|

जाजरकोट (त्रिवेणी)  ः दश वर्षदेखि रुकुमको आठविसकोट राडी बजारमा पसल गर्दै आएका परिमल थापा अहिले डोल्पाको त्रिवेणीमा पसल थापेर दैनिक व्यवसाय गर्दै आएका छन्। थापा त्रिवेणीमा आएको दुईमहिना मात्र भएको बताए। राडीबजार भन्दा धेरै व्यापार हुने गरेको थापाको भनाइ छ। 

थापा जस्तै जाजरकोट सक्ला सुवाकोटका कृष्णबहादुर थापाले खदाङमा होटल सञ्चालन गर्न लागेको करिब तीन महिना भयो। पहिले रुकुमको चौरजहारीमा होटल सञ्चालन गरेका कृष्णले खदाङमा होटल गर्दा राम्रो फाइदा भएको बताए। जाजरकोट, रुकुम र डोल्पाको संगमस्थलका रूपमा रहेको त्रिवेणीमा अहिले दर्जनौं पसल सञ्चालनमा छन्। होटल सञ्चालन गर्नेको संख्या पनि कम छैन।

चारमहिना अघि दशजना ग्राहक सुताउन र खुवाउन मुस्किल पर्ने त्रिवेणीका होटलहरू अहिले एकैपटक १०० जनालाई सेवा दिन सक्ने अवस्थामा पुगेका छन्।जाजरकोट-डोल्पा सडक खण्डको मुटुमा पर्ने त्रिवेणीबजार अहिले तीनै जिल्लाको सम्पर्क स्थानका रुपमा स्थापित भएको छ। जाजरकोट, रुकुम र डोल्पाबाट आएका सवारी साधनहरू एकै पटक रोकिने र ठूलो मात्रामा व्यापार समेत हुने गरेको छ त्रिवेणीमा। जाजरकोट नलगाड नगरपालिकाको तल्लुबगर पहिले पिउने पानी नपाउँदा गाउँमा मात्र बस्ने यहाँका स्थानीय अहिले सडकसँग जोडिएपछि तल्लुबगर जाजरकोट र रुकुमको व्यापारिक केन्द्रको रुपमा उदाएको छ।

दैनिक दर्जन जिप र ट्याक्टरहरू सञ्चालनमा आउन थालेपछि, पिठ्यूमा बोकेर जाजरकोटबाट डोल्पामा खाद्यान्न बिक्री गर्न लिने यहाँका स्थानीय अहिले यातायातका साधनमा लिन थालिएका छन्। नेपाली सेनाले सडक निर्माण कार्य तीव्र रुपमा अगाडि बढाएसँंगै जाजरकोट, रुकुम र डोल्पाको जनजीवन सुगमता तिर गएको छ।आफूले उत्पादन गरेका वस्तु गाउँमै विकामे हुने अवस्था नभएको नलगाड नगरपालिका १३ का नरेन्द्र शाहीले बताए। अहिले डोल्पामा उत्पादन हुने सिमी, दाँतेओखर, जडीवुटी सजिलै जाजरकोट र रुकुम आउने गर्दछ।

जाजरकोटमा उत्पादन हुने खाद्यवस्तु सजिलै डोल्पामा लिएर बिक्री हुने गरेको छ। छ महिनाअगाडि जस्तै बजार नपाउँदा उत्पादन खेर गयो भनी चिन्ता मान्नुपर्ने अवस्था नरहेको रुकुम गोतामकोटका नन्दलाल थापाले बताए। यातायात सञ्चालन भएपछि हरेक कुरा सहज हुँदोरहेछ, घर आँगनमा व्यापार बढ्नुका साथै व्यापारिक चेतनाको बिकास भएको थापाको भनाइ छ। दैनिक सामग्री ढुवानी गर्न जाँदा मात्र दैनिक हजार रुपैयाँ कमाइ हुने उनको भनाइ छ।

अहिले त्रिवेणी, खदाङ, त्रिपुराकोट, जुफाल, दुनैमा भारी मात्रामा व्यापार बढेको छ। व्यापार बढेसँगै दैनिक उपभोग्य सामग्रीसमेत सस्तोमा पाइने गरेको मुट्कोचुला गाउँपालिका ३ का कालीबहादुर शाहीले बताए। भौतिक संरचना निर्माण गर्नका लागि बिभिन्न सामग्री लिन समेत सजिलो हुँदा विकासका काममा तीव्रता पाएको छ। यातायातको पहुँच नहुँदा जहाजबाट सामग्री लिँदा सामग्रीको मूल्य भन्दा जहाजको कार्गाे गरेको भाडा बढी लाग्दा मूल्य चर्को हुने गर्दथ्यो। 

अहिले औषधि, खाद्यान्न, आयोडिनयुक्त नुन, नेपाल खाद्य संस्थानको चामल, मासुका लागि च्याङग्रा, भेडा लिन समेत सजिलो भएको छ। टेलिफोनका टावरहरू गाउँ, गाउँमा विस्तार गर्न समेत सजिलो भएको नेपाल टेलिकम डोल्पाले जनाएको छ। अहिले केन्द्रीय विद्युत प्रशारण लाइन विस्तारका लागि काम समेत सुरु भएको ३३ केभी विद्युत प्रशारण केन्द्र जाजरकोटले जनाएको छ। यातायात पुगेसँगै घोडा, खच्चड गाउँ, गाउँमा केन्द्रीत भएको घोडा, खच्चड व्यावसायी कंशबहादुर ओलीले बताए। 

नुन लिन नेपालगन्ज, जाजरकोट आउँदा १ महिनादेखि ३ महिनासम्म लाग्ने गरेको पीडा सुनाउँदै त्रिपुरा सुन्दरी नगरपालिका ९ सुँका दरिमान पहाडीले भने, 'हाम्रो पालामा ओडारमा पिठो लुकाएर नुन, तेल र खाद्यान्न ल्याउन जाने गरिन्थ्यो। इष्टऔ, आउँदा बास बस्ने ठाउँमा सोही ओडारमा राखेको पिठो निकालेर खाने गर्थ्यौ।कहिले मुसाले, अन्य जनावरले पिठो खाँदा भोकै बस्नुपर्ने बाध्यता आइलाग्थ्यो। आजभोलि घरनजिकै गाडी गुड्छन् भाग्यमानी जुनी रहेछ। छोरा, छोरी, बुहारी, नाति र नतिनाको।' 

अहिले दुनैसम्म यातायातका साधन सञ्चालनमा छन्। ठाउँ, ठाउँमा पुल लाग्न बाँकी भए पनि सडकको स्तरोन्नतिसँगै त्यो काम पनि अगाडि बढ्ने डोल्पाकी सांसद सत्य पहाडीले बताइन्। सडक निर्माण र स्तरोन्नतिको धेरै काम बाँकी रहेकाले सेना दिनरात काममा लागेको जाजरकोट-डोल्पा सडक निर्माण कार्य दलका प्रमुख विश्वबन्धु पहाडीले भने, 'लामो संघर्षपछि डोल्पाको दुनैमा सेनाले बाटो पुर्‍याएको छ। जनता, राजनीतिक दल, जिम्मेवारी निकायको सहयोग र सहकार्यका कारण हामीले दुनैसम्म सडक लिएका छौं। आशा छ अझै काम गर्न बाँकी नै छ। हामी निरन्तर काममै छौं।' 

नुनदेखि सुनसम्म गाउँघरमै पाइन थालेपछि डोल्पालीमा उत्साह थपिएको छ। अब माथिल्लो डोल्पामा सडक निर्माणमा जोड दिई नेपाल, भारत र चीनको त्रिदेशीय नाकाको रूपमा यो सडकलाई विस्तार गर्न सके जाजरकोट, रुकुम र डोल्पा जिल्लालाई, सबैभन्दा बढी फाइदा हुनेछ। डोल्पाका स्थानीय सरकारले सडक पुगेसँगै काममा तीव्रता दिन थालेका छन्। नेपाल खाद्य संस्थान डोल्पाले खाद्यान्न बिक्री गर्न भारी मात्रामा मूल्य घटाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.