'महासचिव पौडेलले गरेको '१० प्रतिशत'को परिभाषाले बैठक अनिश्चित'

|
प्रतीकात्मक फोटो

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सांगठनिक एकताको जिम्मेवारी पाएको शक्तिशाली कार्यदलको बैठकले काम अगाडि बढाउन सकेको छैन। कार्यदललाई दिइएको जिम्मेवारीअनुसार गत पुस अन्तिम साता एकताका सबै काम टुंग्याउनुपर्ने भए पनि माघ दोस्रो साता सकिनै लाग्दासमेत उक्त कार्यदलको बैठक बस्न सकेको छैन। 

कार्यदल गठनलगत्तै पुसको १७ गतेदेखि लगातार चारपाँच दिन बैठक बसेको थियो। ती बैठकले कार्यदलको कार्यक्षेत्र, जिम्मेवारी र क्षेत्राधिकार (टिओआर) बनाउने काम गर्‍यो। त्यसपछि भने कार्यदलको बैठक लामो समय बस्न सकेन। लामोसमय पछि माघ ७ गते बसेको बैठकले नि तल्लो तहको एकतालाई निष्कर्षमा पुर्‍याउन सकेको छैन। 

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता केन्द्र र प्रदेश तहसम्म भएको छ। जिल्ला र स्थानी तहसम्म एकताले पूर्णता पाएको छैन।

बैठक नै आह्वान गर्दैनन् थापा र पौडेल

यसअघि नेकपाको सचिवालयले निर्माण गरेको कार्यदलले सिफारिस गरेको प्रदेश कमिटी बाहेक बाँकी सबै एकताका काम सम्पन्न गर्न बाँकी छ।  

पछिल्लो समय कार्यदलको बैठक नै बस्न नसक्दा एकता अब के हुने? भन्ने चासो नेकपाभित्र बढेको छ। कार्यदलको बैठक नेकपा सचिवालय सदस्य रामबहादुर थापा बादल र महासचिव विष्णुप्रसाद पौडेलले बोलाउनुपर्ने हो। तर, बैठकका लागि थापा र पौडेलले पछिल्लो समय कुनै पनि जानकारी नदिएको कार्यदलका बाँकी सदस्यहरूको गुनासो छ। कार्यदलका सदस्य बेदुराम भुसालले दुवै नेताको व्यवस्तताले कार्यदल बैठक नबसेको हुनसक्ने अनुमान लगाए। 

कार्यदलको बैठकको अध्यक्षता सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादलले गर्ने गरेको र बैठक महासचिव विष्णु पौडेलले बोलाउने गरेको भुसालले बताए। पछिल्लो समय भने दुवै नेताले अन्य सदस्यहरूलाई कुनै खबर नगरेका कारण बैठक बस्नेबारेमा कुनै जानकारी नभएको कार्यदलका भुसालको भनाइ थियो। 'बैठक बसेको छैन। केही भएको छैन। बैठक नबसेर कार्यदलको केही काम भएको छैन', नेता भुसालले भने।

चार दिन बैठक बसे सकिन्छ एकता

कार्यदललाई नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले बालुवाटार बोलाएर कार्यदलको टीओआरका बारेमा जानकारी गराएका थिए। जसअनुसार कार्यदलले प्रदेश कमिटी हेरफेर गर्ने, केन्द्रीय सदस्यको कार्यविभाजनको खाका तयार पार्ने, पोलिटब्यूरो प्रस्ताव तयार पार्ने, विधानमा नमिलेको कुरा मिलाउने लगायतका जिम्मेवारी पाएको छ।

बैठक नबसेका कारण यी काममा कुनै प्रगति नभएको कार्यदलका सदस्यहरूले बताउने गरेका छन्। बैठक बसेमा कार्यदलले केही दिनभित्रै एकताका सम्पूर्ण काम सम्पन्न गरिसक्ने कार्यदलका सदस्य नेकपा नेता योगेश भट्टराईले बताए। बैठकमा अहिलेसम्म खास विषयमा प्रवेश नै नभएको उनको भनाइ थियो। 'शुरूका केहीदिन लगातार बैठक बस्यो। यो महिना एक दिनमात्रै बैठक बसेको छ। बैठक बस्न नसकेका कारण समस्याको विषयमा प्रवेश नै गर्न सकेको छैन', नेता भट्टराईले भने, 'तर बैठक बस्न सकेमा तीनचार दिनभित्रै एकताका काम पुरा हुन्छन्। त्यसका लागि बैठक बस्नुपर्छ।' 

१० प्रतिशतको लफडा

कार्यदलको बैठकमा अहिलेसम्म विधान र यसअघि टुंगिसकेको प्रदेश कमिटीको विषयमा छलफल भएको थियो। विधानको विषय लगभग टुंगिसकेको छ। तर प्रदेश कमिटीमा १० प्रतिशत थप्‍ने विषयमा भने सहमति हुन सकेन। कार्यदलका सदस्यहरू यसै विषयमा विभाजित भएपछि बैठक अगाडि बढ्न नसकेको हो। प्रदेश कमिटीमा १० प्रतिशत मनोनित गरेर छुटेका नेतालाई थपौँ भन्ने विषयमा सहमति हुन नसकेको नेताहरू बताउछन्। 'थुप्रै व्यक्तिहरू छुटेका छन्। उनीहरूलाई १० प्रतिशत मनोनितमा थपेर जाउँ भन्ने प्रस्ताव आएको छ। त्यही विषयमा सहमति भइसकेको छैन', भट्टराईले भने।

यो विषयमा छलफल अड्किएको हो। प्रदेश कमिटीमा १० प्रतिशत थप्ने सन्दर्भमा महासचिव पौडेलले आफ्नै तर्क प्रस्तुत गर्न थालेपछि बैठकमा स्थगनतर्फ गएको नेताहरू बताउछन्।

गएको पुस १३ गते सकिएको नेकपाको स्थायी कमिटीको बैठकले बाँकी सांगठनिक कामहरू पूरा गर्न भन्दै नौ सदस्यीय कार्यदल गठन गरेको थियो। कार्यदलमा ओली निकट महासचिव विष्णु पौडेल, शंकर पोख्रेल र रघुवीर महासेठ छन्। कार्यदलमा माधव नेपाल पक्षबाट भने योगेश भट्टराई, सुरेन्द्र पाण्डे, बेदुराम भुसाल छन्। त्यस्तै पूर्वमाओवादी केन्द्रबाट रामबहादुर थापा, वर्षमान पुन र लेखराज भट्ट कार्यदलको सदस्य छन्। पुस मसान्तसम्मको म्याद दिएर कार्यदल गठन गरेको भए पनि कार्यदलले अहिलेसम्म एकीकरणको प्रस्ताव तयार पार्न सकेको छैन।

पछिल्लो समय कार्यदलको बैठक नै बस्न नसक्दा एकीकरण टुंगिने नयाँ मिति के हुने भन्ने नेकपाभित्र अन्यौल बढ्दै गएको छ।  

यो पनि पढ्नुस् ः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.