सगुने बुढासँग सडकपेटी व्यापार वार्ता

|

  • अतीन आचार्य

काठमाडौं : बबरमहलको सडक पेटीमा स्वीटर बुन्दै गरेका सगुने बुढा उमेरले ७० कटे। दयनीय आर्थिक अवस्थाले जीवनको उतरार्द्धमा पनि उनी व्यापारका शिलशिलामा कहिले भारतका भिन्नभिन्न ठूला ठूला शहरका गल्ली गल्ली चाहार्थे भने कहिलेकाहिँ काठमाडौंमा डुलिरहन्थेँ। स्थायी घर जुम्ला भएका सगुने बुढा घुमन्ते व्यापारीको परिचय बनाउँदै अहिले बरमहलकाे चिसो पेटीमा स्विटर बुन्दै बेच्दै गरिरहेकाछन्।

बुढाको परिचय यतिमा मात्र सीमित छैन। आर्थिक विपन्नताको कारण उनको परिचय बदलिरहेको छ। कहिले घुमन्ते व्यापारी त कहिले पक्का किसान। बर्खामा आफ्नो गाउँमा खेतिपाती गर्ने र उनी हिउँदको जाडो छल्न व्यापार गर्न हिड्छन्। गाउँ छोडे पनि उनले पारिवारिक जिम्मेवारी भने आफूसँगै बोकी ल्याउँछन्। वृद्ध अवस्थामा पनि यो उनको बाध्यता हो। उनी त एउटा प्रतिनिधि पात्र मात्र हुन्। उनी जस्ता कयौंले गाउँ छोड्छन्।

६ महिना गाउँमा बसेर खेती किसानी काम गरेर बस्छन्। कृषिबाट आफ्नो दैनिकी सहज नभएपछि बाँकी छ महिना आफ्नै गाउँमा पाइने जडीबुटी, धागोको व्यापार गर्न व्यापारको लागि सहर झर्छन्। यिनै मध्येका एक हुन् बुढा पनि। उनका घरमा श्रीमतीसहित ४ छोरा ३ बुहारी, २ नातिसहित ११ जनाकाे परिवार छ। पाँचजना छोरी भने उनले विवाह गरेर पठाइसकेका छन्। कान्छा छोरा भने  कक्षा नौं पढ्छन्। अहिले उनलाई १२ छोरा १३ नाति बुढाको धोक्रो काँधैमाथि भने जस्तै भएको छ।

उनले व्यापार गरेर केही पैसा जोगाउँछन् र छोराको पढाइको लागि खर्च गर्छन्। उनी भन्छन्, 'रहर काठमाडौंको चिसोसँग पौठेजोरी खेलिरहने थिएन। तर बाध्यताले बुढेसकाल भनेर नहुने रहेछ।' अहिलेसम्म उनी १० पटक काठमाडौं आइसकेका छन्। सुरूमा आउँदा र अहिले धेरै परिवर्तन भएको देखे उनले। उनी भन्छन्,'आम्मै नी काठमाडौंमा घर भन्दा मानिस धेरै भइसकेछन्।' बुढा यही मंसिरदेखि काठमाडौंस्थित कोटेश्वरमा सानो कोठा लिएर बसेका छन्। उनी भन्छन्, 'तीन हजार तिरेर ६ जना म जस्ता अन्य व्यापारी साथीहरूसँगै बसेकाछौं। काठमाडौंमा हतपत कोठा पाइन्न रहेछ। यहाँ बल्ल कोठा पाएका छौं।’ 

उनी एउटा  स्विटर बेचेर ३ हजारसम्म कमाएकाे सम्झन्छन्। तर सधैँ व्यापार हुन्छ भन्ने हुँदैन। काठमाडौंमा बस्ने मान्छेका आफ्नै समस्या छन्। ती समस्या मध्येको एक हो महँगी। उनी भन्छन्, 'हामी जस्ता  गरीबलाई काठमाडौं भनेको सपनामा मात्र देख्न मिल्ने सहर रहेछ।' भौगोलिक विकटता भए पनि जुम्लामा यहाँ जस्तो महँगी नरहेको उनले बताए। 'यहाँ त  दिनमै नै एउटा सामानको मूल्य ३ पटकसम्म फेरबदल हुँदोरहेछ। आफूले देखेको  राजधानीको रङ्गीन चित्र कल्पनामा मात्र सुन्दर रहेछ। गरिबका लागि काठमाडौँ रहर मात्र रहेछ। यहाँ भन्दा त जुम्लामा नै ठीक छ बस्न। तर उता यहाँ जस्तो सामान बेच्न पाइन्न त्यो मात्र समस्या छ।'

बुढाले भने,' म स्विटरको अलवा जडीबुटीको पनि व्यापार गर्छु। आफूले सिलाजित,बोजो,पहाडी तेल, टिमुर पनि बेच्ने गरेकाे छु। त्यसमा पनि सबैभन्दा बढी पुरुष ग्राहक छन्। सिलाजित बढी बिक्री हुने रहेछ। यसले मानिसलाई शक्ति वृद्धि,यौन क्षमतामा वृद्धि गर्दोरहेछ।' दिनभर सडकको पेटीमा व्यापार गर्दा कुनै व्यक्तिले नराम्रो गरेको  याद छैन उनलाई। बरु बाटोमा हिडेका मानिसले उनलाई भन्छन् रे, 'यत्रो उमेरमा पनि मिहिनेत गरेर खाएको कस्तो जाँगरिलो हुनु हुँदो रहेछ।' कसै कसैले माया गरेर पैसा दिने गरेको समेत उनले बताए। उनीले भने,'काम गरेर खानेलाई सबैले इज्जत गर्छन्। यहाँ आएपछि यसपालि थाहा पाएँ।'

बुढा गाउँ छोड्दा ३ हजार गोजीमा रहेको बताउँछन्। व्यापार गरेर फर्कने बेला २० हजार हुन्छ कि भन्ने आशामा छन्। यो २० हजार के मा खर्च गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, 'मानिसलाई पैसा जति भए पनि नपुग्ने रहेछ। पैसाले मानिसलाई दुःख दिँदोरहेछ।' यद्यपि घर जाँदा श्रीमतीलाई सारी लाने चाहना छ। तीन भाइ छोरा मध्ये एक उनी पैतृक सम्पति भागमा लगाउँदा उनको भागमा १ विघा परेको रहेछ। उनी गरिब भएकै कारण समाजबाट बहिष्कर भएको आफ्नो तितो यथार्थ पनि भन्न भ्याए। उनीले भने, ‘समाजले धनलाई इज्जत गर्दारहेछन्। मन हुने मानिसलाई इज्जत गर्दा रहेनछन्।’

सच्चा मान्छे बस्ने समाज निर्माण हुनलाई धेरै समय लाग्ने उनको ठम्याई छ। उनको ५ कठ्ठा मात्र जग्गा छ। जग्गा बेचेर छोराछोरी पढाएका रहेछन्। सगुनेका साथीहरू बानेश्वर,कोटेश्वर,सातदोबाटो तिर बसेर सामान बेच्छन्। साथीहरूको सल्लाह बमोजिम नै काठमाडौं आएको बताउँछन् उनी। ‘राम्रा साथीहरू भयो भने बाँच्न र यात्रा गर्न सजिलो हुँदोरहेछ। साथीहरू पनि आफ्नो छायाँ जस्तै लाग्ने गर्दोरहेछ। जसले कहिल्यै साथ छोड्दैन।'

सगुनेलाई विदेश भनेको भारत मात्र लाग्दोरहेछ। उनी भारतको विभिन्न ठूला–ठूला सहरमा व्यापारको लागि घुमेका रहेछन्। उनी बम्बई,कोलकाता, सिलिगुडी घुमेको छन्। बुढा भन्छन् 'पहिलोपटक बम्बईक ठूला-ठूला भवन देख्दा म हेरेको हेरै भएको छु। हिजोआज त काठमाडौंमा पनि ठूला ठूला भवन बनेका छन्।यस्ता ठूला-ठूला भवन देख्दा त भारतका भवनको याद आउँछ।’ उनले भारतमा बस्दा धेरै दुःख भोगेको बताए। दिनभर सामान बेचेर कमाएको पैसा लुटिएको पनि उनको मस्तिष्कमा झल्झली आउँछ।

‘नेपालमा भने त्यस्तो मानिस छैनन्। यहाँ त माया गरेर जान्छन्,प्रशंसा गरेर जान्छन्। नेपाल भनेको दाजुभाइ बस्ने घर लाग्दोरहेछ। नेपालमा कमसेकम भाषा त बुझिन्छ। त्यहाँ भाषा नबुझ्दा मैले धेरै पीडा भोगेकाे छु। काठमाडौंमा कमाएको पैसा कसैले लुटन सक्दैन भारत जस्ताे। बुढा भने,'भारत गए भने अब तीर्थयात्रुका रुपमा  मात्र जान्छु। उता धेरै देवी देवताको पवित्र स्थलहरू छन्।' उनले भोगेको जीवनको अनुभवबाट निस्किएको निश्कर्ष छ, 'दुनियाँमा पापी मानिस पनि बस्दा रहेछन्। कोही भने धार्मिक पनि हुँदारहेछन्।' 

मिहिनेत गर्नेभन्दा पनि गफ गर्ने मानिस देख्दा दिक्क लाग्छ उनलाई। उनले भने, '७० वर्षको उमेर भयाे। धेरै देखेँ। सिकेँ अझै बुझ्न बाँकी छ।' समय बदलिएको छ। पुरानो समयमा यातायात पुगेको थिएन। बुढा अहिले मजाले घरसम्म गाडी चढेर पुग्दारहेछन्। सुविधा भएकोले जुम्लाको जडीबुटी काठमाडौंमा ल्याएर बेच्न पाएका छन् सगुनेले। बुढासँग मोबाइल पनि छैन। बुढा भने' 'मोबाइलमा भजन सुन्न मनपर्छ। तर मोबाइल चलाउन आउँदैन। चलाउन नजान्दा दु:ख लागेको छ।’

मानिसलाई पैसाले मात्र खुसी नबनाउने बताउँछन् उनी। 'महँगा गाडीमा हिडे पनि मानिस खुसी छैनन्। गाडीको कालो सिसाभित्र मानिस रुदै पनि हिडेका छन्।सम्पत्तिका लागि बबरमहलकाे यही अदालतमा कैयौं मानिस लडेको देखेकाे छु। तर म सडक पेटीमा वसेर व्यापार गरे पनि खुसी नै छु' उनी आफूप्रति गर्व गर्दै भन्छन्,‘सम्पत्ति भन्दा ठूलो खुसी रहेछ। आज म यहाँ सडकमा स्वीटर बेचेर पनि खुसी छु। तर मानिस आज सम्पत्ति भएर पनि खुसी छैनन्।'

यहाँ बस्दा उनलाई सबैभन्दा धेरै श्रीमतीको याद आउने आउछ रे। उनी भन्छन्, ‘छोराहरू विवाह गरेपछि अर्काको हुँदारहेछन्। तर श्रीमती भनेको कहिले पनि अर्काको भएजस्तो लागेन।’ घरधन्दाबाट कहिल्यै बाहिर निस्किन नपाएकी श्रीमतीलाई केही पैसा कमाएर घुमाउन लाने विचारमा छन् उनी। उनी भन्छन्, 'यसपाली सम्पूर्ण खर्च कटाएर बाँकी रहे श्रीमतीलाई स्वर्गद्वारी मन्दिर घुमाउँछु।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.