बैतडी : बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लाबाट रोजगारीका लागि भारत जानेको सीमा नाका झुलाघाट भएर भारत नेपालीहरूको लर्को लाग्न थालेको छ। दशैं तथा तिहार जस्ता चाडपर्वहरूको सकिएलगत्तै रोजगारीका लागि भारत जानेको लर्को लाग्न थालेको हो। हिजोआज सीमा नाका झुलाघाटमा रोजगारीका लागि भारत पस्नेको संख्या बढ्दै गएकोसीमा प्रहरीचौकी झुलाघाटले जनाएको छ। रोजगारीका लागि बैतडीबाट मात्रै दैनिक ३ सय बढी भारत पस्ने गरेका सीमा प्रहरीचौकी झुलाघाटका इन्चार्ज उमेशकुमार पालले बताए।
स्वदेशमा रोजगारीका सम्भवानाहरू नभएकाले भारत जानुपरिरहेको नागरिकहरूको गुनासो रहेको छ। स्वदेशमै रोजगारीका सम्भवना नभएकाले युवाहरूले विदेश जानुपरिरहेको सुर्नया ६ का प्रकाश अवस्थीले बताए। उनले भने, 'चुनावका बेला मात्रै नेताहरूले रोजगारी दिने बाचा गरेपछि चुनावपछि गाउँ फर्केका छैनन्।'
अहिले खेतबारीको सबै काम सकिएकाले पैसा कमाउन भारत जान लागेको सीमा नाकाबाट भारत जानेहरूले बताएका छन्। गाउँका अधिकांश युवा रोजगारीका लागि भारत छिरेपछि गाउँमा बुढाबुढी र महिला मात्रै रहेका छन्। गाउँको विकास निर्माणका कामहरूमा समेत महिलाहरू नै सहभागी हुने गरेका छन्।
आफ्नै बारीबाट उब्जेको अन्नले बाह्रै महिना खान नपुग्ने अवस्थाले भारतमा काम गरेर ल्याएको पैसाले खाना किनेर खानुपर्ने अवस्था रहेको उनीहरू बताउँछन्।
निर्वाचनका प्रतिबद्धता बोलीमै सीमित
देशमा व्यवस्था फेरि एपनि गरिब र सीमान्तकृत नागरिकको अवस्था अझै फेरिएको छैन। नेताहरूको बोलीले जनतालाई सुविधा दिने भनिए पनि देखिने गरी कुनै काम हुन सकेको छैन। आफूले जिते घरघरमै रोजगारी सिर्जना गछौं विदेश तथा भारत जानुपर्ने बाध्यता हट्छ भनेर जितेका नेताहरूको भनाइ बोलीमै सीमित भएको छ।
गएको स्थानीय तहको निर्वाचन, प्रदेश र संघको निर्वाचनका बेला नेताहरूले बोलेका कुरा पूरा गर्न सकेका छैनन्। गाउँमै रोजगारीको सिर्जना गरी बेरोजगारी अन्त्य गर्ने नेताहरूले भाषण गरेका भए पनि गाउँमा रोजगारीको सिर्जना गर्न नसकेको स्थानीयहरूले गुनासो गरेका छन्। नेताहरूले आफ्ना आसेपासेहरूलाई मात्रै हेर्न थालेपछि आफूहरूले परिवार पाल्न भारत जानुपरेको पुरचौंडीका दलबहादुर धामीले बताए।
रोजगारीका सम्भावना नहुँदा परिवार पाल्न वर्षैपिच्छे भारत जानुपर्ने स्थानीयहरूको नियती बनेको छ। घरपरिवार पाल्नका लागि गाउँमा केही नहुँदा भारत जानुपरेको हो। देशमा जस्तोसुकै व्यवस्था आएको भए पनि आफूहरूका समस्या कसैले समाधान नगरेको उनीहरूको गुनासो छ। भारतमा मजदुरी गरी पेट पाल्न, परिवार पाल्न भारत जानुपर्ने आफूहरूको बाध्यता भएको उनीहरूले बताएका छन्।
गाउँमै रोजगारीका अवसर भए आफूहरूलाई भारत जान रहर नभएको उनले बताए। चुनावका बेला नेताहरूले बोलेका कुरा नारामै सीमित भएका पुरचौंडीका गगनसिंह धामीले गुनासो गरे। रोजगारीका लागि भारत जाने नागरिकहरूले आफूहरू बाध्यताले भारत पसिरहेको उनको भनाइ छ।
रोजागारीका लागि भारतमा गएर रोजगारी गर्नुपर्ने जनताको नियती फेर्न सरकारले सिन्को भाँच्न सकेको छैन। स्थानीय सरकार नजिकको सरकार भनिए पनि आफ्नै गाउँका नागरिकलाई रोजगारी दिने तर्फध्यान गएको छैन।
विद्यालय उमेरका बालबालिकादेखि लिएर कपाल फुलेर सेताम्य भएका नागरिक रोजगारीका लागि जाने गरेका छन्। घरको आर्थिक अवस्था दयनीय भएको र गाउँमा कुनै उपाय नलागेपछि विद्यालय छोडेर रोजगारीका लागि भारत जान लागेको पुरचौंडीका हिरासिंह धामीको भनाइ छ।
देशमा संघीय गणतन्त्र स्थापना भएपछि तीन तहका सरकारले काम गरिरहेका छन। चुनावका बेला नेताहरूले गरिबी, बेरोजगारीको अन्त्य गर्ने नारा पनि लगाएकै हुन्। तर चुनावपछि गरिब नागरिकका लागि फर्केर नहरेको गुनासो दलबहादुर धामीको रहेको छ।
स्थानीय सरकारले गाउँघरमै रोजगारीको सिर्जना गरेर घरपरिवार पालनकै लागि भारत जाने ध्यान गरिब नागरिकको जीवनस्तर सुधारमा केन्द्रित हुनुपर्ने स्थानीयहरूको तर्क छ। सुदूरपश्चिमका पहाडी जिल्लाका अधिकांश नागरिक मजदुरीका लागि झुलाघाट नाका भएर भारत जाने गरेका छन्। बैतडीलगायत डडेल्धुरा, डोटी, अछाम, बाजुरालगायत हुम्ला, मुगुका युवा पनि झुलाघाटबाट भारत जाने गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।