|

मर्स्याङ्दी : अधिकांश यात्रीहरू सुरुङ मार्ग सुरु भयो भन्ने थाहा पाएपछि यात्रा गर्दै गरेको गाडीबाट ब्युँझन्छन्। सुरुङ मार्ग भनेपछि यात्रीहरू चासो दिन्छन् र हेर्छन्। केही यात्रीहरू सुरुङमा हिँडेर यात्रा गर्न चाहन्छन्। फोटो खिचेर आफन्तलाई पठाउने, फेसबुक र युट्युवमा अपलोड गर्ने गर्छन्। नेपालकै पहिलो सुरुङ मार्ग भएका कारण मानिसहरूमा यति धेरै चासो भएको सहजै अनुमान गर्न सकिन्छ।

पहराभित्र बनेको सडकमार्गबाट सवारी र यात्रु वारपार हुने गर्छन्। मर्स्याङ्दी गाउँपालिका- ७ स्थित साविकको भुलभुले गाविसमा सुरुङ मार्ग रहेको छ। यो सुरुङ मार्ग सडक विभागले निर्माण गरेको होइन। हालै निर्माण सम्पन्न भएको ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ए जलविद्युत आयोजनाले आफ्नो निर्माणस्थलको पहुँच मार्गका लागि उक्त सुरुङ मार्ग निर्माण गरेको थियो। परियोजना निर्माणाधीन अवस्थादेखि निर्माण सम्पन्न भएपछि पनि बेँसीशहर-चामे सडकको सवारी उक्त सुरुङ मार्ग भएर चल्ने गर्छ।

नेपालको पहिलो सुरुङ मार्गको कुल लम्बाइ ३०० मिटर रहेको छ भने सुरुङ मार्गको चौडा ४.५ मिटर रहेको छ। अहिले सुरुङ मार्ग मनाङ जाने यात्रुसहित स्थानीयबासीलाई समेत आवातजावतमा सहज बनेको छ। सुरुङ मार्गलाई सहज बनाउन मर्स्याङ्दी गाउँपालिका- ३, साविक खुदी गाविसबाट माथिल्लो मर्स्याङ्दी ए जलविद्युत आयोजनाले मर्स्याङ्दी नदीमा निर्माण भएको मोटरेवल पुल तरेपछि सुरुङको पहुँचमा पुग्न सकिन्छ।

सुरुङ मार्ग निर्माण गर्नका लागि आयोजनाले पहरा फोरेर बाटो बनाएको थियो। सुरुङ मार्गका कारण बेँसीशहर-चामे सडकमार्ग पनि केही छोटिएको छ। अहिले बेँसीशहरदेखि चामे र माथिल्लो मनाङसम्म चल्ने सवारी र पर्यटकहरू यही सुरुङ मार्ग भएर जाने गर्छन्। यसअघि बेँसीशहर-चामे सडक खण्डअन्तर्गत रहेको साविक खुदी गाविसको थाकनबेँसी हुँदै सवारी आवागमन हुने गर्थ्यो।

आफ्नो क्षेत्रमा कहिल्यै पनि नसोचेको सुरुङ मार्ग बनेपछि आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बनेको मर्स्याङ्दी गाउँपालिकाका उपप्रमुख होमबहादुर बिकले बताए। उपप्रमुख बिक भन्छन्, ‘माथिल्लो मर्स्याङ्दी ए जलविद्युत आयोजनाले आफ्नो प्रयोजनका लागि सुरुङ मार्ग बनाए पनि अवातजावतका लागि सर्वसाधारणका लागि खुला गरिएको नेपालकै पहिलो सुरुङ मार्ग हो।’

आयोजनाले भुलभुलेको पावर हाउसदेखि भुलभुलेबाट ङादीमा निर्माण गरिएको ड्यामसम्मको करिब पाँच किलोमिटर बाटो बनाउने क्रममा ३०० मिटर सुरुङ मार्ग निर्माण गरेको थियो। अहिले सुरुङ मार्गको काम पनि सम्पन्न भएको छ। सुरुङ मार्गमा २४सै घण्टा विद्युत सेवा उपलब्ध भएका कारण सुरुङ मार्ग सहज बनेको हो। यसअघि निर्माण सम्पन्न नहुँदासम्म वाकीटकीमार्फत् सवारी प्रवेश गरेको र निस्केको जानकारी विद्युतीय ट्राफिक सिग्नलमार्फत् दिइँदै आएको थियो।

सुरुङ मार्गले आवतजावतमा मात्र नभई आन्तरिक पर्यटनमा पनि टेवा पुगेको मर्स्याङ्दी गाउँपालिका- ५ का वडा अध्यक्ष लेखमान गुरुङले बताए। वडा अध्यक्ष गुरुङ भन्छन्, ‘नेपालको पहिलो सुरुङ मार्ग हाम्रै क्षेत्रमा बन्नुमा माथिल्लो मर्स्याङ्दी ए जलविद्युत परियोजना धन्यवादको पात्र बनेको छ। आन्तरिक पर्यटनको प्रवर्द्धनमा सुरुङ मार्ग, रक गार्डेन र होमस्टेले महत्त्वपूर्ण भूमिका खेलेका छन्।’ वडा अध्यक्ष गुरुङले अन्य जिल्लाका पर्यटकहरू सुरुङ मार्गसम्म पुगेर अवलोकन गरी फर्कने गरेको पनि बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.