|

जाजरकोट :  बारेकोट गाउँपालिका र कुशे जुनीचाँदे गाउँपालिकामा करोडौंको सेतो चिनी अनुमतिबिना निकासी भएको छ।
डिभिजन वन कार्यालय जाजरकोटको इजाजत बिनै सेतो चिनीको संकलन गरी निकासी गरिएको छ। बारेकोटको मुसे, चाखुरे, कोटे, कालीमुरी, दियाबाल्न, देउरालीपाटन, ठाकुरजी, कराइचुला, खुम्बु, कुशे गाउँपालिकाको रातापाटन, भीमपोस्तक, बांगाडाँडा, ब्युलीढुंगा, चाल्नेचौर, कुशेपाटन, नलगाड नगरपालिकाको सिउन, रूप, मंसिरी र जुनीचाँदे गाउँपालिकाका विभिन्न लेकबाट मूल्यवान जडीबुटी सेतो चिनीको चोरी निकासी भएको स्थानीयको भनाइ छ। 

अनुमतिबिना नै ती लेकबाट ठूलो परिमाणको सेतो चिनी जिल्ला बाहिर निकासी भएको उद्योग वाणिज्य संघ जाजरकोटका अध्यक्ष कर्णबहादुर खत्रीले बताए। 
अवैध रूपमा सेतो चिनी चोरी निकासी हुँदा लाखौं राजस्व चुहावट भएको छ। सेतो चिनी उच्च लेकाली भूभागमा पाइने र जमिनमुनि गाना फल फल्ने मूल्यवान् जडीबुटी हो। यसको वैज्ञानिक नाम सेतो चिनी भए पनि यसलाई स्थानीय भाषामा खिरौलो भन्ने गरिन्छ।

सेतो चिनीका सखरखण्डजस्तै गाना हुन्छन्। सेतो चिनीको गानालाई जमिनबाट निकालेर सुकाई बिक्री गर्ने गरिन्छ। हरेक असोज महिनामा सेतो चिनीको गाना परिपक्व हुने गर्छ। भदौ महिनासम्म यसको बिरुवा हरियो हुन्छ। यसलाई प्रत्येक वर्ष निकाल्न मिल्छ । तर, केही भाग गाना जमिनमुनि छोडेर निकाल्दा यसको बीउ मासिँदैन।

व्यापारी, जनप्रतिनिधि र सरोकारवाला निकायको मिलेमतोमा करोडौं मूल्यको सेतो चिनी जुम्ला हुँदै चोरी, निकासी भएको हो। वन तथा बातारवण मन्त्रीको गृह जिल्लाबाट अवैध ढंगले मूल्यवान् तथा लोपोन्मुख सेतो चिनी निकासी हुँदा पनि मन्त्रालय, विभाग लगायतका निकाय मौन वसेको स्थानीयले आरोप लगाएका छन्। 
जिल्लाबाट करोडौं मूल्यको सेतो चिनी चोरी निकासी हुँदा पनि रोकथाम गर्न नसक्नु सरकारको लाचारीपन भएको उद्योग वाणीज्य संघका अध्यक्ष कर्ण खत्रीको भनाइ छ। 

असोज पहिलो सातादेखि अन्तिमसम्म ८ हजार बढी संकलक विभिन्न ठाउँमा पुगेर ठूलो परिमाणको सेतो चिनी संकलन गरिरहेका छन् । स्थानीयले संकल गरेको सेतो चिनी जनप्रतिनिधि, विप्लव माओवादीका कार्यकर्ता र वन कर्मचारीले व्यापारीबाट मोटो रकम असुलेर जिल्लाबाहिर निकासी गर्ने वातावरण मिलाएको बारेकोटका रवी रावतले बताए ।

संकलन गरेको सेतो चिनी लेकाली क्षेत्रबाट व्यापारीले जुम्ला र डोल्पा जिल्लामा पु¥याएका छन्।
पाटनमै सेतो चिनी नसुकाएको प्रति किलोको ३० रुपैयाँ र पकाएर सुकाएको प्रतिकिलोको हजारका दरले बिक्री हुने गरेको बारेकोट ५ का प्रेम शाहीले बताए।
पाटनमा एक जना मजदुरले एक दिनमा २ सय किलोसम्म सेतो चिनी संकलन गर्न सक्ने शाहीले बताए। डिभिजन वन कार्यालयले कार्ययोजना बमोजिमको राजस्व लिएर मात्र सेतो चिनीको संकलन पुर्जी दिन सक्छ। सेतो चिनी औषधिमा प्रयोग हुने बताइन्छ।

सेतो चिनी चिनलगायतका देशमा बिक्री हुने गरेको छ । नेपालमा सेतो चिनीको उपयोग भएको पाइँदैन। मन्त्रालयले समयमा कार्ययोजना स्वीकृत नगर्दा करोडौंको सेतो चिनी चोरी निकासी भएको हो। समयमा कार्ययोजना स्वीकृत नगरी वनमन्त्रीको गृहजिल्लाबाट करोडौं मूल्यको जडीबुटीको अवैध कारोबार हुनु रहस्यमय छ।
मन्त्रालयले गर्दा नै डिभिजन वन कार्यालयले सेतो चिनी संकलन तथा निकासीका लागि इजाजत दिन सकेको छैन। संकलन इजाजतबिना सेतो चिनीलगायत जडीबुटीको खोजतलास तथा बिक्री वितरण गर्न मिल्दैन।

वन, वन पैदावार संकलन, वन संरक्षण, वन विकास, पूर्वाधार निर्माणलगायत कार्यका लागि पेस भएको कार्ययोजना वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत हुन नसकेको निमित्त डिभिजन प्रमुख नेपाली साहले बताए। जनशक्ति अभाव, भौगोलिक विकटतालगायतका कारण चोरी निकासी नियन्त्रणमा लिन नसकेको उनको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.