|

काठमाडौँ : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत साेमबार भएको दोस्रो खेलमा न्यू रोड टीम (एनआरटी ) लाई २–० ले पराजित गर्दै थ्री स्टार विजयी भएको छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि थ्री स्टारले खेलको ७५ औँ मिनेटमा रञ्जित धिमालको गोलबाट अग्रता लिएको थियो। थ्री स्टारका खेलाडी अजायी मार्टिन्सलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि थ्री स्टारले पेनाल्टी पाएको थियो। 

एनआरटीका गोलरक्षक अजित प्रजापतिले पेनाल्टी बचाए पनि रञ्जितले रिबाउण्डमा आएको बललाई गोलमा परिणत गरेका थिए। उनले लगातार तेस्रो खेलमा गोल गरेका हुन्। रञ्जितले ब्रिगेड ब्वाइज र मनाङविरुद्ध पनि गोल गरेका थिए। दोस्रो हाफको इञ्जुरी समयको पहिलो मिनेटमा अजायी मार्टिन्सले गोल गर्दै थ्री स्टारको जीत पक्का गरे। मिडफिल्डर सुनिल बलले दिएको हेडर पासमा मार्टिन्सले हेडरमार्फत नै गोल गरेका थिए। 

जितसँगै थ्री स्टारले चार खेलमा नौ अंक जोडेको छ। एनआरटी भने लगातार तेस्रो हारपछि चार खेलमा एक अंकमै रहेको छ। लगातार दुई खेल जितेर उत्कृष्ट।शुरुआत गरेको थ्री स्टार पछिल्लो खेलमा मनाङ मस्र्याङ्दी क्लबसँग पराजित भएको थियो। एनआरटीले लिगको उद्घाटन खेलमा आर्मीसँग अङक बाँड्नुबाहेक त्यसयता राम्रो खेल्न सकेको छैन। 

यसैगरी आजै हल्चोकस्थित सशस्त्र प्रहरीको खेलमैदानमा भएको अर्को खेलमा च्यासल युथ क्लबलाई २–० गोलले पराजित गर्दै नेपाल पुलिस क्लब विजयी भएको छ। पुलिसको जीतमा खेलको ३८औँ मिनेटमा रवि पासवानले गोल गरेका थिए। त्यसैगरी खेलको ८८ औँ मिनेटमा भरत साहले गोल गर्दै पुलिसको जित सुनिश्चित गरेका थिए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.