आज मात्र होइन नेवार समुदायका अन्य शुभकार्यमा पनि नभई हुँदैन

|

भक्तपुर : मार्ग शुक्ल पूर्णिमा नेवार समुदायमा यो थिंला पुन्ही वा यःमरी पुन्हीले परिचित छ। यो दिन नेवार समुदाय चामलको पिठोमा चाकु र तिल लगायतका सामग्री राखेर बनाएको विशेष प्रकारको रोटी योमरी बनाएर खाने चलन छ। सोही रोटीको नामले यस चाडको यःमरी पुन्ही नाम रहेको बताइन्छ। 

योमरीको महत्त्व

नेवार समुदायमा योमरीको विशेष महत्त्व रहेको इतिहास तथा संस्कृतिविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठ बताउँछन्। उनका अनुसार नेवारी शब्द य: मरीको अर्थ सबैलाई मन पर्ने हुन्छ रोटी विशेषगरी जन्मदिन लगायतका विशेष शुभकार्यमा योमरी नभई नहुने पकवानमध्ये एक हो। योमरी मठ मन्दिर, मानिसको जोडा जन्मदिन जस्तो दुई वर्ष, चार वर्षको जन्मदिनको अवसरमा नभई नहुने पकवान भएको प्रा.डा श्रेष्ठले बताए। 

नेवार समुदायमा यो दिनलाई अन्नपूर्णादेवीको पूजा गर्ने दिनका रूपमा पनि मानिन्छ। योमरीको कुवेर, गणेश, लक्ष्मी, ज्यापु ज्यापुनी, ख्याः, महादेव, पार्वती लगायतको मूर्ति बनाएर अन्नको भण्डार र भकारीमा चढाउँदा अन्नले भरिपूर्ण हुन्छ भन्ने विश्वास गरिन्छ। योमरीलाई कुवेर र गणेशको प्रतीकको रूपमा लिइन्छ। पूर्णिमाका दिन अन्नका भकारी र भण्डारमा चढाएको योमरी चार दिन पछि मात्र प्रसादको रूपमा बाँडेर खाने प्रचलन छ।

कुबेरको प्रतीक योमरी बनाई धानको भकारीमा राखी पूजा गर्नाले धान कहिल्यै पनि नसकिने धार्मिक विश्वास छ। यही विश्वासमा योमरी र अन्न माग्न आउनेहरूलाई दान दिने प्रचलन रहेको श्रेष्ठ बताउँछन्। 

यो चाड बौद्धमार्गीहरूले पनि मनाउँछन्। बौद्धमार्गीले योमरीलाई चैत्यको प्रतीक मान्छनन् भने हिन्दूमार्गी नेवारहरूले सिन्हम्हुको प्रतीक भन्ने तर्क गर्छन्।

योमरी माग्ने गीत

धान्य पूर्णिमाका दिन नेवार समुदायका घर आँगनमा गएर यःमरी भाकाको लोकगित गाउँदैं यःमरी माग्ने प्रचलन समेत छ। योमरी माग्न गीत गाउने गरिन्छ।

त्य छिं त्य, बक छिं त्य
थाबले यागु सामा वलः, यः मरी छगः ति यः 
व्यूसा ल्यासे म्ह, मव्यूसा सितिकुती
न्यग व्यूसा काय् वुई, छग व्यूसा म्याय् वुई
तालापाता कुलिचां जुसें त्यः
यः मरी माकु, उकि दुने चाकु
व्यूसा ल्यासेचा, मव्यूसा बुरीचा

अर्थात् चार माना, दुई माना अट्ने भाँडामा देऊ। यो सालको बाली भित्रियो, योमरी एउटा देऊ। योमरी दिए तरुनी नदिए चाउरी बुढी, दुईटा दिए छोरा जन्मिन्छ। एउटा दिए छोरी जन्मिन्छ, जथाभावी मानापाथी भरिभरि राख, योमरी मिठो त्यसभित्र चाकु, दिए तरुनी नदिए बुढी ।

यो लोकभाका आजका नयाँ पुस्तालाई गाउन त आउँछ, तर उनीहरू यो भाका गाउँदै योमरी माग्न भने जान छाडेका छन्। युवावर्ग आधुनिक संस्कृतिमा रम्न थालेसँगै लोक संस्कृतिबाट विमुख हुँदैं जाँदा योमरी माग्न छाडेपछि यो प्रचलन लोप हुन थालेको छ। 

यसरी बनाइन्छ योमरी

योमरी नयाँ धानको चामलको पिठोबाट बनाइन्छ। चामलको पिठोलाई  घिउ हालेर तातो पानी हाल्दै मुछ्नु पर्दछ। योमरीका लागि ताइचिन धानको चामलको पिठो भए राम्रो मानिन्छ। नरम हुनेगरी मुछिएपछि हावाबाट बचाउन सफा मलमलको कपडाले छोप्नुपर्छ। हावाको प्रत्यक्ष सम्पर्क भए मुछिएको पीठो कडा हुने डर हुन्छ। पिठो कडा भएमा योमरी बनाउन कठिन हुने र योमरी फुट्ने डर हुन्छ। 

त्यसपछि पिठोको डल्लोलाई चोर औँलाले छेड्नुपर्छ।  औँला घुमाउँदै जाँदा पिठोको डल्लो पातलिँदै जान्छ।  पातलो डल्लो झण्डै शङ्खको आकारमा परिणत हुन्छ। यसरी गर्दै जाँदा  माथिल्लो भाग मन्दिरको गजुर जस्तै चुच्चो पर्दै जान्छ र तल्लो भागमा खोक्रो ठाउँ बन्छ। त्यो भागमा चाकु राखेर बन्द गरिन्छ र योमरी तयार हुन्छ। आजभोलि खुवा, मासु, गुँदपाक, मास र मुँगी राखेर पनि बनाउने चलन छ। 

योमरी तयार भएपछि एउटा भाँडोमा पानी उमाल्ने र उम्लिएको पानीको भाँडोमा पिँधमा प्वाल प्वाल भएको हाँसी (माटोको विशेष प्रकारको भाँडो) राखिन्छ। सो हाँसीमा राखेर बाफले योमरी पकाइन्छ। करिब पाँच मिनेट जति बफ्याएपछि योमरी तयार हुन्छ। अचेल मःमः पकाउने भाँडाको प्रयोग गरिन्छ। पानीको बाफले पाक्ने यो पकवान निकै स्वादिलो हुन्छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.