७१६ महासमिति सदस्यको पनि हिन्दु राष्ट्रमा ऐक्यबद्धता

|

काठमाडौं : नेपाली कांग्रेसको महासमिति बैठकमा हिन्दु राष्ट्रको मुद्दालाई पार्टीले लिएर जान सुझाव दिँदै संकलन गरिएको हस्ताक्षर पार्टी सभापति शेरबहादुर देउवालाई बुझाइएको छ। महासमिति सदस्य, पार्टी केन्द्रीय सदस्य, पूर्वकेन्द्रीय सदस्य पूर्वमन्त्रीसहति १५०४ जनाको हस्ताक्षर पार्टी सभापति देउवालाई बुझाइएको हस्ताक्षर अभियानका एक अभियान्ता डडेल्धुरा सभापति कर्णबहादुर मल्लले जानकारी दिए। 

उनकाअनुसार १७ सय बढीमा महासमितिमध्ये ७१६ महासमिति सदस्य, १२ केन्द्रीय सदस्य, ४६ जना जिल्ला सभापति र पार्टीका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्रीसहि उक्त संख्यामा संकलन भएको हस्ताक्षर बुझाइएको उनले बताए। ‘हस्ताक्षर बुझ्दै पार्टी सभापति यो विषयको सम्बोधन गर्ने बताउनुभएको छ’, उनले भने, ‘हाम्रो मतको पनि कदर हुन्छ भन्नेमा हामी पनि आशावादी छौँ।’ 

उनले यसअघि पार्टीले हिन्दु राष्ट्रको मुद्दा छाड्दै गर्दा केन्द्रीय समितिमा हिन्दु राष्ट्रको एजेन्डा उठाउन माग गर्दै प्रस्ताव दर्ज गराएकाले त्यही अभियानलाई अघि बढाएको बताए। 

तर यो महासमिति बैठकबाट भने कांग्रेसले हिन्दु धर्मको मुद्दालाई लिएर अघि बढ्न सम्भावना निकै कम छ। संविधान निर्माणको समित्व ग्रहण गर्दै आएको कांग्रेसले हिन्दु धर्मको मुद्दा लिइएर अघि बढे संविधान विरोधीको आरोप लाग्ने भएकाले कांग्रेस नेताहरू निकै सचेत छन्।

महासमिति बैठकमा प्रस्ताव राख्नका लागि केन्द्रीय समितिबाट पारित भएर आउनुपर्ने हुन्छ। तर कांग्रेस नेताहरू अहिले धर्मको विषयलाई पार्टीको एजेन्डा बनाउने पक्षमा छैनन्। ‘अहिले केपी ओलीले इसाई धर्मलाई उचाले भन्दैमा हतारमा यस्ता एजेन्डा लिएर जान हुँदैन’, कांग्रेसका एक शीर्ष नेताले भने, ‘हिन्दु धर्मको विषय लिएर पार्टी ठूलो हुँदैन। हामीले नै धर्मनिरपेक्षको संविधान बनाएका हौँ।’

हिन्दु राष्ट्रको अभियान चलाइरहेका केन्द्रीय सदस्य शंकर भण्डारीले अब धर्मको विषयले पार्टीको सर्वोच्च तहको बैठकमा प्रवेश पाइसकेकाले कुनै न कुनै बेला हिन्दु धर्मको एजेन्डा पार्टीले लिएर अघि बढ्ने बताए।

‘हामीले अहिले नै पार्टीले हिन्दु धर्मको एजेन्डा लिएर अघि बढ्छ भनेर यो अभियान चलाएका होइनौँ’, उनले भने, ‘यो अभियानले आगामी दिनमा पार्टीलाई घचघच्याउन सहज हुनेछ। कुनै दिन अभियानले सफलता पाउनेछ।’

कांग्रेसका केही शीर्ष नेता भने अहिले नै पार्टीले हिन्दुत्वको मुद्दालाई लिएर अघि नबढ्ने बताउँछन्। तर पार्टीका एक पदाधकिारीले भने सबैको विचारलाई समेट्दै अघि बढ्नुपर्ने बताए। 

‘साथीहरूले हस्ताक्षर संकलन गरेर बुझाउनु भएको छ। केन्द्रीय समिति बैठकमा राजनीति प्रतिवेदन पारित हुने बेला पनि साथीहरूले उठाउनुभएको हो’, उनले भने, ‘हामीले सबैको विचारलाई समेटर अघि बढ्नुपर्छ। बहुसंख्यक महासमिति सदस्यहरूको धारणलाई सम्मान गर्दै पर्ने हुन्छ।’

नेता अनर्जुनरसिंह केसीले भने भापतिले यो विषय महासमिति बैठकमा ल्याए मात्र छलफल हुने बताए। उनले कांग्रेसले सबै धर्मको सम्मान गर्ने बताए। ‘कांग्रेसले सबै धर्मको सम्मान गर्छ। कांग्रेस धार्मिक स्वतन्त्रताको वकालत गर्छ’, उनले भने, ‘तर हाम्रो सनातन धर्मको संक्षण गर्नुपर्छ। सनातन धर्ममाथिका हस्तक्षेप अन्त्य गर्नुपर्छ।’

पछिल्लो समय सरकारले इसाई धर्मको प्रचारलाई निकै महत्त्व दिएका कारण्ना कांग्रेसमा पनि धर्मको विषयले प्रवेश पाएको उनी बताउँछन्। कांग्रेसले अहिले नै हिन्दु धर्मको विषयलाई एजेन्डा बनाएर अघि बढ्ने सम्भावना भने निकै कम छ। केही दिनअघि पदाधिकारी र पूर्वपदाधिकारीको बेठकमा पनि यो विषयले प्रवेश पाएको थियो। विधान मस्यौदामा सहमति नजुटेका बेला महामन्त्री पूर्णबहादुर खड्काले धर्मको विषयलाई प्रवेश गरेका थिए। 

गत सोमबार बसेको कांग्रेसका शीर्ष नेताको अनौपचारिक बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले महासमितिमा विधानका विषयमा फरक मत लाने धम्की दिएपछि खड्काले यो विषय प्रवेश गराए। खड्काले भने, ‘फरक मत लान खोज्नुभएको हो। हिन्दु धर्मका पक्षमा पनि आधा महासमिति सदस्यले हस्ताक्षर गरेका छन्। त्यो फरक मतका रूपमा पेस भयो भने के गर्नुहुन्छ?’

उनले धर्मका विषयले महासमितिमा प्रवेश पाए दुर्घटना हुने बताएका थिए। दिवंगत नेता खुमबहादुर खड्काको गुटका भएका कारण उनी पनि हिन्दु धर्मको विषयमा वकालत गर्दै आएका छन्। उनको यो भनाइले कांग्रेसले अहिले नै हिन्दु धर्मको मुद्दा लिएर अघि बढ्दैन भन्ने प्रष्ट हुन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.