बसेर एक वर्षअघि आम माफी पाएका विष्ट मानसिक रोगी भएको र उनको यस घटनामा संलग्नता नरहेको स्थानीयको भनाइ थियो। यही विरोधमा स्थानीयबासीले प्रदर्शन गरेका थिए। स्थानीयबासीको प्रदर्शन हिंसात्मक भएको भन्दै प्रहरीले गोलीसमेत चलाएको थियो। प्रहरीको गोली लागेर एक जनाको मृत्युसमेत भएको थियो।

दिलिप विष्ट डिएनए रिपोर्टबाट निर्दोश भएको देखिएपछि उनी थुना मुक्त भएका छन्। प्रहरी प्रधान कार्यालयले निर्मला हत्या अनुसन्धानमा लापरवही गरेको भन्दै तत्कालीन कंचनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदिश भट्टलाई सेवाबाट नै हटाएको छ।

निर्मला बलात्कार र हत्याकाण्डको घटना अनुसन्धानका लागि हाल सिआइबीले गरिरहेको छ। प्रहरीका अनुसार आधादर्जन भन्दा बढीको डिएनए टेस्ट र ५०० जना भन्दा बढीसंग सोधपुछ गरिसकेको छ। तर अपराधी को हो ? प्रहरीले भेउसम्म पाउन सकेको छैन। प्रहरी हाल स्थानीयबासी र कल डिटेलको साहारबाट अनुसन्धान गरिरहेको छ। यो घटनानै प्रहरीको सबै भन्दा ठूलो टाउको दुखाई भएको छ। 

घटना दुई

भदौ ४ गते पूर्वराजदूत केशवराज झा मृत भेटिए। उनी थापाथलीस्थित आफ्नै कोठामा मृत भेटिएका थिए। उनको टाउको र घाँटीमा गम्भीर चोट लागेको थियो। प्रहरीका अनुसार झाको कसैले हत्या गरेका थिए।

तर प्रहरीले झाको हत्या कसले र किन गर्‍यो? त्यो अझैसम्म पत्ता लगाउन सकेको छैन। हत्याको आशंकामा प्रहरीले झाकै घरमा सुरक्षा गार्ड रहेका सानु तामाङ र दुई जना मालीलाई नियन्त्रण गर्नुबाहेक अरू कुनै प्रगति विवरण सार्वजनिक गरेको छैन। पक्राउ परेकाहरु समेत हाल छुटिसकेका छन्।

अपराध महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) धीरजप्रताप सिहका भने घटनाबारे प्रहरीको अनुसन्धान जारी रहेकाले अहिले नै सबै कुरा भनिहाल्न निमिल्ने बताउँछन्। हाल सयौँ जना भन्दा बढीलाई सोधपुछ र थुना मुक्त भएकालाई समेत निगरानीमै राखेको सिहले बताए। 

प्रहरीका अनुसार झाको हत्या भएको दिन घरभित्र पस्ने ढोका सबै लक भएका थिए तर झा सुत्ने झ्यालको जाली भने काटिएको थियो। त्यसकै आधारमा प्रहरी अनुसन्धान गरिरहेको छ।

तर झाको हत्या भएको करिब दुई महिना बित्न लाग्दासमेत प्रहरीले त्यसको सुइँकोसम्म नपाउनुले प्रहरीको अनुसन्धानमाथि प्रश्न चिह्न लागेको छ। राजधानीको मुख्य केन्द्रमै पूर्वराजदूतको हत्या भएको यति लामो समय बित्दासमेत अपराधीसम्म प्रहरी पुग्न नसक्दा प्रहरी आलोचित भएको हो। झाले नेपालको परराष्ट्र क्षेत्रमा ३४ वर्ष सेवा गरेका थिए। उनी २०४९ सालमा फ्रान्सका लागि नेपाली राजदूत बनेका थिए।

घटना तीन

३८ क्वीन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणले प्रहरी संगठनमा हल्लीखल्ली नै मच्चियो। कतिपय प्रहरी अधिकारी नै पक्राउसमेत परे। तर यो घटना हाल सेलाएको छ।

पक्राउ परी थुनामा रहेका प्रहरी अधिकारीसहित अधिकांश आरोपितहरुसमेत उच्च अदालत विराटनगरले प्रमाण नपुगेको भन्दै छाड्न आदेश दिएको छ। तर, साढे ३३ किलो सुन तस्करीबाट सुरु भएको सुनका मालिक को थिए ? कहाँ छन्, यो पत्ता लगाउन अझै प्रहरी सकेको छैन। सोही घटनाका कारण भरिया सनम शाक्यसहित तीन जनाको मृत्युसमेत भएको थियो।

यो प्रकरणमा केही प्रहरी अधिकारीहरु समेत जोडिएका कारण सुन प्रहरीबाटै गुपचुप भयो कि भन्ने प्रश्न प्रहरीमाथि नै छ। प्रहरीले तस्करीका नाइके भनिएका चूडामणि उप्रेती ‘गोरे’ लाई भने पक्राउ गरिसकेको छ। गोरे हाल सुन्धारा कारागारमा पुर्पक्षका लागि जेल चलान भएका छन्। सुन तस्करीबारे अनुसन्धान गर्न गृह मन्त्रालयका सहसचिव इश्वरराज पौडेलको नेतृत्वमा समितिनै बनेको थियो।

सहसचिव पौडेलको नेतृत्वमा गठन भएको टोलीले ७५ जनाविरुद्ध मुद्दा अदालतमा बुझाएको थियो। गत माघ ७ मा दुबईबाट आएको ३३ किलो सुन विमानस्थलबाट बाहिरिएको थियो। तर सम्बन्धित मान्छेसँग नपुगी हराएको थियो। यस घटनाले समेत प्रहरी संगठन आलोचित भएको थियो। 

घटना चार   

प्रहरी नायव निरीक्षक (सई) कुबेरविक्रम कार्की पूर्वगृहमन्त्री खुमबहादुर खड्काका सुरक्षा गार्ड थिए। उनको २०६३ साल मंसिर २० गते भक्तपुरको गोठाटारमा घरमा बसिरहेका बेला हत्या भएको थियो।

३२ वर्षका कार्कीलाई अपरिचित दुईजनाले घरभित्रैबाटै घिसारेर बाहिर लगेर खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहारबाट गम्भीर घाइते भएका कार्कीको मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा मृत्यु भयो।

घटना भएको १२ वर्ष बितिसक्दासमेत प्रहरीले कार्की हत्या कसले र किन गरेको थियो अझैसम्म पत्ता लगाउन सकेको छैन। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले यस घटनाको अझै अनुसन्धान जारी राखेको सिआइबीले जनाएको छ।

घटना पाँच

दिवाकार चन्द हत्याकाण्ड रहस्यको गर्भमा रहेको अर्को घटना हो, हाइ प्रोफाइल दिवाकर चन्द हत्याकाण्ड। विश्व हिन्दु महासंघका तत्कालीन वरिष्ठ उपाध्यक्ष तथा पूर्वराजा त्रिभुवनका पनातिनी ज्वाइँ हुन् चन्द। काठमाडौं छाउनीका ५५ वर्षे चन्दको २०६९ साल असोज १७ गते ललितपुरको धोवीघाटमा हत्या भएको थियो।

हत्या भएको तीन दिनपछि चन्दको शव भेटिएको थियो। टेलिफोनको तारले घाँटी कसेर चन्दको हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्‍कर्ष थियो। तर, यो घटनाको अभियुक्तलाई अझै प्रहरीले पत्ता लगाउन सकेको छैन।

चन्द श्रीमतीसँग छोडपत्र गरेर धोवीघाटमा फ्ल्याट भाडामा लिएर बसेका थिए। उनको हत्या भएको ६ वर्ष पुग्दासमेत प्रहरी हत्यारा पत्ता लगाउन सकेको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.