|

काठमाडौ : भदौ ४ गते काठमाडौं बबरमहलस्थित आफ्नै घरमा हत्या भएका फ्रान्सका लागि पूर्वनेपाली राजदूत केशवराज झा हत्याको अनुसन्धान अझै शून्य छ। महानगरीय अपराध महाशाखाले हत्याको अनुसन्धान गरिरहेको जनाए पनि तीन महिना पूरा हुँदासम्म हत्यारा को हो? त्यसको सुइँकोसम्म पाउन सकेको छैन।महाशाखाले हत्यारा पत्ता लगाउन नसकेपछि हाल झाको हत्या अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले समेत सुरु गरेको छ। एक प्रहरी अधिकारीका अनुसार सिआइबीले आफ्नै तरिकाबाट झा हत्या अनुसन्धान सुरु गरेको हो। 

अपराध महाशाखाका एक प्रहरी अधिकृतका अनुसार झा हत्या अनुसन्धान शुन्यमै छ। ‘हत्या कसले, किन गर्‍यो? उनको हत्या हुनुभन्दा अघिसम्म कतैबाट कुनै धम्की आयोको थियो कि भनेर हामीले धेरै अनुसन्धान गर्‍यौँ तर केही भेटिएन,’ उनले थपे, ‘अनुसन्धानको दायारा बढाउँदै छौं।’ अपराध महाशाखाका प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौर नेतृत्वको टोलीले झा हत्याको अनुसन्धान गरिरहेको छ।

यसअघि झा हत्याको अभियोगमा महाशाखाले झाको घरमा सुरक्षा गार्ड काम गर्दै आएका सानुकान्छा तामाङ, मालीको काम गर्ने आइतसिंह तामाङ र जयबहादुर गुरुङलाई नियन्त्रणमा लिएको थियो। तर उनीहरूले नै हत्या गरेको यथेष्ट प्रमाण नभेटेपछि तीनै जना भदौ २९ गते आठ/आठ हजार रुपैयाँ धरौटीमा थुनामुक्त भएका थिए।

परिवारमाथि सोझिँदै अनुसन्धान

झाको हत्या भएको लामो समय वितिसक्दासमेत हत्यारा पहिचान हुन नसक्दा प्रहरीमाथि दवाब बढेको छ। झा हत्या अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार काठमाडौंदेखि तराईसम्मका सयौं जनासँग सोधपुछ गर्दासम्म हत्याको सुइँको नलागेपछि परिवारलाई समेत निगरानी गर्नु पर्ने अवस्था आएको हो। 'कुनै रिसिइबीका कारण झाको हत्या भएको जस्तो देखिँदैन त्यसैले हामीले धेरै कोणबाट अनुसन्धान गरिरहेका छौं,' उनले थपे, 'हत्यामा परिवारका सदस्यको भूमिका पनि हुन सक्छ।'

झा हत्याको दुई दिनअघि मात्र उनका छोरा किरण झा र बुहारी आयरल्यान्डमा गएका थिए। बुवाको हत्यापछि नेपाल फर्किएका किरण हाल आयरल्यान्डमै छन्। उनी डाक्टरी पेसा गर्दै आएका छन्। झा कि छोरी राजश्री झा भने काठमाडौं रहेकी छन्। झाको हत्या हुँदा उनकी छोरी पनि देश बाहिर नै भएको प्रहरीको भनाइ छ।

झाको हत्या भएको रात झ्यालको जाली काटिनु, तर मानिस उक्लेको र झरेको कुनै प्रमाण नभेटिनु हत्या भएको खुकुरी घरभित्रकै प्रयोग हुनुले पनि घटना शंकास्पद भएको प्रहरीको भनाइ छ। 

योजनाबद्ध हत्या

झाको हत्या गरिएको कोठाबाट प्रहरीले हत्यामा प्रयोग गरिएको चक्कु, पन्जा, रगतले भिजेका कपडालगायत प्रमाण बरामद गरेको थियो। तर घटनास्थलमा भेटिएका प्रमाणको ल्याब टेस्ट गर्दा भने कसैको फिंगर प्रिन्ट देखिएन।

त्यसकारण हत्या पूरा योजनाबद्ध तरिकाबाट भएको प्रहरीको भनाइ छ। एक प्रहरी अधिकारीका अनुसार झाको हत्या कुनै रिसिइबीले भएको जस्तो देखिँदैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.