|
पीडित मिश्र

काठमाडौं :  मोरङ मधुमल्लाका कमल मिश्रले महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामबाट गणित विषयमा स्नातक तह पास गरे। सात वर्ष जति विभिन्न सरकारी विद्यालयमा शिक्षक भएर कामसमेत गरे। केही समयअघिबाट भने उनी मोरङ मधुमल्लाकै बोडिङ स्कुलमा शिक्षक पेसा गर्दै आएका थिए। काम राम्रै थियो। घर खर्च चलाउन पुग्ने कमाइ हुन्थ्यो।

तर एकाएक उनमा शिक्षक पेसा छाडेर केही वर्ष विदेश जाने जोस आयो। घर नजिकैको शिक्षक पेसा छाडे। मेनपावर र कसल्टेन्सीको खोजीमा हिँडे। शिक्षक पेसाबाट बचत गरेको केही रकम उनले वैदेशिक रोजगारीका लागि जोहो गरिसकेका थिए। त्यही मौकामा उनको भेट सुनसरी मधुवन–३ का राजन गुरुङ र इलाम नयाँबजारका रणबहादुर गुरुङसँग भयो।

उनीहरूले वैदेशिक रोजगारीमा आकर्षक पारिश्रमिकसहित टर्की पठाउँछु भन्दै मिश्रलाई कन्भिन्स गरे। मिश्र राजी भए। गुरुङद्वयको टर्कीमा मासिक ५०० डलर कमाइ हुने खान बस्न कम्पनिले दिने। लगानी तीन लाख लाग्ने बताएका थिए। त्यसको लागि सुरुमा ४० हजार रुपैयाँमा बुझाउनुपर्ने उनीहरूको सर्त थियो। मिश्रले त्यो सर्त पूरा गरे। २० देखि २५ दिनभित्र नै फ्लाइट गरिदिने गुरुङले आश्वासन दिए। मिश्र त्यही सपनामा रमाएका थिए। मिश्र हाल मिक्लाजुङ साहित्य समाजका अध्यक्ष पनि हुन्।   

तर, २०/२५ दिन पछि गुरुङद्वयले विभिन्न कारण देखाएर भिसा लाग्न ढिला भएको भन्दै मिश्रलाई मंसिर महिनासम्म रोके। उनले  भदौ महिनामा ४० हजार रुपैयाँ दिएका थिए। गुरुङले मिश्रलाई फेरि कात्तिकमा सम्‍पर्क गरे। मंसिर दुई गते साढे ११ बजेको फ्लाइटको मिति नै दिए। 'भिसा पनि देखाएका थिए हेर्दा सबै ठीकठाक नै देखिन्थ्यो नक्कली होला भन्ने त चाल पनि पाएका थिइनँ,' मिश्रले भने।

त्यही भिसा देखेर उनले तीन लाख बुझाए। काठमाडौं आए। विदेश जाने भन्दै किनमेल गरे। जब मंसिर दुर्इ गते आयो गुरुङद्वय सम्पर्कविहीन भए। एकजना अहिलेसम्म सम्पर्कविहीन छन् भने एक जनालार्इ प्रहरीले नियन्त्रणमा लिएको छ। हाल मिश्र काठमाडौंमा अलपत्र अवस्थामा छन्। प्रहरीदेखि आफ्ना जनप्रतिनिधिसम्म पुगेर न्यायको लागि अपिल गरिरहेका छन्। मोरङ क्षेत्र नम्बर एकका सांसद घनश्याम खतिवडालाई सहयोगका लागि मिश्रले गुहारिरहेका छन्। 

उनी त एक प्रतिनिधि पात्र मात्रै हुन्। उदयपुर गाईघाटका हरि बुढाथोकी र ताप्लेजुङ फुरुन्बका यम दाहाललगायत ६० जनाभन्दा बढी पूर्वका युवाहरूबाट नक्कली भिसा देखाएर गुरुङद्वयले करोडभन्दा बढी रुपैयाँ उठाएर अलपत्र पारेका छन्। उनीहरू हाल काठमाडौंमा प्रहरीदेखि जनप्रतिनिधिसम्म डेलिगेसनमा जाने गरेका पीडितहरूको भनाइ छ।

त्यसमध्ये इलामका रणबहादुर गुरुङलाई भने प्रहरीले पक्राउ गरेर झापा बिर्तामोड पठाएको छ। उनलाई महानगरीय प्रहरी वृत्त गौशालाले बिहीबार पक्राउ गरेर झापा बिर्तामोड पठाएको हो। राणबहादुर गुरुङले भने सम्पूर्ण कामको जिम्मा राजन गुरुङले लिएको भन्दै आफू फुत्किन खोजेको पीडितको गुनासो छ।

को हुन् गुरुङद्वय?

पीडितहरूका अनुसार सुनसरी मधुवन–३ का राजन गुरुङ र इलाम नयाँबजारका रणबहादुर गुरुङले ठगेका हुन्। उनीहरूले विभिन्न व्यक्तिहरूबाट पैसा असुल्दै युरोप, कोरिया लगायतका देश पठाइदिने भन्दै ठगी धन्दा गरेका छन्।

उनीहरूले झापाको बिर्तामोडमा अफिस नै खोलेर विभिन्न युवाहरूको पासपर्ट लिने र पैसा उठाउने गरेको प्रहरीको भनाइ छ। पछिल्लो समय वैदेशिक रोजगारीको प्रलोभनमा परेर ठगिएका पीडित युवाहरू दैनिक २० देखि २५ जना महानगरीय अपराध महाशाखा आउने गरेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिए। त्यस्तै, विभिन्न प्रहरी कार्यालयमा समेत ठगीमा मुद्दा दिनानुदिन बढ्दै गएको प्रहरीको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.