|

काठमाडौं : सिन्धुपाल्चोकको लिसंखुपाखरमा तामाङ साहित्यकारहरुले दुईदिने साहित्य यात्रा गरेका छन्। तामाङ साहित्यिक संस्था तामाङ डाजाङको आयोजना तथा लिसंखुपाखर गाउँपालिका–२ लिसंखुको आर्थिक सहयोगमा माघ १० र ११ गते दुईदिने तामाङ साहित्य यात्रा (तामाङ ग्योइकाइ ल्हाम) सम्पन्न भएको हो। पूर्व- राजदूत डा. गणेश योन्जन, तामाङ लोकसम्राट चन्द्रकुमार मोक्तान, कान्छा सगरमाथा आरोहि शम्भु तामाङको सहभागिता रहेको यात्रामा पत्रकार एवं साहित्यकार फुलमान बल, राजु स्याङतान, नेत्र तामाङ र कवि राबत थिए। कार्यक्रममा करिब दुई दर्जन तामाङ कवि तथा लेखक सहभागी भए। काठमाडौंमा साहित्य वाचनको श्रखृला चलाउँदै आएको संस्था तामाङ डाजाङको यो गाउँ केन्द्रित पाँचौं साहित्य यात्रा हो।

काठमाडौंबाट माघ १० गते हिँडेको टोली गाउँपालिकाको ७ नम्बर वडा ठूलोपाखर स्युगाको ऐतिहासिक छ्योर्तेनहरुको अवलोकन गर्दै तामाङ जातिको मोक्तान थरको किपट एवं थातथलो अन्र्दबुङ प्रवेश गरेको थियो। गाउँपालिकाको वडा नम्बर ४ अन्र्दबुङ अर्थात अन्तरपुरको तर्फबाट खादासहितको न्यानो स्वागत ग्रहण गरेसँगै साहित्य यात्रीहरु टोलि बनाई तामाङ वस्तीवस्तीमा छिरेका थिए। पत्रकार एवं बालसाहित्यकार नेत्र मोक्तानको टोली अन्र्दबुङ पाङचेततिर मोडिँदा कवि मुक्तान थेबाको टोली पसेको थियो अन्र्दबुङकै लामाटोलमा।

तामाङ समुदायका जनजीवन, संस्कार संस्कृति, कला, ऐतिहासिक कथन तथा मिथ, मौलिकता आदि विषय खोज्न र साहित्यमा उर्तान अन्र्दबुङबाट बस्तीमा छिर्न शुरु गरेका तामाङ साहित्यकारको टोलि लिसंखु (ह्रिस्याङगो) लाई केन्द्र बनाएर छरिए। केही टोली ह्रिस्याङगो पारिको ठूलो धादिङ पुगे भने कोही पुगे ङ्हारदिमसम्म। झिसमिसे साँझमा स्रस्टाहरु गाउँका टोलटोलमा छिर्दा मौलिक खानपानबाट स्वागत सत्कार भयो।

पाका म्हेमेमामका जिवन भोगाइ, तामाङ संस्कारको ताम्बा ताम, डम्फुरेका गित रात नभनि सुनाए स्थानियले। माघ ११ को बिहान। भाले बासेको प्रहरमै ब्युझिए साहित्य यात्रीहरु। चराको चिरबिर, पुर्वतर्फ सैलुङ डाँडामा अघिल्लो दिन मात्रै झरेर हाँसेको सेताम्य हिउँ। सैलुङको डाँडादेखि नै बहेको अनुभुति हुने चिसोचिसो हावा, काठमाडौंमा निस्सासिएर गाउँ पुगेका स्रस्टाहरु पिँजडाको चरा छाडा छोडे जस्तै फुरुङ्ग। सयौं वर्ष पहिलेका छ्योर्तेन, माने, ओम, चौतराहरुमा रहेका लहरै ढुंगामा लेखिएका बुद्धका वचन, बिहानैदेखि बुद्धकै विभिन्न रुप तथा कथामा आधारित कलाकृति जसलाई भाक्पा (मखुण्डो) भनिन्छ। वृद्धदेखि युवासम्मका पौरखी हातहरु ज्याबाल समाएर दिइदैथ्यो काठलाई सुन्दर र अर्थपुर्ण आकृतिहरु। जसमा डुब्न पुगेका थिए साहित्य यात्रीहरु पनि।

ह्रिस्याङगोको छ्योइफेल कुन्देलिङ गुम्बाले घाम छिपिँदै गर्दा सबैलाई आकर्षित गराउँदै थियो। आफुले देखेको, पाएको विषयवस्तु कविता, गजल र गीत लेख्न छरिएका साहित्यकार बिस्तारै भेला हुदै गए। शुरु भयो, ग्योइकाइ ल्हाम अर्थात साहित्य यात्राको दोस्रो दिनको औपचारिक कार्यक्रम। पूर्व-राजदूत एवं तामाङ अगुवा डा. गणेश योन्जनको प्रमुख आतिथ्य, गाउँपालिकाका अध्यक्ष कमलप्रसाद नेपालको विषेश आतिथ्‍यमा। कार्यक्रम अगाडी बढ्दै जाँदा साहित्यमय बन्यो गुम्बा परिसर। स्थानीय कलाकार सुब्बा योन्जन, लावाङघ्याम्छो लामा, पदम बहादुर ग्याबा, फुरुडोल्मो रुम्बा र फुर्मो लामाको मौलिक गीतमा धेरैजना नाच्नेको लर्को उस्तै थियो। राम गोम्जा, रन्जना मोक्तान, धनकुमारी घिसिङ, संगिता थिङको तामाङ गीतले सबैको ध्यान तान्यो।

तामाङहरुको ह्योन्जन थरको ऐतिहासिक थलो ह्रिस्याङगोमा उभिएर तामाङ अगुवाहरुले आफ्नो पहिचान र अधिकारका कुरा पनि उठाउन भ्याए। तामाङ भाषाको शब्द ह्रिस्याङगोलाई बिगारेर लिसंखु बनाउने काम गलत भएको र पुरानै कायम हुनुपर्छ भन्ने उपस्थित साहित्य अनुरागीको जोड थियो। कार्यक्रमका प्रमुख अतिथि गणेश योन्जनले आफ्नो पुर्खाहरुको ऐतिहासिक बोकेको ह्रिस्याङगो नाम परिर्तन गरेर पहिचान मेटाउन खोजिएको भन्दै स्थानीय जनप्रतिनिधिलाई सच्याउन आग्रह गरे। गाउँपालिकाका अध्यक्ष नेपालले सबै भाषा, धर्म र जातिका संस्कार संस्कृति जगेर्ना गरी गाउँपालिकालाई पर्यटकीय क्षेत्र बनाउने प्रतिवद्धता जाहेरसमेत गरेका थिए।

कार्यक्रममा  कवि मुक्तान थेबा, राम गोम्जा, हिरामाया घिसिङ, बुद्ध योन्जन लामा, मणिकलाल घिसिङ, रोज मोक्तान, साम्देन दोङ, इश्वर थोकर, रन्जना मोक्तान, चन्द्री मोक्तान, मिलन ब्लोन, राजु ब्लोन, धनकुमारी घिसिङ, कविराज काल्तान, रचना मोक्तान, संगिता थिङ, अटुट दोङ, तेज योन्जन, हिरामाया घिसिङ कुसुम, पारस लामा, इकमान लामालगायतको सहभागिता थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.