|

काठमाडौं : नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) हुनुपूर्व नेपाल प्रहरीका 'आइडल' अफिसरका रूपमा चिनिएका थिए- आइजिपी सर्वेन्द्र खनाल। प्रहरी संगठनदेखि आमजनतासम्म नेपाल प्रहरीको प्रमुखमा खनाल भए प्रहरी संगठनले मुहार फर्छ भन्ने आश आमजनसमुदायमा थियो। तर अहिले समय थौरे फेरिएको छ। खनालले प्रहरी संगठनलाई असली ड्राइभ गर्न नसकेनको गुनासो बहालवाला कतिपय प्रहरी अधिकारीहरू नै बताउँछन्।  

उसो त नेपाली राजनीतिबाट प्रतक्ष प्रभावित भइरहने प्रहरी संगठनमा त्यसको दवाब नहुने भने होइन। खनाल आइजिपी हुँदा पनि नेपाल प्रहरी राजनीतिबाट अछुतो छैन। तर राजनीतिक पार्टीसमेत खनालले गरेका पहिलाका काम कारवाहीले प्रभावित नै थिए। त्यसैका कारण पनि उनलाई आइजिपी बन्न सहज भएको थियो।

खनाल वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)बाट प्रहरी नायव महानिरीक्षक (डिआइजी)मा बढुवा हुँदा पहिलो नम्बर ल्याएर बढुवा भएका डिआइजीसमेत हुन्। अथवा 'मेरिट लिस्ट'को पहिलो नम्बरका डिआइजी हुन् उनी। त्यसैको आधारमा सरकारले निशंकोच खनाललाई २०७४ चैत २८ मा प्रहरी संगठनको २६अौँ प्रहरी प्रमुख बनाएको हो।

उसो त आइजिपीका बलिया दाबेदारका रूपमा अर्का प्रहरी नायव महानिरीक्षक (डिआइजी) रमेश खरेल पनि थिए। प्रहरी जवानबाट प्रवेश गरेका खरेलले २०४६ मा प्रहरी निरीक्षकबाट खनालसँगै प्रहरी अधिकृतको रूपमा काम गरेका थिए। प्रहरी संगठनमा अत्यन्तै व्यावसायिक प्रहरी अधिकृतका रूपमा छाप राख्न पनि सफल थिए खरेल।

एपएसपी बढुवासम्म खनाललाई पछि पार्दै आएका खरेललाई डिआइजी बढुवामा भने खनालले पछि पारेका थिए। त्यो नै उनको प्रहरी करिअरको अन्तिम बढुवा रह्यो। र, प्रहरी करिअरको 'टर्निङ प्वाइन्ट'समेत बन्न पुग्यो। आइजिपीको दौडबाट बाहिरिएपछि उनले नोकरीबाट नै राजीनामा दिए। 

वर्षौं दु:ख गरेको प्रहरी संठनप्रति उनको मायाभन्दा धेरै वितृष्णा रहेको कतिपय प्रहरी अधिकारीकै मुखबाट सुनिन्छ। ‘कुनै बेला प्रहरी थिए भन्ने कुरासमेत आजभोलि खरेल सा'ब भुल्न चाहनुहुन्छ’, एक प्रहरी अधिकारीले भने।

यता, मेरिट लिस्टका आधारमा आइजिपी बनेका खनालको हालसम्मको भूमिका पनि सम्झन लायकको भने छैन। उनी आफैँले बनाएको आइजिपी हुनुपूर्वको प्रहरी अधिकृतको छविसमेत धुमिल पार्दै गएका छन्।

खनाल अपराध महाशाखाको प्रमुख हुँदा भएको गुन्‍डा नाइके कुमार घैँटेको नामबाट चिनिएका कुमार श्रेष्ठको इन्काउन्टर र फुटबलको म्याच फिक्सिङको अनुसन्धानले उनको प्रहरी करिअर निकै चर्चामा थियो। तर आज त्यो अवस्था फेरिएको कतिपय बहालवाला प्रहरी अधिकारी नै बताउँछन्। ‘आइजिपी हुनुपूर्व जसरी उहाँको चर्चा थियो, त्यो रहेन। हुनत सबै मानिसले उनीबाट धेरै आशा गरेका थिए। त्यही भएर पनि हुन सक्छ, उनीप्रति आमआशा निराशातिर गइरहेको छ’, बहालवाला एक डिआइजीले भने। 

त्यति मात्र नभएर प्रहरी संगठनभित्र असल काम गर्ने प्रहरी अधिकारीलाई समेत आइजिपीले साथ दिन नसकेको कतिपय प्रहरी अधिकारी नै बताउँछन्। ‘काम गर्ने जोश जाँगरसमेत छैन। केही काम गरेपछि त्यसका लागि संगठनले साथ दिएन भने काम गर्ने जोश कसरी आउँछ?’, एक प्रहरी अधिकारीले गुनासो गरे।

हाल आइजिपी खनालमाथि आलोचना हुने केही यस्ता छन् घटनाहरू। 

आलोचना नम्बर १

२०७४ माघ ९ गते दुबईबाट नेपाल भित्रिएको ३३ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिएर पनि हरायो। सोही प्रकरणमा मोरङ उर्लाबारीका सनम शाक्यको फागुनमा हत्या भयो। शाक्यको हत्या भएपछि ३३ किलो सुन काण्ड चर्चित सुन काण्ड बन्न पुग्यो। सरकारले गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा अनुसन्धान टोली नै गठन गर्‍यो।

उक्त अनुसन्धान टोलीले सुन तस्करी र सनम शाक्य हत्या काण्डमा उच्च प्रहरी अधिकारीको समेत संलग्नता भएको भन्दै महानगरीय अपराध महाशाखाका तत्कालीन प्रमुख एसएसपी दिवेश लोहनी, मकवानपुर प्रहरी प्रमुख एसपी विकासराज खनाल, डिएसपीद्वय प्रजित केसी, सञ्जय राउत, सई बालकृष्ण सन्जेल र जवान विष्णुबहादुर खड्कासमेतलाई पक्राउ गरेर थुनामा राख्यो।

उनीहरूलगायत पौडेलको संयोजकत्वमा गठन भएको समितिले उक्त सुन काण्डमा ६३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। उनीहरूमध्ये पक्राउ परेकाहरूलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि जेल चलान गर्‍यो। जेल चलान हुनेमा प्रहरी अधिकृतसमेत थिए। हाल उनीहरू उच्च अदालत विराटनगरको आदेशले थुनामुक्त भएका छन्।

तर सुन काण्ड र  सनम शाक्य हत्या प्रकरणमा अनुसन्धान गर्ने प्रहरी अधिकारीसमेत पक्राउ पर्दा आइजिपी खनालले केही प्रतिक्रिया नै दिएनन्। त्यही घटनाले अहिले सुन काण्डमा मुछिएका प्रहरी अधिकारीको करिअरमा भने ठूलो धब्बा लागेको छ।

यसबारे आइजिपीले केही प्रतिक्रिया नदेखाउँदा प्रहरी करिअरमा ठूलो असर परेको कतिपय प्रहरीहरू बताउँछन्। सुन काण्ड र सनम शाक्य हत्या प्रकरणमा पूर्वअतिरिक्त महानिरीक्षक राजेन्द्र भण्डारी, डिआइजीद्वय रमेश खरेल र हेमन्त मल्लले पक्राउ परेका प्रहरी अधिकारीको बचाउ गर्दै विरोधसमेत गरेका थिए। यसबारेमा आइजिपी खनालले भने समिति बनेको भन्दै केही बोल्न मानेका थिएनन्।

आलोचना नम्बर २

साउन १० गते कंचनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भयो। हत्याको विरोधमा स्थानीयले विरोध प्रदर्शन नै गरेका थिए। स्थानीयको प्रदर्शनलाई रोक्न प्रहरीले गोली नै चलाउनुपरेको थियो। प्रहरीको गोली लागेर एक जनाको मृत्युसमेत भएको थियो तर हत्या भएको पाँच महिना पुग्दासमेत हत्यारा पत्ता लगाउन नसक्दा प्रहरी संगठन नै आलोचित भएको छ।

कार्यक्रममा ३३ किलो सुन काण्डका फरार व्यक्ति ठाकुर ढुंगानालाई भेटेको समचार सार्वजनिक भएपछि उनको चौतर्फी आलोचना भएको छ। आइजीपी खनाललाई दुबई एयरपोर्टमै पुगेर ढुंगानाले स्वागतसमेत गरेको जनाइएको छ।

हत्यामा प्रहरीकै गम्भीर लापर्वाहीका कारण अपराधी पत्ता लगाउन नसकेको भन्दै प्रहरीको चौतर्फी विरोध भएको छ। हत्यामा लापर्वाही गर्ने प्रहरी अधिकारीलाई हटाउनु (त्यो पनि भविष्यमा सरकाररी सेवाका लागि अयोग्य नहुनेगरी)बाहेक अन्य प्रगति केही हुन सकेको छैन। उता, प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबीका) केही अनुसन्धान अधिकारीलाई समेत ३३ किलो सुन काण्ड जस्तै हचुवाको भरका निलम्बन गरेको भन्दै संगठनभित्रबाटै असन्तुष्टि आइरहेका छन्।

सिआइबीका प्रहरी नायव उपरीक्षक अंगुर जिसी नेतृत्वको टोलीले निर्मलाको हत्या अनुसन्धान गरेको थियो। उनको टोलीले हत्या दिलीपसिंह विष्टले गरेको भन्दै सार्वजिनक गरेको थियो। अधिकांश प्रहरी अधिकारी निर्मलाको हत्यामा विष्टकै संलग्नता भएको बताइरहेका छन्।

आलोचना नम्बर ३

तत्कालीन महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) श्यामकुमार राईलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पक्राउ गर्‍यो। उनलाई असोज २० गते साँझ कार्यालयमै सेवाग्राहीसँग घुस रकम लिँदा लिँदै पक्राउ गरेको थियो।

यसको एक महिनाअघि भदौमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगकै टोलीले महानगरीय प्रहरी प्रभाग काँडाघारीमा प्रमुखसहित नौ जना प्रहरीलाई पक्राउ गरेको थियो। उनीहरू मनोहरा खोलाको बालुवा निकाल्नका लागि ठेकेदारहरूसँग घुस लिँदै गर्दा पक्राउ परेका थिए। उपत्यकामै आइजिपीले मातहतका प्रहरी निकायलाई नियमित अनुगमन र निर्देशन दिन नसक्दा प्रहरी बदनाम हुन पुगेको कतिपय प्रहरी अधिकारीको भनाइ छ। 'नियमित अनुगमन र निर्देशन भएको भए उपत्यकामै प्रहरी यसरी घुसिया हुने थिएनन्', एक प्रहरी उच्च अधिकारीले भने। त्यस्तै, सरुवा बढुवामा समेत आइजिपीमाथि गम्भीर आरोप लाग्ने गरेको छ।

आलोचना नम्बर ४

मंसिर २ देखि ५ गतेसम्म भएको इन्टरपोलको ८७औँ महासभामा सहभागी हुन आइजिपी खनाल दुबई पुगेका थिए। दुबईमा रहँदा उनी गैरआवासीय नेपाली संघ (एनआरएन)को कार्यक्रममा समेत सहभागी भएका थिए।

सोही कार्यक्रममा ३३ किलो सुन काण्डका आरोपित व्यक्ति ठाकुर ढुंगानालाई भेटेको समचार सार्वजनिक भएपछि उनको चौतर्फी आलोचना भएको छ। आइजीपी खनाललाई दुबई एयरपोर्टमै पुगेर ढुंगानाले स्वागतसमेत गरेको जनाइएको छ।

आइजिपीको सचिवालयले भने उक्त भेट नियतबस नभई आकस्मिकता भएको र ढुंगानासँग आइजिपीको व्यक्तिगत चिनजानसमेत नरहेको जनाएको छ। तर कतिपय पूर्व प्रहरी अधिकारी भने निजी संघसंंस्थाले निमन्त्रणा गरेको कार्यक्रममा सहभागी हुँदा उपस्थित हुने मान्छेबारे केही न केही जानकारी लिँदा राम्रो हुने तर्क राख्छन्।

आलोचना नम्बर ५

भदौ २१ गते मन्त्रिपरिषद् बैठकले महाराजगंजमा रहेको प्रहरी एकेडेमी सार्ने निर्णय गर्‍यो। बैठकले महाराजगंजबाट काभ्रेको पनौती सार्ने सरकारको निर्णयप्रति पूर्व उच्च प्रहरी अधिकारीहरूले खुलेर नै असन्तुष्टि जनाएका छन्। तर निर्णय गर्नुपूर्व नै संगठन प्रमुख आइजिपीले यस निर्यणबारे कूटनीतिक पहल गर्नुपर्ने केही प्रहरी अधिकारी बताउँछन्।

'सरकार र मन्त्रिपरिषद्ले गरेको निर्णयबारे आइजिपी सा'बले खुलेर विरोध गर्न नमिल्ला तर यसबारे कूटनीतिक पहलबाट समस्या समाधान गर्न सकिने संभावना हुन्छ', एक प्रहरी अधिकारीको भनाइ छ। यसबारेमा समेत खनालको संगठनभित्रबाट नै केही आलोचना हुने गरेको छ। नेपाली सेनाको उक्साहटका कारण सरकारले प्रहरी तालिम केन्द्र सार्न लागेको उच्च प्रहरी अधिकारीहरूको गुनासो छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.