|

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि सुरु भएको पाँचौँ चरणको पहिलो खेलमा नेपाल पुलिस क्लब र दोस्रो खेलमा थ्री स्टार क्लब विजयी भएका छन्।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा नेपाल पुलिस क्लबले न्यूरोड टिम (एनआरटी)लाई ३-० ले पराजित गरेको हो। जीतसँगै पुलिस अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। जीतसँगै पुलिसले १० अंक जोडेको छ। 

पुलिसको जीतमा नीरकुमार राईले दुई गोल गरे भने अभिषेक रिजालले एक गोल गरे। खेलको पहिलो हाफको ४१औँ मिनेटमा पुलिसका लागि नीरकुमारले अजित भण्डारीको पासमा हेड गोल गर्दै पुलिसललाई १-० अग्रता दिलाए। पहिलो हाफ १-० मा सकिएको खेलमा दोस्रो हाफमा पुलिसले दुई गोल थप्यो। खेलको ६६औँ मिनेटमा प्रहरीका अभिषेकले गोल गर्दै पुलिसको अग्रता दोब्बर बनाए भने खेलको ८२औँ मिनेटमा नीरकुमारले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई ३-० को सहज जीत दिलाए। 

खेलमा पुलिसका नीरकुमार राई म्यान अफ दि म्याच घोषित भए। पराजित एनआरटी एक अंकका साथ लिगको पुछारमा छ। त्यस्तै, आजै भएको दोस्रो खेलमा विभागीय टिम एपीएफलाई २-० ले हराउँदै थ्री स्टार लिगको शीर्ष स्थानमा उक्लेको छ। सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा थ्री स्टारको जीतमा रञ्जन विष्टले दुई गोल गरे।

खेलको २५औँ मिनेटमा रञ्जन विष्टले सुनिल बलको पासमा गोल गर्दै टोलीलाई १-० को अग्रता दिलाए। पहिलो हाफ १-० मा सकिएको खेलमा दोस्रो हाफको ६६औँ मिनेटमा रञ्जनले आफ्नो व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। त्यसपछि कुनै टोलीबाट गोल भएन र थ्री स्टार २-० ले विजयी भयो। जीतपछि थ्री स्टारको ५ खेलबाट १० अंक भएको छ। उसले गोल अन्तरका आधारमा मनाङलाई पछि पार्दै शीर्ष स्थानमा उक्लेको छ।
 

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.