|

काठमाडौं : नेपाल प्रहरीको तालिम केन्द्र सार्ने मन्त्रिपरिषदको निर्णयले प्रहरी संगठनमा निरासा उत्पन्न भएको छ। विना कारण प्रशिक्षणस्थल हटाउने सरकारको निर्णयले प्रहरीको संगठनमा नकारात्मक असर पर्ने प्रहरी अधिकारीहरुको भनाइ छ। यसले गर्दा प्रहरीको मनोबलमा समेत दीर्घकालीन असर पर्ने उच्चप्रहरी अधिकारीको भनाइ छ।

‘नेपाल प्रहरीको सात दशक लामो विरासत बोकेको प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी) लाई सार्ने जुन सरकारबाट निर्णय भएको छ। 'यसले प्रहरी संगठनमा दीर्घकालीन असर पुग्ने छ,’ एक उच्च प्रहरी अधिकृतले भने, 'सरकारको निर्णय हो यसको विरुद्धमा जान नमिल्ला तर यो संठनको लागि दुर्भाग्यको कुरा हो।’ 

बहालवाला उच्च प्रहरी अधिकारी सरकारको बिरुद्धमा बोल्न नसके पनि सरकारको निर्णयबाट भने रुस्ट रहेका छन्। सरकारले राष्ट्रपति कार्यलयको लागि जग्गा अपुग भएको भन्दै २१ गतेको मन्त्रिपरिषद् बैठकले महाराजगंजमा रहेको प्रहरी एकेडेमी सार्ने निर्णय गरेको थियो। महाराजगंजबाट काभ्रेको पनौती सार्ने सरकारको निर्णयप्रति भने पूर्व उच्च प्रहरी अधिकारीहरुले खुलेर नै असन्तुष्टि जनाउदै आएका छन्।

 

नेपालमा राष्ट्रपति पद आलङकारिक हो कार्यकारी होइन। यसैले राष्ट्रपति कार्यालय रहेको अहिलेको भवन नै पर्याप्त छ। तर, प्रहरी प्रतिष्ठान हटाउन राष्ट्रपतिभन्दा नेपाली सेनाको उक्साहट बढी रहेको नेपाल प्रहरीका एक उच्च अधिकारीको भनाइ छ।

‘नेपाली सेनाले पनि प्रहरीकै जस्तो कुनै न कुनै प्रकारको भूमिका खोजिरहेको छ। प्रहरी संगठनलाई कमजोर नबनाइ त्यो अभिष्ट पूरा गर्न सकिँदैन। त्ससैले प्रहरी संगठन कसरी हुन्छ कमजोर पार्ने र आफ्नो अभिष्ट पूरा गर्ने जस्तो देखिन्छ,’ एक उच्च प्रहरी अधिकारीले भने।

यस्तो छ प्रहरी तालिमकेन्द्रको इतिहास

नेपाल प्रहरीको हरेक प्रकारको तालिमहाल महाराजगंज तालिमकेन्द्रमै हुने गरेको छ। विक्रम सम्वत् २०११ सालमा ललितपुरको श्री महलबाट सदर पुलिस तालिमकेन्द्रको रुपमा स्थापना भएको थियो। त्यसपछि २०१३ सालमा तालिमकेन्द्रलाई शीतल निवासको घोडा तबेलामा सरेको थियो।

त्यहीलाई विक्रम सम्वत् २०४९ साल माघ २९ गते सदर प्रहरी तालिम केन्द्रलाई राष्ट्रिय प्रहरी तालिम प्रशिक्षण प्रतिष्ठानको रूपमा स्तरवृद्धि गरेको थियो। अपराध अनुसन्धानको क्षेत्रमा प्रहरीलाई सक्षम बनाउन विशेष कार्य योजनासहित २०५३ सालमा प्रतिष्ठानमा अपराध अनुसन्धान विद्यालयको समेत स्थापना भएको छ।

१९३ रोपनी जम्गामा अवस्थित तालिमकेन्द्रभित्र नै केन्द्रीय प्रहरी कुकुर विद्यालय समेत रहेको छ। अपराध अनुसन्धानमा कुकुर विश्वमा नै प्रयोग हुँदै आएको छ। हाल प्रहरी तालिम केन्द्रमा अपराध अनुसन्धानमा प्रयोगमा हुने विभिन्न प्रजातिका ८० भन्दा बढी कुकुर हरेका छन्। त्यसै प्रहरी तालिम केन्द्रमार्फत प्रहरीले विभिन्न विधामा खेलाडीसमेत उत्पादन गर्दै आएको छ।

२०३३ सालबाट नीतिगत रूपबाटै प्रहरीले बिभिन्न विधाका खेलाडी उत्पादन गर्दै आएको हो। नेपाल प्रहरीबाट तालिमप्राप्त खेलाडीले राष्ट्रिय अन्तराष्ट्रिय प्रतियोगितामा समेत सफलता हात पार्दै आएको छ। तालिम केन्द्र भित्रै हाल प्रहरीले अन्तराष्ट्रिय स्तरको फुटबल मैदान र अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदानसमेत निर्माणाधीन अवस्थामा रहेको छ। यहाँ प्रहरीको विधि विज्ञान प्रयोगशालासमेत रहेको छ।

के भन्छन् पूर्वआइजीपी ?

प्रहरी प्रशिक्षण प्रतिष्ठान सार्ने विषयमा पूर्व प्रहरी महानिरीक्षक (आइजीपी) हरुले खुलेरै विरोध गर्दै आएका छन्। पूर्व आइजीपी मोतिलाल बोहराले सरकारले गरेको प्रतिष्ठान सार्ने निर्णय फिर्ता हुनु पर्ने बताए। 'आफु आइजीपी हुँदाकै पालामा प्रहरीको तालिमकेन्द्र थप प्रभावकारी बनाउन पनौतिमा बनाउने निर्णय गरेको हो। महाराजगंजको तालिम केन्द्र हटाएर त्यता सार्ने भनेको हैन। त्यो प्रहरीको जन्म थलो हो,' उनले भने 'कुनै हालतमा यो प्रतिष्ठान सार्ने कुरा प्रहरीको लागि सुखद हुँदैन।'

त्यस्तै पूर्व आइजीपी खड्गजीत बराललेसमेत प्रहरी तालिमकेन्द्र सार्ने सरकारको निर्णयमा असन्तुष्टि जनाएका छन्। उनले फेसबुका लेख्दै भनेका छन् 'नेपाल प्रहरीको तालिमकेन्द्र सार्ने सरकारको निर्णयबाट म स्तब्ध र दु:खी भएको छु। सात दशकदेखि प्रहरीको व्यवसायिक प्रमुख ज्ञान मन्दिर भई हजारौँ हजार प्रहरीलाई जय नेपालको उद्घोषणका साथै मातृभूमि नेपाल तथा समाजसेवाको सङ्कल्प दिलाउने केन्द्रीय संस्था रही आएकोलाई ‘हलो काटी मुङग्रो’ बनाउने कुसोचले नेपाल प्रहरीको ऐतिहासिक धरोहर र विरासतलाई उखेलेर फाल्ने निर्णयले म जस्तै पूर्व र बहालवाला हजारौँ हजार प्रहरीको मर्मलाई आघात पुगेको छ। त्यसैले सुशासन र समृद्धिको घोषणाको ढोल बजाउँदै आएको वर्तमान सरकारलाई निर्णय फिर्ता लिनसमेत विनम्र अनुरोध गर्दछु।' उनले लेखेका छन्।

पूर्व आइजिपी मोतिलाल बोहराले महाराजगंज तालिमकेन्द्र नहटाई काभ्रेको पनौतिमा तालिमकेन्द्र बनाउने गुरु योजना ०५२ सालमा नै तर्जुमा गरेका थिए। त्यसको लागि केही जग्गा समेत किनिसकेको बोहराले बताए।

तालिमकेन्द्रको निर्माणको लागि भारत सरकाले आठ अर्व भन्दा बढी रुपैँया समेत सहयोग गर्ने धोषणा गरेको थियो। ८८० रोपनी क्षेत्रफलमा निर्माण हुने प्रहरी तालिमकेन्द्रको हालसम्म भने जग्गा अतिग्रहण गर्नु बाहेक अन्य केही प्रगति भएको छैन्। तर सरकारले भने १८ महिना भित्र महाराजगंजबाट सर्न सकिने जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.