|

काठमाडौं : भारतीय धर्म गुरुहरूमाथि विभिन्न जघन्य अपराधका मुद्दा लाग्नु नौलो हुन छाडेको छ। विभिन्न समयमा धर्म र आश्रमको नाममा बालबालिकामाथि बलात्कार र हत्या गरेको अभियोगका समाचार सार्वजनिक भइ नै रहन्छन्।

कतिपय भारतीय धर्म गुरुहरू अपराध प्रमाणित भएर जेल चलानसमेत भएका छन्। सन् २०१८ मा नाबालिका बलात्कार काण्डमा भारतीय धर्म गुरु आशारामलाई जोधपुर अदालतले दोषी ठहर गर्दै आजीवन काराबासको सजाय सुनाएको थियो।

७७ वर्षीय धर्म गुरु आशाराममाथि सन् २०१३ मा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेको थियो। ती किशोरीका आमाबुबा आशारामका भक्त थिए। एक दिन विद्यालयमा ती किशोरी लडेपछि आश्रमका केही व्यक्तिको सल्लाहमा आमाबुबाले उपचारका लागि जोधपुरमा रहेको आशारामको आश्रममा पुर्‍याएका थिए। उनी तिनै धर्म गुरुबाट बलात्कृत भएकी थिइन्।

त्यस्तै, भारत चण्डीगढका धर्मगुरु रामरहिम सिंहमाथि समेत आफ्ना दुई अनुयायीलाई बलात्कार गरेको अभियोग लाग्यो। ‘डेरा सच सौदा’ सम्प्रदायका उनी नेतासमेत थिए। ‘डेरा सच सौदा’माथि अनुसन्धान गरिरहेका एक जना पत्रकारको हत्या भएपछि उनको आश्रममाथि छानबिन सुरु भएको थियो।

सन् २०१७ मा भारतीय संचार माध्यमहरूले यसबारे लेखेका थिए। धर्म गुरु रामरहिमको गोप्यपत्र सार्वजनिक हुनुमा ती पत्रकारको भूमिका थियो। सोही कारण धर्म गुरु रामरहिमले ती पत्रकारको हत्या गरेको अभियोग भारतीय केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई)ले लगाएको थियो।

सोही अनुसन्धानका आधारमा उनको हरियाणास्थित आश्रममा प्रहरीले छापासमेत मारेको थियो। पछि हरियाणा उच्चअदालतले रामरहिमबाट पीडित बनेका महिलाहरूको आरोपको आधारमा फैसला गर्दै रामरहिम सिंहलाई अनुयायीलाई बलात्कार गरेको अभियोगमा १० वर्ष जेल सजाय तोकेको थियो।

हाल उनी हरियाणामा रहेको जेलमा काराबास भुक्तान गरिरहेका छन्।

तर धर्म गुरुमाथि लाग्ने बलात्कार र हत्या अभियोग अब भारतमा मात्र सीमित रहेन। नेपालका धर्म गुरुमाथिसमेत बलात्कार र हत्या जस्ता जघन्य अपराधका मुद्दा लाग्न थालेका छन्।

नेपालका धर्म गुरु रामबहादुर बम्जनको बोधी श्रवण धर्मशालाबाट केही अनुयायी हराएको सूचना संचार माध्यमबाट सार्वजिनक भएको छ। उनीमाथि अनुयायीलाई बन्धक बनाउनेदेखि कुटपिट र अनुयायीमाथि बलात्कार गरेको आरोप लागेको छ। 

हेटौँडास्थित प्रहरी कार्यालयमा फूलमाया रुम्बा, कर्म वाइवालगायतका अनुयायी बम्जनको आश्रमबाटै हराएको भनेर उनीहरूका आफन्तले प्रहरीमा उजुरीसमेत दिएका छन्। उजुरीका आधारमा प्रहरीले हाल बम्जनमाथि अनुसन्धानसमेत सुरु गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले बम्जनको आश्रममा शुक्रबारदेखि अनुसन्धान सुरु गरेको हो। अनुसन्धानका क्रममा आश्रमभित्र केही शंकास्पद वस्तुसमेत फेलापरेको सिआइबीले जनाएको छ। तर शंकास्पद वस्तु के हो भन्नेबारे प्रहरी अझै मौन छ ।

सिन्धुपाल्चोकको घना जंगलमा बम्जनको ८८ रोपनी क्षेत्रफलमा आश्रम रहेको छ। उनको आश्रममा सर्वसाधारणलाई अनुमतिविना प्रवेशमा रोक लगाइएको छ। उनका अन्य आश्रममा समेत अनुसन्धान गरिने प्रहरीले जनाएको छ। 

को हुन् बम्जन?

२०४६ सालमा बारा जिल्लाको रतनपुरमा जन्मिएका हुन्, रामबहादुर बम्जन। बम्जनका पाँच दाजुभाइ रहेका छन्। उनी पाँच दाजुभाइमध्ये साहिँला हुन्।

२०६१/०६२ सालतिर बम्जन बाराकै एक वनमा निराहार तपस्या बसेको भनेर चर्चामा आएका थिए। बम्जनलाई बुद्धको नयाँ अवतारको रुपमा समेत हेरिएको थियो। १६ वर्षको कलिलो उमेरमा अलौकिक तपस्वी भन्दै उनको चर्चा चुलिएको थियो।

एकान्त वनमा सेतो रङको पातलो कपडा लगाएका र आँखा बन्द गरेर स्थिर रहेको उनको तस्बीर सार्वजनिक भएपछि नेपालमा मात्र होइन, देशबाहिरसमेत उनको चर्चा सुरु भएको थियो। उनमा असाधारण शक्ति प्रकट भएको उनका आफन्त बताउने गर्थे। 

चर्चाको शिखरमा रहेका उनलाई हेर्न नेपालका भक्तजन मात्र होइन, अन्य देशका नागरिकसमेत आउन थालेका थिए। हालसम्म उनलाई बुद्धको अवतारको रूपमा हेरिँदै आएको छ।

कहाँकहाँ छन् आश्रम?

बाराको एक वनबाट तपस्या सुरु गरेका बम्जनले पछिल्लो समय मुलुकका विभिन्न ठाउँमा आश्रम बनाउँदै आफ्नो बासस्थान बनाउन सफल भएका छन्। बाराबाहेक बम्जनका आश्रम सिन्धुपाल्चोक, लमजुङ र मकवानपुर जिल्लामा समेत रहेको प्रहरीको भनाइ छ।

हाल उनी कुन आश्रममा बस्छन् भन्नेसम्म जानकारी छैन। प्रहरी प्रधान कार्यालयका अनुसार बम्जनका विभिन्न आश्रममा सिआइबीलगायत सम्बन्धित जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरिरहेका छन्। 

उनीमाथि लागेको आरोपको अनुसन्धान गर्न आवश्यक परे प्रहरीले विपत व्यवस्थापनमा प्रयोग गरिने कुकुरसमेत परिचालन गरिने जनाएको छ। विपत व्यवस्थापनमा प्रयोग हुने कुकुरले आश्रमभित्र कसैको हत्यापछि शव पुरीएको छ भने पत्ता लगाउन सहयोग गर्ने गर्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.