राजतन्त्र फर्काउने सपनामा मुख नमिठ्याए हुन्छ

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक समृद्धिको दिशामा अगाडि बढिसकेको भन्दै अब त्यसबाट पछाडि फर्किन नसक्ने बताएका छन्। २९७ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका सन्दर्भमा आयोजित प्रवचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले मुलुक अब पछाडि फर्किन नसक्ने बताए।

नेपाल प्रज्ञाप्रतिष्ठान, नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान, सांस्कृतिक संस्थानले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले केहीले आफूलाई आँकडामा खेलेको भनेर आरोप लगाएको भन्दै आफूलाई आँकडामा खेल्न कुनै शोख नभएको बताए। 'केहीले मलाई आँकडामा खेल्यो भने, मलाई आँकडामा खेल्ने कुनै शोख छैन। आँकडामा खेलेर कहीँ पुगिँदैन', प्रधानमन्त्री ओलीले भने, 'आँकडामा परिवर्तन गर्नुपर्छ। उपलब्धिले आँकडा परिवर्तन गरेर प्रस्तुत गर्ने हो।' प्रधानमन्त्रीले काम गरेर आँकडा परिवर्तन गर्ने बताए।
अहिले मन्त्रिपरिषदमा कानुन बनाउने काम भइरहेको भन्दै प्रधानमन्त्री ओलीले कानुन जस्तो कुरा ध्यान दिएर पास गर्नुपर्ने भएकोले हेलचेक्रयाइँ गर्नु पनि नहुने बताए।
राजतन्त्र फर्काउने सपनामा मुख नमिठ्याए हुन्छ

अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले मान्छेहरूका बीचमा जन्मसिद्ध श्रेष्ठ भन्ने कुरा पाखण्डी कुरा भएको भन्दै अहिलेको युगमा जन्मसिद्ध श्रेष्ठ भन्ने कुरा सम्भव नभएको बताए। आफूले ज्ञानेन्द्रलाई भेट्दा ज्ञानेन्द्रले मेरो पुर्खाले आर्ज्याको मुलुक भनेर रिसाएको उनले बताए। 'मैले त्यसो भनेर सत्तामा रहिरहन त्यो उचित हुँदैन। इतिहास भजाएर अहिलेको ‍औचित्यता पुष्टि हुँदैन। उहाँ(ज्ञानेन्द्र)को अलिकति रिसाउने बानी रैछ रिसाउनुभयो', उनले भनेको 'अमेरिका, युरोप पनि कसै न कसैले त एकीकरण गरेको होला उनीहरूले त अहिलेसम्म मेरो पुर्खाले खाइरहेका छैनन् त। यति सानो देशमा अझै मेरा पुर्खाले आर्ज्याको मुलुक भनिरहने भनेर भने।'
माघ १९ ले अब राजतन्त्र समाप्तिको दिशातर्फ गएको स्मरण गर्दै प्रधानमन्त्रीले अब कसैले राजतन्त्र फर्किन्छ भनेर त्यसरी सोच्न नहुने बताए। उनले कुनै पनि बलले राजतन्त्र फर्कन नसक्ने बताए। 'कुनै पनि बलले राजतन्त्र फर्किंदैन।आज राजतन्त्र पुनःस्थापनाको सपना देखेर मुख मिठ्याउनेहरू चुप लागेर बसे हुन्छ', उनले भने, 'राजतन्त्रको सपना देख्नेहरू प्रतिगामी मात्रै हुन्।
अब विष्णुको अवतार भनेर ढाँटेर खाने जमाना गयो। त्यसकारण, उसकारण, यसकारण भन्ने कुनै बहाना छैन। राजतन्त्र फर्किंदैन।' यसैगरी कार्यक्रममा प्रधानमन्त्री ओलीले केहीले बजार हल्ला मात्रै गर्ने गरेको बताए। त्यसैगरी मदिराको हल्ला चलाइएको उनले बताए। 'हल्ला गर्नेहरू धेरै छन्। अहिले मदिरा हल्ला चलेको छ। मदिरासम्बन्धी कुनै निर्णय पनि भएको छैन। केही निर्देशन पनि भएको छैन अलिक व्यवस्थित गर्नुपर्छ कि भनेका हौँ', प्रधानमन्त्री ओलीले भने। 

नेपाली राष्ट्रियताको केही विशेष अर्थ रहेको भन्दै प्रधानमन्त्री ओलीले यो राष्ट्रियता स्वतन्त्र र स्वाधीन राष्ट्रियता भएको बताए। दुनियाँका १९३ राष्ट्रमध्ये केही केही राष्ट्र औपनिवेश उपनिपेश भए पनि नेपाललगायत केही थोरै देश मात्र स्वाधीन राष्ट्रको रूपमा उभिएको बताए। उनले उत्तरमा चीन, दक्षिणमा भारत औपनिवेशिक हुँदा पनि नेपाल स्वाधीन रहन सफल भएको भन्दै यसको धेरै अर्थ रहेको बताए। 

नेपाल एकीकरणका नेतृत्वकर्ता पृथ्वीनारायणले चार वर्ण छत्तीस जातको फूलबारी भनेपछि कोही तल्लो कोही माथिल्लो, केही विष्णुका अवतार कोही यत्तिकै जन्मिएका, कोही सूर्यवंशी चन्द्रवंशी कोही किराफट्याङ्ग्रा जस्तो असमान व्यवहार गरेका कारण केही समय पहिले नेपाली जनतालाई भड्काउन सक्ने अवस्था रहे पनि अहिले त्यस्तो नरहेको उनले बताए।

सांस्कृतिक रूपमा भिन्न धारणा भिन्न मत हुन्छ भए पनि त्यसलाई सहज रूपमा लिने भन्दै उनले विविधतालाई सम्पत्ति मान्ने हाम्रो मान्यता रहेको दाबी गरे। 'समान सुरक्षा, समान अधिकार, समान अवसरको सिर्जना र कार्यान्वयन गरेपछि अब हामीलाई कसैले भड्काउन सक्दैन', प्रधानमन्त्री ओलीले भने, 'स्वाधीन, विविधतायुक्त जुन हाम्रो राष्ट्रिय मान्यता थियो त्यो अब मूर्तरूपले अगाडि बढेको छ। सार्वभौम समानताका आधारमा हामी सबैलाई समानता कायम गर्छौं।'

छिमेकी बीचमा कार्ड खेल्नुहुँदैन

नेपाली राष्ट्रियताको प्रश्न नयाँ उचाइमा ल्याएको भन्दै उनले छोटो समय मात्रै स्वतन्त्रताको उपभोग गर्न पाएको भए पनि पछिल्लो समय खासगरी सुगौली सन्धिपछि हामी असमानताको सिकार भएको स्मरण गरे। सार्वभौम राष्ट्रको हैसियतमा नेपाल रहेको भन्दै उनले कसैले हेप्ने र चेप्ने काम गर्न नपाइने बताए। त्यसअनुसार विदेशीसँगको सम्बन्ध राख्ने उनले बताए। 'हाम्रो राष्ट्रियता कसैसँग शेखी गर्ने होइन। तर, हामी हाम्रो राष्ट्रिय हित, सार्वभौम स्वतन्त्रता, राष्ट्रिय हितलाई धक्का दिन दिँदैनौ', प्रधानमन्त्री ओलीले भने, 'यसको अर्थ अरू कसैको राष्ट्रियतालाई धक्का दिन्छौँ भनेको होइन। हाम्रा छिमेकीका बीचमा कार्ड खेल्नुहुँदैन। यता, गयो यताका कुरा उता लाउने, उताका कुरा यता लाउने कार्ड खेल्नुहुँदैन।' उनीहरूका बीचमा असमझदारी भएमा घटाउने हिसाबले भूमिका खेल्नुपर्ने उनले बताए।

नेपाली राष्ट्रियता एकअर्काको पक्षमा उभिने, न्यायका पक्षमा उभिने भएको भन्दै उनले नेपाली राष्ट्रियता राष्ट्रिय हित हेर्नुपर्छ, न्यायोचित हुनुपर्छ, अन्तर्राष्ट्रिय उत्तरदायित्व हेर्नुपर्छ भन्ने रहेको बताए। विश्वशान्तिको पक्षको राष्ट्रियता नेपाली पहिचान भएको उनको भनाइ थियो। 'शान्ति मान्छेको सर्वोत्तम आकांक्षा र सर्वोत्तम बाटो भएको उनले बताए। केही तनाव भएमा हतियारका माध्यमबाट नभएर शान्तिपूर्ण ढंगले संवादका माध्यमबाट समाधान खोजिनुपर्ने उनको भनाइ थियो', उनले भने।
कार्यक्रममा बटुकहरूले स्वस्तिवाचन तथा नेपालजननीं वन्दे संस्कृत पद्यको स्वर गायन गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.