|

काडमाडौं : राजधानी काठमाडौंमा एकपछि अर्को बालक अपहरणपछि हत्याको शिकार भएका छन्। गत साउन २० गते काठमाडौंको पेप्सीकोलास्थित टाउन प्लानिङबाट अपरणमा परेर हत्या गरिएका ११ वर्षीय बालक निशान खड्काको घटना सेलाउन नपाउँदै फेरी काठमाडौंमा अर्का बालकको अपहरण पछि हत्या भएको छ। मंसिर ११ गते बालाजुबाट अपहरणमा परेका ८ वर्षीय बालक प्रयास कुँवरको अपहरणपछि हत्या भएको हो। उनको शव बिहीबार म्हैपी खोलामा भेटिएको छ।

प्रयास सामाखुसीस्थित वेलमन्ट इन्टरनेशनल स्कुलमा कक्षा १ मा पढ्थे। प्रयासलाई उनका बुबा प्रवीण कुँवरका सवारी चालकले नै हत्या गरेका हुन्। स्याङ्जा भिर्कोट नगरपालिका ७ का महेन्द्र एसकेले अपहरण पछि प्रयासको हत्या गरेको नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) धिरजप्रताप सिंहले जानकारी दिए।

प्रयासको अपहरणको हत्या गर्ने महेन्द्रः

महेन्द्र केही अघिमात्र प्रयासका बुबाले संचालन गरिरहेको गेष्ट हाउस स्वस्तिका त्रिवेणीका सवारी चालक बन्न आएका थिए। तर, उनले एक कलिलो बालकको जिन्दगी समाप्त पारिदिएका छन्। 

प्रहरीले अपहरणपछि हत्या गर्ने महेन्द्रलाई पक्राउ गरिसकेको छ। महेन्द्रले प्रहरीसँग आफूले बालकको अपहरण र हत्या गरेको पनि स्वीकार गरेका छन्। एक महिना अघिमात्रै सवारी चालक बनेर आएका महेन्द्रले प्रवीणको भविष्यको आडभरोसा रहेका छोराको हत्या गरेका हुन्। 

महेन्द्रले भने आफूलाई प्रवीणले जागिरबाट हटाउन खोजेको रिसमा बालकको हत्या गरेको प्रहरीलाई बयान दिएका छन्। 

पर्वत स्थायी घर भएका प्रवीण र उनकी श्रीमती गंगा कुँवरका एक मात्र सन्तान थिए प्रयास। करिब १० वर्ष अघिबाट गेस्ट हाउस संचालन गर्दै आएका प्रवीणको बालाजुस्थित मित्र नगरमा गेष्टहाउस रहेको छ। प्रयासलाई गेष्ट हाउसबाट नै मंसिर ११ गते बेलुकी ६ बजे अपहरण गरेर महेन्द्रले लगेका थिए।

प्रवीण र गंगाको गेस्ट हाउसः

प्रवीणले मित्र नगरमा गेस्ट हाउस खोल्नु पूर्व अर्कै ठाउँमा हाउस नै खोलेर व्यापार व्यवसायमा गरिरहेका थिए। प्रवीणको परिवारले मित्र नगरमा गेस्ट हाउस संचालन गरेको डेढ वर्ष मात्र भएको छ। यसअघि पार्टनसिपमा गेष्ट हाउस संचालन गरेका उनले डेढ वर्ष अघिबाट एक्लै संचालन गरिरहेका छन्।

एक्लो छोराको हत्याले मुर्छित प्रवीण र गंगा

छोरो प्रयास हराएको सूचना मृतकका बुबा प्रवीणले ११ गते नै प्रहरीलाई दिएका थिए। प्रहरी गोप्य रूपमा प्रयासको खोजिमा लागेको थियो। बालकको अपहरणपछि प्रहरीले बुधबार प्रवीणकै सवारी चालक महेन्द्रलाई नियन्त्रणमा लिएको थियो। प्रहरीको सोधपुछका क्रममा उनले बालकको हत्या आफैँले गरेको स्वीकार गरेपछि उनैले दिएको सूचनाको आधारमा प्रहरीले म्हैपी खोलामा प्रयासको शव भेटेको हो।

बिहीबार दिनभर शव खोज्न हिँडेको अपराध महाशाखाको टोलीले शव नभेटेसम्म परिवारलाई चालक महेन्द्र पक्राउ परेकोबारे केही खबर गरेको थिएन। दिनको ३ तिन बजे जब प्रहरीले प्रयासको शव भेट्यो अनि उनका बुबा प्रवीणलाई खबर गरेको थियो- तपाईंको छोराको शव भेटियो।

गेस्ट हाउसमा छोरा प्रयास सकुशल भेटिएको सूचना कतै बाट आउने आशामा भगवानसँग प्रार्थना गर्दैथिए, बुबा प्रवीण र आमा गंगा। तर, प्रहरीले अकल्पनीय सन्देश दिएको थियो। प्रवीण प्रहरीसँगै छोराको शव भेटिएको म्हैपी खोला पुगे। गंगा भने मुर्छित भएर हलचल हुने अवस्थामा थिइनन्। छोरोको शव भेटिएको कुरा सुन्ने बित्तिकै गंगा गेस्ट हाउसमा नै मुर्छा परिन्। रोइरहिन्, कराइरहिन्।

प्रहरीको साथमा लागेर जसोतसो छोराको शव भेटिएको ठाउँमा पुगेका प्रवीणले पनि शव राम्रोसँग हेर्न सकेनन्। बोरा भित्र राखिएको छोराको शव देख्नेबित्तिकै उनी मुर्छित बने। उनलाई प्रहरीले भ्यानमा राखेर अस्पताल पुर्‍यायो। 

गेस्टहाउसमा सन्नाटा

अपहरण पछि हत्या गरिएका बालक प्रयासको शव भेटिएपछि हामी उनका बुबा आमाले संचालन गर्दै आएको गेस्ट हाउस पुग्यौँ। 

त्यहाँ मान्छेको भिड थियो। सधै झैँ गेस्ट हाउसको काउन्टर खुला थियो तर त्यहाँ काम गर्ने कर्मचारी र सेवा लिन आउने ग्राहक थिएनन्, भिडमा थियो तर त्यहाँ केवल सन्नाटाको बास थियो! प्रयासकी आमा गंगा काउन्टर छेउको कोठामा डाँको छोड्दै रोइरहेकी थिइन्। त्यहाँ उपस्थित कोहिसँग पनि उनलाई सम्झाउन सक्ने न त हिम्मत थियो न केही शब्द नै।  

प्रयासको हत्यापछि गेस्टहाउसमा भीड र सन्नाटाः

त्यहाँ उपस्थित गंगाका आफन्तसँग पनि उनलाई सम्झाउने शब्द थिएनन्। 'नरोउ, आँशु रोक' भन्ने आँट थिएन। त्यहाँ उपस्थित रहेका उनका आफन्त भन्दैथिए, 'सम्झाउनु पनि कसरी...?'

गंगा र प्रवीणका छिमेकी भन्दै थिए- प्रयास एकदमै ज्ञानी थियो। उसलाई बुबा, आमा र गेष्ट हाउसको फोन नम्बर कण्ठ थियो। कोठाबाट बाहिरसमेत निस्कदैन थियो। यस्तो के भयो..' 

ती छिमेकीले भनेको ज्ञानी र बाहिर ननिस्कने बालक प्रयासलाई नृसंश हत्या गरेर नफर्किनेगरी यो संसारबाट कतै अलप गराइएको थियो। त्यहाँ आमाको डाँको मात्रै सुनिइरहेको थियो। आवाजविहीन भीड थियो र, सन्नाटा थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.