|

भक्तपुर : लोपोन्मुख त्य छिँ त्य सँस्कृति जोगाउन मध्यपुर थिमि ७ नगदेशमा साँस्कृतिक कार्यक्रम आयोजना गरिएको छ। शनिबार यःमरी पुन्ही तथा ज्यापु दिवसको अवसरमा नगदेशका विभिन्न टोलहरूको परिक्रमा गरी त्य छिँ त्य साँस्कृतिक कार्यक्रम गरिएकाे हो।

स्थानीय त्वा गाःबाट निकालिएको त्य छिँ त्य साँस्कृतिक कार्यक्रम सिद्धीगणेशस्थित नासः द्यको उपासना गरी शुरु गरिएको थियो। उपकार वचत तथा ऋण सहकारी संस्था लि र ज्यापु महागुथी नगदेश कचाः को संयुक्त आयाेजनामा साँस्कृतिक कार्यक्रम भएकाे हाे। नेवा संस्कृतिको जगेर्ना गर्न र यःमरी माग्ने प्रचलन लोप हुन लागेकोले नयाँ पुस्तालाई यःमरी संस्कृतिको बारेमा ज्ञान दिलाउन त्य छिँ त्य कार्यक्रम आयोजना गरिएको ज्यापु महागुथी नगदेश कचाःका अध्यक्ष दीलिपकुमार ज्यापुले बताए। उनले भने, 'नेवा संस्कृति माथि अन्य संस्कृतिले अतिक्रमण गर्ने प्रवृत्ति बढेको छ।

नेवारका नयाँ पुस्ता पनि आफ्नो मौलिक संस्कृतिमा भन्दा अन्य जात र आयातित संस्कृतिप्रति बढी रुची राख्ने प्रवृत्तिको विकास भएको अवस्थामा आफ्नो मौलिक संस्कृतिको ज्ञान दिलाउन कार्यक्रमको आयोजना गरेका हौं।' उनले त्य छिँ त्य कार्यक्रमबाट उठेको रकम फोटो पत्रकार महर्जनको उपचारको लागि सहयोग गर्ने जानकारी दिए।

उपकार वचतका व्यवस्थापक कपिल घजुले नयाँ पिँढी तिहारमा देउसी भैलो खेलेर रमाउने तर आफ्नो मौलिक यःमरी माग्ने नजाने गरेकोले उनीहरूलाई यसतर्फ अभिप्रेरित गराउन कार्यक्रम आयोजना गरेको बताए। उनले भने, 'सहकारीले वचत संकलन गर्ने र लगानी गरेर मुनाफा कमाउने कार्य मात्र गर्ने हाेइन। समाजको विविध साँस्कृतिक पक्षको संरक्षण र जगेर्ना पनि गर्नुपर्छ।'

साँस्कृतिक कार्यक्रममा मध्यपुर थिमिको क्रियटिभ लनर्स एकेडेमी, विनायक शिक्षा निकेतन, कीर्तिपुरको साँस्कृतिक समूहलगायतको सहभागिता रहेको थियो। सो अवसरमा क्रियटिभ लनर्सका प्रसना श्रेष्ठ, स्मृति श्रेष्ठ, मुना खत्री, समृद्धि दली श्रेष्ठ, प्रशंसा राई, आयुषा श्रेष्ठ, संगिता श्रेष्ठ र कृशल गिरीको समूहले नेवा लाखे नाच प्रस्तुत गरेका थिए। त्यसैगरी विनायकका रुक्सा श्रेष्ठ, क्रिसा श्रेष्ठ, क्रिती श्रेष्ठ, इशा मानन्धर, प्रनिशा प्रजापति, रसना प्रजापति, स्वस्तिका प्रजापति, सिचु प्रजापति, लिसा प्रजापति, सजी चक्रधर, विविका श्रेष्ठ र सोनी भासिमाको समूहले यःमरी पुन्ही, त्य छिँ त्य बोलको गितमा नृत्य प्रदर्शन गरेका थिए। त्यस्तै फोटो पत्रकार आशाकाजी महर्जनको मृगौलाको उपचारका लागि सहयोग जुटाउँदै हिँडेको कीर्तिपुरको समूहका इन्दु शाही र सोमिकाले सुना जित धाः वई, छि भाजु झाइला धकाः, सिमा कचा बोलको गीतमा नृत्य प्रस्तुत गरेका थिए।


 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.