|

भक्तपुर : दुर्गम जिल्लाका सामुदायिक विद्यालयहरूमा विद्यार्थी संख्या शून्य रहेको खबर त सुन्नुभएकै होला! सुगम जिल्ला त्यो पनि केन्द्रीय राजधानी काठमाडौं उपत्यकासँगै जोडिएको भक्तपुरका सामुदायिक विद्यालयमा समेत विद्यार्थी संख्या शून्य छ भन्दा तपाईंलाई अचम्म लाग्ला। तर, वास्तविकता यही हो, त्यो पनि एक विद्यालय होइन ६ विद्यालयमा।

भक्तपुरको चाँगुनारायण नगरपालिकाभित्रका ६ सामुदायिक विद्यालयमा विद्यार्थी संख्या शून्य रहेको छ। नगरपालिका क्षेत्रभित्रका ३९ सामुदायिक विद्यालयहरूमध्ये ६ विद्यालयमा भने विद्यार्थी नै छैनन्। १४ वटा मावि रहेको सो नगरपालिकाका विभिन्न स्थानमा रहेका ६ आधारभूत विद्यालय विगत केही वर्षदेखि विद्यार्थी शून्य रहेको छ। विद्यार्थी शून्य रहेका विद्यालयहरूमा न्याचोपौवा आधारभूत विद्यालय (आवि), पञ्चकन्या आवि, बालभक्त आवि, चाँगुनारायण आवि, चेतना आवि र कृष्ण आवि रहेका छन्।

विद्यार्थी संख्या शून्य रहेका विद्यालयहरूमा शिक्षक दरबन्दी भने यथावत रहेको छ। ती विद्यालयका केही शिक्षक अन्य विद्यालयमा काजमा काम गरिरहेका छन् भने केही भने हाजिर गरेरै तलब खाइरहेका छन्। केहीले खेताला शिक्षक राखेका छन्। विद्यार्थी शून्य रहेको न्याचोपौवा आविमा तीन शिक्षक छन्। तीमध्ये प्रधानाध्यापक रामराजा बुढाथोकी सोही विद्यालय कुरिरहेका छन् भने शिक्षक बद्री भडेल, चाँगु मावि स्रोत केन्द्रमा काजमा छन्। शिक्षक कृष्णबहादुर थापा भने काजमा नगरपालिकाको नक्सा शाखामा कार्यरत छन्।

त्यस्तै चाँगुनारायण-५ छालिङको पञ्चकन्या आधारभूत विद्यालयका शिक्षक इन्द्रबहादुर थापा राधाकृष्ण आधारभूत विद्यालयमा काजमा छन्। शिक्षक तोयानाथ ढुंगाना कालिका माविमा काजमा छन्। शिक्षक सुदर्शन लामिछाने र जानुका पौडेल त्यही विद्यालयमा छन्। उनीहरू विद्यार्थीविहीन विद्यालय जाने, स्कुल खोल्ने गरिरहेको नगरपालिकाको शिक्षा शाखाका माधव पोखरेलले बताए।

वडा नं. ४ स्थित बालभक्त आधारभूत विद्यालयमा तीन जना दरबन्दी र १ राहत शिक्षक दरबन्दी रहेको सो विद्यालयका  शिक्षकहरू आउने, हाजिर गरेर फर्किने गरेको शिक्षा शाखाले जनाएको छ। सो विद्यालयमा कक्षा २ मा २ जना र इसिडीमा ४ विद्यार्थी रहेको अनुगमनका क्रममा फेला परेको नगर शिक्षा शाखाले दाबी गरे पनि विद्यालयमा विद्यार्थी शून्य रहेको स्थानीयको भनाइ छ। सो विद्यालयमा दरबन्दीमा रहेका शिक्षक शंकरप्रसाद गेलाल आजाद माविमा काजमा छन् भने शिक्षकहरू श्याम बानियाँ, विश्वप्रसाद पोखरेल र हरिबहादुर तामाङ सोही विद्यालयमा छन्।

यता, सोही वडाको चाँगुनारायण आधारभूत विद्यालयमा पनि ४ जना दरबन्दी छ। सो विद्यालयका प्रधानाध्यापक दीपक थापा विद्यालय नआएको महिनौँ भइसक्यो तर पनि तलब भने नियमित बुझ्दै आएका छन्। अन्य शिक्षकहरू प्रभाकर खनाल, जयराम आचार्य र गीता दाहाल फुर्सदिला भएका छन्। विद्यार्थी शून्य रहेको नगरकोटको चेतना आधारभूत विद्यालयमा दुई जना शिक्षक छन्। शिक्षकहरू सानुमाया थिब र राजकुमार फुँयालले विद्यार्थी बढाउन नगरपालिकामा कार्ययोजना प्रस्तुत गरे पनि त्यसले प्रभाव पार्न सकेको छैन।

नगरपालिकाको वडा नं. ८ सुडालस्थित कृष्ण आधारभूत विद्यालयमा पनि तीन दरबन्दी छन्। शिक्षकहरू अर्जुनबहादुर काफ्ले, श्यामबहादुर लिगल, कृष्णबहादुर कार्की विद्यालयमा नियमित आउने नगरेको अनुगमनको क्रममा फेला परेको नगर शिक्षा शाखाका अधिकारी बताउँछन्। ती अधिकारीले सो विद्यालयमा शिक्षकहरूले खेताला शिक्षक राखेको पनि बताए।

नगरपालिकाले हालै तयार गरेको शिक्षा ऐन र नियमावलीमा एउटा कक्षामा कम्तीमा पनि ५० विद्यार्थी हुनुपर्ने उल्लेख छ। नगरपालिकाको शिक्षा ऐन र नियमावली २०७४ को परिच्छेद ८ मा विद्यार्थी संख्याको विषय समावेश गरिएको छ। सो परिच्छेदमा ‘सामुदायिक विद्यालयको प्रत्येक कक्षामा विद्यार्थी संख्या सामान्यतया पचास जना हुनुपर्नेछ’ भन्ने उल्लेख छ। माध्यमिक तहसम्मको शिक्षाको अधिकार नगरपालिका मातहतमा आए पनि नगरपालिकाले एकदुई शिक्षकलाई यताउति गर्नुबाहेक अरु कुनै काम गर्न सकेको छैन।

नपाका प्रमुख प्रशासकिय अधिकृत चिरञ्जीवि तिमिल्सिनाले विद्यार्थी शून्य रहेका विद्यालय समुदायलाई सञ्चालन गर्न आव्हान गरेकोमा दुई वटा सञ्चालनका लागि समुदायले आवेदन दिएको जानकारी दिए। उनले भने, ‘६ मध्ये २ वटा समुदायले सञ्चालन गर्न आवेदन परेको छ। ती दुई वटा समुदायलाई हस्तान्तरण गर्ने र बाँकी अन्य विद्यालयमा मर्ज गर्ने तयारी भइरहेको छ।’ उनले विद्यार्थी शून्य रहेका विद्यालयका शिक्षकहरूलाई विद्यार्थी संख्याका आधारमा अन्य विद्यालयमा समायोजन गर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.