|

दुनै (डोल्पा) : हिँउदे मौसम सुरु भएसँगै कर्णाली प्रदेशका डोल्पा हुम्ला, जुम्ला, मुगुलगायतका जिल्लाहरूमा चिसो बढेको छ। एक सातादेखिको मौसम बदलीपछि हुम्ला र जुम्लामा हिमपात भएको छ। गत बिहीबार राती डोल्पा र मुगुका उच्च हिमाली भेगहरूमा वर्षातसँगै हिमपात भएको थियो।

मंसिर महिना लागेपछि आकाशमा बदलीसँगै उच्च भेगहरूमा हिमपात हुन थालेपछि कर्णालीका जिल्लाहरूमा दिन प्रतिदिन चिसो बढ्दै गएको छ। दैनिकजसो चिसो बढ्न थालेपछि आजभोलि घाम प्यारो लाग्न थालेको त्रिपुरासुन्दरी नगरपालिका– १ का स्थानीय दुर्गाप्रसाद देवकोटाले बताए। दिउँसोको घामेले चिसो केही कम हुने भए तापनि बिहान बेलुकी कर्णालीबासीको दैनिकी एकदमै कष्टकर बन्न थालेको देवकोटाको भनाइ छ। त्रिपुराकोट गाउँ वारिपारिका हिमालमा भएको हिउँका कारण चिसो हावा लागिराख्ने र बिहान बेलुकीको समय डोल्पालीका लागि अत्यन्तै कष्टकर हुने गरेको उनले बताए। चिसो बढेसँगै नियमित सरसफाईमा समेत समस्या हुने गरेको डोल्पालीको भनाइ छ।

जाडो छल्न तराई

कर्णालीका डोल्पा, हुम्ला, जुम्ला, मुगुलगायतका जिल्लाहरूमा चिसो बढेसँगै सर्वसाधारणहरू जाडो छल्न तराई झर्न थालेका छन्। पुस र माघ दुई महिनाको जाडो छल्नका लागि नेपालगंज, काठमाडौँ, सुर्खेतलगायतका जिल्लाहरूमा कर्णालीबासी झर्ने गर्छन्। पुस लाग्न थालेसँगै कर्णालीका विमानस्थलहरूमा सर्वसाधारणको घुइँचो लागेको छ।

डोल्पाको जुफाल, हुम्लाको सिमीकोट, मुगुको ताल्चा लगायतका विमानस्थलहरूमा दिन प्रतिदिन सर्वसाधारणको चाप बढ्दै गएको हो। नेपालगंजको हुस्सुले कर्णालीका विभिन्न विमानस्थलमा हवाई उडान प्रभावित हुँदा दिन प्रतिदिन विमानस्थलहरूमा यात्रुहरूको चाप बढ्दै गएको हो। नेपालगंजमा लाग्ने हुस्सुका कारण उडान कम हुने र यात्रु दिन प्रतिदिन बढ्दै गएकाले टिकट वितरणमा समस्या हुने गरेको जुफाल विमानस्थलअन्तर्गत तारा एयरलाइन्समा काम गर्दै आएका लंक भण्डारीले जानकारी दिए।

हवाई जहाजबाट झर्ने यात्रुहरूको चाप बढेपछि हवाई टिकट नपाइने भन्दै अधिकांश सर्वसधारणहरू सडकमार्गबाटै गन्तव्यसम्म पुग्न थालेका छन्। प्रत्येक वर्ष यही समयमा जाडो छल्न बेँसी झर्ने सर्वसाधारणको भीड लाग्ने गरेको डोल्पाको जुफाल विमानस्थलले जनाएको छ। कर्णालीबासीको जाडो छल्न झर्ने शहरहरूमध्ये काठमाडौं प्रमुख रोजाइमा पर्ने गरेको छ। यतिखेर जाडो सिजन सुरु भएसँगै कामकाजबाट समेत फुर्सद पाइने भएकाले पनि व्यक्तिगत कामकाजदेखि लिएर राजनीतिक भेटघाट र सामान किनमेलका लागि पनि काठमाडौं धेरै जाने गरेका हुन्। जाडो छल्न तराई झरेका कर्णालीबासी फागुन महिना लागेपछि मात्रै घर फर्कने गर्छन्।

पुरुष शहरमा, महिला घर धन्दामै

हिउँदे मौसम सुरु भएसँगै कर्णालीमा बढ्ने अत्यधिक चिसोले यहाँका महिलालाई भने छुँदैन। दैनिकजसो बढ्दै जाने कठ्यांग्रिँदो चिसोमा पनि कर्णालीका महिलाहरू चुह्लो चौकोमै व्यस्त हुने गर्छन्। चिसो छल्न राजनीतिक भेटाघाटको निहुँमा पुरुषहरू तराईका जिल्लाहरूमा झर्ने भएकाले अधिकांश महिलाहरू घर कुरुवाको रूपमा पनि घरमै बस्ने गर्छन्। कर्णालीका जिल्लाहरूमा अझै पनि पुरुषवादी समाजको हावी भएका बेला पुरुषहरूले महिलाको समस्या मतलब नराख्ने स्थानीय काली चलाउनेले गुनासो गरिन्। हिमपातसँगै चिसिने कर्णालीको चिसो प्रत्येक वर्ष पुरुषको तुलनामा महिलाले खेप्ने गरेको उनको भनाइ छ। ‘पुरुषहरू सबै मंसिर लागेसँगै तराई झर्ने गर्छन्, पुस माघको बढ्दो चिसोमा घरधन्दा चलाउनेदेखि पशुवस्तु चराउने र छतमा परेको हिउँ सोहोर्ने काम पनि महिलाहरूकै हुन्छ’, चलाउनेले भनिन्।

फुर्सदिला कर्णालीबासी

कर्णालीबासीहरू बाह्रै महिना घरायसी कामकाजमा व्यस्त हुने भए पनि हिउँदको पुस र माघमा भने फुर्सदिला हुने गर्छन्। मंसिर महिनामै हिँउदेबालीको रूपमा रोपिने गहुँ, जौ, उवालगायतका अन्नबालीहरू लगाइसक्ने गर्छन्। फागुन महिनादेखि खेतीपातीको काममा व्यस्त हुने भएकाले यो दुई महिनामा अन्नबाली जोहोदेखि घाँसपात, स्याउला, सोत्तर, दाउरा जोहो गर्नतिर लाग्ने त्रिपुरा सुन्दरी नगरपालिका– १ की लक्ष्मी रोकायले बताइन्।

कर्णालीमा हिउँदमा भारी हिमपात भई चिसोले घरबाहिर निस्कनसमेत नसकिने भएकाले आगो ताप्नका लागि मंसिरमा गुइँठा, दाउराको जोहो धेरै हुने गर्छ। चिसोमा घट्ट तथा मिलहरूमा जानसमेत समस्या हुने भएकाले खाद्यान्नको समस्या नहोस् भनेर मंसिरमै धेरै परिमाणमा खाद्यान्न कुटानी पिसानी र किनमेल गर्छन्।

जाडो छल्ने खर्च बैंकबाट 

प्रत्येक वर्ष हिउँद मौसम सुरु भएसँगै कर्णालीमा अत्यधिक जाडो हुने गर्छ। जाडो याममा तराई झर्ने खर्चबर्च स्थानीय स्तरमा स्थापना भएका विभिन्न सहकारी, समूह तथा लघु वित्तहरूबाट ऋण गरेर गर्ने गरेका छन्।

जाडो समयको सुरुवातीको रूपमा रहेको मंसिर महिनामै जाडो छल्न झर्ने खर्चको जोहोका लागि स्थानीयहरू बैंक धेरै धाउने गरेको रिलायवल माइक्रो फाइनान्स डोल्पाका कर्मचारी हेमन्त बुढाले बताए। अन्य महिनाको तुलनामा यस महिना ऋण लगानी धेरै हुने गरेको उनले बताए। तराई झर्न हवाई भाडादेखि खाने खर्चका लागिसमेत ऋण लिने गरेको उनको भनाइ छ।

यतिखेर लिएको ऋण किस्ता बुझाउँदै गर्ने र बाँकी ऋणको किस्ता यार्सा सिजनमा यार्सा गुम्बा टिपेर पनि चुक्ता गर्ने शर्तमा लिने गरेका वित्तीय संस्थाहरूले जानकारी दिए।

कर्मचारी पनि फुर्सदिला 

जाडो सयममा धेरैजसो सर्वसाधारणहरू जाडो छल्न तराई झर्ने भएकाले कार्यालयहरूमा कामकाजको चाप कम हुने र कर्मचारी पनि फुर्सदिला हुने गर्छन्। अन्य महिनाको तुलनामा पुस–माघमा सेवाग्राही पनि कम आउने भएकाले कामको चाप कम हुने गरेको सरकारी कार्यालयले जनाएका छन्। यस समयमा जिल्लाका अधिकांश सरकारी तथा गैरसरकारी कार्यालयहरू कर्मचारीविहीन हुने गर्छन्।

कतिपय कार्यालयहरू सहयोगीको भरमा चल्छन्। कर्मचारीहरू जाडो छल्न तथा घुमघामका लागि तराई झर्ने भएकाले यस समयमा कार्यालयहरू कर्मचारीविहीन हुने गरेका हुन्। कर्मचारी मात्रै नभई जनप्रतिनिधिहरू समेत जाडो छल्ने वहानामा घुमघामका लागि तराईका जिल्लाहरूमा जाने गर्छन्।

उपल्लो क्षेत्रका तल्लो क्षेत्रमा, तल्लो क्षेत्रका तराईमा

कर्णालीका डोल्पा, जुम्ला, मुगु, हुम्लाको भूगोल जिल्लामै दुई क्षेत्रमा विभाजित छ। जिल्लाका उच्च भेगमा बसोबास गर्ने सर्वसाधारणहरू तल्लो क्षेत्रमा भन्दा धेरै चिसो हुने भएकाले छ महिनाको अस्थायी बसोबासका लागि पशु चौपायासहित जाडो छल्न बेँसी झर्ने गर्छन्।

आर्थिक रूपमा मजबुत भएकाहरू भने काठमाडौं, पोखरा, नेपालगंजलगायतका शहरहरूमा जाने र आर्थिक अवस्था  कमजोर सर्वसाधारणहरू चिसो कम हुने ठाउँ खोज्दै तल्लो क्षेत्रमा झर्छन्। यतिखेर उपल्लो क्षेत्रका मान्छेहरूले फुर्सदको समयको उपयोग गर्दै राडी, पाखी, झोला बनाएर बेच्ने र जिम्बु अन्नबालीहरूसँग साटासाट गरेर आय आर्जन गर्ने गर्छन्। तल्लो क्षेत्रका मान्छेहरू भने घरव्यवहार महिलाको जिम्मा दिएर तराई झर्ने गर्छन्।

सम्पूर्ण विद्यालय बन्द

कर्णालीमा दुई प्रकारको शैक्षिक सत्र लागू हुँदै आएको छ। उपल्लो डोल्पामा यस वर्षको शैक्षिक सत्र सकिएको छ। शैक्षिक सत्र सकिएसँगै उपल्लो डोल्पामा पर्ने डोल्पो बुद्ध, शे फोक्सुन्डो, छार्काताङसोङ गाउँपालिकामा पर्ने सम्पूर्ण विद्यालयहरू बन्द भइसकेका छन्। छ महिनाका लागि बन्द भएका उपल्लो डोल्पाका विद्यालयहरू बैशाखमा मात्रै खुल्ने गर्छन्। मंसिर महिनासँगै तल्लो डोल्पामा पर्ने विद्यालयहरू पनि बन्द हुने गरेका छन्।

यहाँका त्रिपुरा सुन्दरी नगरपालिका, ठूलीभेरी नगरपालिका, काइके, जगदुल्ला, मुड्केचुला गाउँपालिकामध्ये त्रिपुरा सुन्दरी नगरपालिका र काइके गाउँपालिकामा वार्षिक परीक्षा सकिएको छ। वार्षिक परीक्षा सकिएसँगै विद्यालयहरू बन्द भएका छन्।

अन्य स्थानीय तहमा भने वार्षिक परीक्षा चलिरहेको छ। परीक्षा सम्पन्न हुनेवित्तिकै नतिजा प्रकाशन गरेपछि विद्यालयहरू बन्द हुने विभिन्न स्थानीय तहले जनाएका छन्। तल्लो डोल्पाका सम्पूर्ण विद्यालयहरू पुस पहिलो साताभित्र बन्द भएर फागुन पहिलो साता खुल्ने गर्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.