|

लामो समयको माग र दबाबका बीच विराटनगरबाट माउन्टेन फ्लाइट सुरु भएको छ। माउन्टेन फ्लाइटको दोस्रो हप्ताको उडान शनिबार भयो। माउन्टेन फ्लाइट सुरु भएसँगै प्रदेश १ को पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ।

निजी क्षेत्रका पर्यटन व्यवसायीहरू भविष श्रेष्ठ, भागवत् नेपाल, फणिन्द्र अधिकारीलगायतको अगुवाईमा सुरु भएको यो कदम सह्रानीय छ र यसलाई निरन्तरता दिन आवश्यक पनि छ। भारत र बंगलादेशका पर्यटकसमेतलाई लक्षित गरी विराटनगरबाट माउन्टेन फ्लाइटको साप्ताहिक उडान सुरु भएको हो। काठमाडौंका पर्यटन व्यवसायीको सिण्डिकेट र घेराबन्दीका बीच सुरु भएको यो कदम आगामी दिनमा सफल होला या नहोला भन्ने प्रश्नको जवाफ गर्भमै छ।

यहाँका पर्यटन व्यवसायीले संघीय सरकारलाई माउन्टेन फ्लाइटको प्रस्ताव राखे, प्रदेश सरकारलाई राखे, विमान कम्पनीहरुलाई राखे तर कुनै पनि प्रयास सफल भएन। तर, माउन्टेन फ्लाइट गराएरै छाड्ने अठोटका साथ व्यवसायीले आफैँ घाटा-नाफा व्यहोर्ने गरी प्लेन चार्टर गरेर कामको सुरुवात गरेका हुन्।

सुरुको माउन्टेन फ्लाइटमा प्रदेशका मुख्यमन्त्री शेरधन राईसहित मन्त्रीहरू इन्द्र आङ्बो, जगदिश कुसियैत, प्रदेश सरकारका प्रमुख सचिव केदार न्यौपानेलगायत विभिन्न मन्त्रालयका सचिवहरू, पर्यटन व्यवसायीसहितको टोलीले माउन्टेन फ्लाइटको उद्घाटन गरेका थिए। प्रदेश सरकारका मन्त्रीहरू उडेर माउन्टेन फ्लाइट सफल हुने होइन। तर यो कदमले पर्यटन व्यवसायीलाई प्रदेश सरकारले होस्टेमा हैँसे भने गरेको बुझ्नु आवश्यक छ। 

माउन्टेन फ्लाइटका क्रममा सर्वोच्च शिखर सगरमाथा, ल्होत्से, कञ्चनजंघा, मकालु, गौरिशंकरलगायतका हिमशिखरहरूको अवलोकन गर्न पाइन्छ। ‘१ नम्बर प्रदेशको अस्थायी राजधानीको रूपमा रहेको विराटनगरबाट माउन्टेन फ्लाइट सुरु भएसँगै यहाँको पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास छ,’ मुख्यमन्त्री राईको भनाइ छ, ‘यसलाई निरन्तरता दिन प्रदेश सरकारले अभिभावकत्व ग्रहण गर्छ।'

पर्यटन व्यवसायीहरू आवद्ध विराट होलिडेज नामक संस्थाको पहलमा विराटनगर विमानस्थलबाट उडान सुरु गरिएको हो। ५५ मिनेट लामो उडानमा सहभागी भएर फर्केपछि प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिश कुसियतले काठमाडौंको सिण्डिकेट तोडिएको बताउँदै यसलाई निरन्तरता दिन प्रदेश सरकारले पहल गर्ने बताएका थिए।

पर्यटन व्यवसायी पनि आन्तरिक बजारले माउन्टेन फ्लाइट नधान्ने बताउँछन्।  त्यसो हो भने माउन्टेन फ्लाइट सफल बनाउन विराटनगरबाटै अन्तर्राष्ट्रिय उडान सुरु गर्नुपर्छ र भारत, बंगलादेशमा व्यापक प्रचार गर्नु आवश्यक छ।

प्रदेश सरकारको सयदिने कार्यक्रम र पर्यटन क्षेत्रको विकास प्राथमिकतामा थियो। यो माउन्टेन फ्लाइट पनि त्यहाँ समावेश छ। पर्यटन क्षेत्रको विकास प्रदेश १ को दोस्रो प्राथमिकताको विषय हो। प्रदेशको आर्थिक गतिविधिमा माउन्टेन फ्लाइट सँगैसँगै अन्य पर्यटन क्षेत्रमा हुने गतिविधिले महत्वपूर्ण भूमिका खेल्ने प्रदेशका आर्थिक मामिला मन्त्री इन्द्र आङ्बोको भनाइ छ।

माउन्टेन फ्लाइट आन्तरिक बजारलाई मात्रै चलाएर 'सक्सेस' हुँदैन, माउन्टेन फ्लाइट एकपटक अनुभव गर्ने कुरा हो। दोस्रो पटक माउन्टेन फ्लाइट गर्न कोही पनि जाँदैन। 'मार्केट' व्यवस्थापनमा निजी क्षेत्रका व्यवसायीहरू लागिरहँदा सरकारीस्तरबाट पनि त्यो सहयोग हुनु आवश्यक रहेको पर्यटन व्यवसायी बताउँछन्। पर्यटन व्यवसायीको प्रयासले मात्रै माउन्टेन फ्लाइट नियमित हुन सक्दैन। प्रदेशको विकास र समृद्धिका लागि विराटनगरबाट आन्तरिक उडानहरू थप्नुपर्छ। बाह्य उडानका लागि पनि प्रदेश सरकारले संघीय सरकारसँग निरन्तरको पहल जारी राख्नुपर्छ।

प्रदेश सरकारको गठन हुँदै गर्दा मुख्यमन्त्रीलगायतका मन्त्रीहरूले भन्ने गरेको एउटा महत्वपूर्ण कुरा हो माउन्टेन फ्लाइट। नेकपाको घोषणा पत्रमा मात्रै नभएर, प्रदेश सरकारको सयदिने कार्यक्रमदेखि सरकारको निती तथा कार्यक्रममा पनि विराटनगरबाट माउन्टेन फ्लाइट सुरु गर्ने उल्लेख छ। नेताहरूले राजनीति गर्दा विकास निर्माणको सपना देख्छौँ भन्ने गरेका छन्, यो सपनालाई पर्यटन व्यवसायीले होस्टेमा हैँसे गर्ने काम गरेका छन्।

विराटनगरबाट पोखरासँग र आन्तरिक उडानहरू भोजपुर, फाप्लु, लुक्ला, रुम्जाटार, ताप्लेजुङ लगायतसँग उडान होस् भन्ने पर्यटन व्यवसायीको चाहना छ। त्यो सँगसँगै विराटनगर विमानस्थललाई क्षेत्रीय बिमानस्थलको रूपमा विकास गरेर दिल्ली, गुहाटी र कलकत्ताको उडान यहाँबाट गर्ने हो भने प्रदेशको पर्यटन विकासमा अझै राम्रो योगदान हुनेछ।

पोखरा, जोमसोम, सोलुखुम्बुलगायतका क्षेत्र राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा चिनिएका पर्यटकीय क्षेत्र हुन्। विराटनगर वा प्रदेश १ का अन्य क्षेत्र पनि पर्यटकीय क्षेत्र हुन् भन्ने कुरा अझै आम जनमानसमा छैन। उक्त कुरा चिर्नका लागि यहाँका पर्यटन व्यवसायी र प्रदेश सरकार लाग्नु आवश्यक छ। पूर्वमा पनि माउन्ट एभरेष्टदेखि, पाथिभरा, बराहक्षेत्र, पिण्डेश्वरी, सभापोखरी, गुफापोखरी, इलामका कैयौं पर्यटकीय क्षेत्र छन्।

पर्यटनको विकासका लागि माउन्टेन फ्लाइट मात्रै पर्याप्त हुँदैन। यहाँको भौतिक पूर्वाधारको विकास पनि आवश्यक छ। भारतबाट होस् या नेपालकै कतिपय स्थानबाट प्रदेश १ आएका पर्यटक २/४ दिन घुम्न र रमाउन सक्ने वातावरण बनाउनु पनि आवश्यक छ। जुन कुराको विकास गर्ने निजी क्षेत्र मात्रै होइन स्थानीय, प्रदेश र संघीय सरकार पनि उत्तिकै लाग्नु जरुरी छ।

माउन्टेन फ्लाइटले सांस्कृतिक पर्यटनको पनि विकास हुनेछ। प्रदेश १ को पर्यटन विकासमा यसले कायापलट गर्ने व्यवसायीको भनाइ। तर, पर्यटक आउँदा बस्ने होटलको व्यवस्था हुनुपर्छ। माउन्टेन फ्लाइट गर्न आएका पर्यटक घुम्न जाने धार्मिकस्थलको विकास पनि आवश्यक छ। त्यहाँसम्म पुग्ने सडकको पूर्वाधार पनि निर्माण गर्नु आवश्यक छ। सरकारले यातायात र होटल व्यवसायको प्रवर्द्धन र विकासमा पनि ध्यान दिनुपर्ने देखिन्छ।

काठमाडौंमा हुने एयर ट्राफिकको समस्या समाधानका लागि विराटनगरबाटै अन्य विमानस्थलमा उडान गर्ने गरी प्रदेश सरकारले पहल गर्नु आवश्यक छ। विराटनगरबाट शुरु भएको माउन्टेन फ्लाइट काठमाडौंबाट हुनेभन्दा सस्तो रहेको भए पनि बाह्य पर्यटक आकर्षित नगरेसम्म यो कदम सफल हुन सक्दैन। यसतर्फ सबै लाग्नु आवश्यक छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.