|

भक्तपुर : भक्तपुर नगरपालिकाअन्तर्गत सञ्चालित जिल्लाकै पुरानो ऐतिहासिक जनज्योती पुस्तकालयको मुहार फेरिएको छ। लामो समय भक्तपुर दरवारस्क्वायरस्थित साँघुरो कोठामा सञ्चालन भईरहेको ६८ वर्ष पुरानो पुस्तकालय नयाँ र व्यवस्थित भवनमा सरेसँगै यसको मुहार फेरिएको हो।

जनज्योती पुस्तकालयको स्थापना २००७ सालमा भएको हो। तत्कालिन राजा त्रिभुवनले घट्खामा उद्घाटन गरी सञ्चालनमा ल्याएको पुस्तकालय करिब ५ दशक दरवारस्क्वायरस्थित नपाको भवनमा सञ्चालन हुँदै आइरहेको थियो। नपाले यसको व्यवस्थित सञ्चालनका लागि–२ नःपुखु (गुह्रय पोखरी)स्थित नपाको नयाँ भवनमा गत जेठमा स्थानान्तरण गरेसँगै पुस्तकालयको मुहार फेरिएको हो। जनप्रतिनिधिहरुले काम थालेको एक वर्ष पुरा भएको अवसरमा गत जेठ ७ गते नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले नयाँ भवनमा पुस्तकालय उद्घाटन गरी सञ्चालनमा ल्याएको हो। पाठकको माग बमोजिम किताबहरु राख्ने ठाउँ र भौतिक पुर्वाधारको अभाव भएपछि गत जेठमा नयाँ भवनमा स्थानान्तरण गरेर पुस्तकालयलाई थप व्यवस्थित गरी सञ्चालनमा ल्याएको पुस्तकालयका प्रमुख भुपाल मुलले जानकारी दिए।

पुस्तकालय नःपुखमा सारेपछि पोखरीको मनोरम दृश्यसँगै शान्त र फराकिलो कोठामा बसी पुस्तक र पत्रपत्रिका पढ्न पाठकलाई एकदमै सजिलो भएको प्रमुख मुलले बताए। ‘नःपुखुको मनोरम दृश्यसँगै आधुनिक तवरबाट आरामदायी, शान्त, फराकिलो र उज्यालो कोठामा पुस्तक एवं पत्रपत्रिका पढ्न पुस्तकालयमा आउने पाठकहरु निकै सहज बनाएका छौं,’ उनले भने, ‘पुस्तकालय यता सारेपछि पहिले भन्दा संख्यात्मक रुपमा अध्ययन गर्न आउने पाठकहरुको संख्यामा समेत वृद्धि आएको छ।’

नयाँ भवनमा स्थानान्तरण गरेसँगै नपाको सहयोगमा करिव ५ लाख बराबरको पुस्तकहरु थप गरेको मुलले जानकारी दिँदै प्रमुख मुलले भने ‘नपाको आर्थिक सहयोगमा पाठकको माग अनुसार बजारमा आएका नयाँ साहित्य, राजनीतिक दर्शन, विद्यार्थीहरुका लागि आवश्यक रिफेसमेन्ट किताबहरु थपिसक्यौ। प्रत्येक वर्ष नपाकै सहयोगमा थप आवश्यक पुस्तकहरु थप्दै जाने हाम्रो लक्ष्य छ।’

पुस्तकालय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लेखक र साहित्यकारहरुका तस्बिरले थप पठनीय देखिएको छ। पुस्तकालयमा नयाँ र पुराना गरी हाल १२०० भन्दा बढी  सदस्य छन। पुस्तकालय व्यवस्थित रुपमा सञ्चालन गर्न सीसी क्यामरा समेत जडान गरिएको छ। पुस्तकालय व्यवस्थित भएसँगै पाठकलाई सजिलो हुने गरी १२ हजार भन्दा बढी पुस्तकको विद्युत्तीय दर्ता गर्ने अन्तिम तयारी भइरहेको प्रमुख मुलले बताए।

पुस्तकालयमा पढ्नका लागि राष्ट्रियस्तरका सबै दैनिक, साप्ताहिक, पाक्षिक र मासिक पत्रपत्रिकाको व्यवस्था गरिएको छ। पुस्तकालयमा नेपाली, अंग्रेजी, नेपाल र हिन्दी भाषा लगायत विभिन्न साहित्यक क्षेत्रसंग सम्बन्धित पुस्तकहरु समेत संकलनमा राखिएका छन्। पुस्तकालयमा गोरखापत्र दैनिकको २०५६ सालयताका सबै अंकहरु व्यवस्थित रुपमा अभिलेख राखिएका छन्। त्यसका साथै अन्य विभिन्न राष्ट्रिय पत्रपत्रिकाहरुको दुई दुई वर्षका अभिलेख राख्ने गरिएको छ।

बुधबारको दिनबाहेक जाडो महिनामा दैनिक बिहान ११ बजेदेखि ५ बजेसम्म र गर्मी सिजनमा ११ बजेदेखि ६ बजेसम्म खुल्ला हुने पुस्तकालय आमपाठकको सहजताका लागि शनिबार समेत खुल्ला रहने प्रमुख मुलले बताए। पुस्तकालय व्यवस्थित भएसँगै पाठकका लागि निःशुल्क इन्टरनेट सुविधादेखि अध्ययन कक्ष र शौचालयको समेत छुट्टै व्यवस्था गरिएको छ। ‘पुस्तकालयमा आधुनिक तवरले विकास गर्न वैज्ञानिक पद्धतिलाई अवलम्बन गरी पुस्तकहरु राखिएका छौं,’ मुलले भने।

पुस्तकालयमा चार जना कर्मचारीको व्यवस्था भएपनि प्राविधिक कर्मचारीको अभाव भएको मुलले बताए। ‘प्राविधिक क्षमता भएका जनशक्ति भए पुस्तकालय थप व्यवस्थित ढंगले सञ्चालनमा ल्याउन सकिनेछ उनले भने। भक्तपुरको इतिहास बोकेको यस पुस्तकालय ख्वप विश्वविद्यालयको बेसको रुपमा विकास गर्दे जानुका साथै भविष्यमा ई–लाइबेरीका रुपमा विकास गर्दै जाने नपाको लक्ष्य रहेको उनले बताए। स्थानियलाई निःशुल्क रुपमा सदस्यता दिने सार्वजनिक पुस्तकालयमा केही सदस्यहरुले पुस्तक नफर्काउँदा नयाँ अध्येताहरुले ती पुस्तक पढ्ने अवसरबाट बञ्चित बनेको उनको गुनासो छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.