|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्वको घाउ कोट्याएर अर्को घाउ बनाउनतिर लाग्न नहुने बताएका छन्। मंगलवार सशस्त्र प्रहरी बल नेपालको १८ औं सशस्त्र प्रहरी स्थापना दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कतिपय पक्षहरूले द्वन्द्वका घाउ कोट्याएर बल्झाउने कोसिस गरिरहेको बताए।

उनले घाउलाई निको पार्नतर्फ लाग्नुपर्ने बताए। 'घाउको खत उप्क्याएर त्यसबाट रगल निकाल्ने र फेरि बल्झाउने प्रयासहरू भइरहेका छन्। म सम्पूर्ण नेपाली जनताहरूलाई आग्रह गर्न चाहान्छु द्वन्द्वमा कुनै हिसाबले फस्नु सकारात्मक कुरा हुनै सक्दैन', प्रधानमन्त्री ओलीले भने।

यो कसैका लागि लाभदायी वा हितकर नहुने भन्दै उनले मुलुकले द्वन्द्वयको व्यवस्थापन गरेको भन्दै अब द्वन्द्वको घाउमा मल्हमपत्ति लगाउने र ती घाउहरूलाई पनि निको पारेर अगाडी बढ्नतर्फ लाग्न आग्रह गरे। मुलुकलाई ठूलो क्षति भएको भन्दै अब त्यसबाट पाठ सिक्दै अगाडी बढ्नुपर्ने उनको भनाइ थियो। 'क्षति त हामीलाई भयो। हामीले क्षति ब्यहोर्‍यौं। अब थप क्षति हुन हामीले दिँदैनौ', उनले भने, 'हिजोका ती दिनहरू सम्झाएर अरू थप क्षति गराउने प्रयास हुन सक्दछन् त्यस्ता प्रयासमा हामी जान हुँदैन।'

लामो प्रयासपछि शान्तिप्रकृया अगाडि बढेर टुंगिएको भन्दै प्रधानमन्त्रीले शान्तिप्रकृयाका बाँकी अवशेषहरूलाई पनि निको पार्नतर्फ लाग्न आग्रह गरे। हिजो लडाइँ लड्दा लागेका घाउचोटमा मल्हम लगाएर निको पार्नुपर्ने आवश्यकता रहेको बताउँदै उनले अब लडाइँ/द्वन्द्व सकिएको बताए।

अहिले पनि विभिन्न नाममा, बहानामा शान्ति खल्बल्याउने, समाजमा हिंसा फैलाउने र जनतालाई आतंकित पारेर मुलुकमा शान्ति सुव्यवस्था छैन भन्ने अवस्था सिर्जना गर्ने प्रयासहरू भइरहेको बताउँदै प्रधानमन्त्री ओलीले राष्ट्रिय अखण्डतालाई चुनौती दिने देशद्रोही प्रयासहरू भएको हुनसक्ने बताए। तर अब मुलुक शान्तिको बाटोमा धेरै अगाडि बढिसकेको भन्दै द्वन्द्वमा पुनः धकेलिन नसक्ने बताए।

अहिलेको सरकारले देशलाई बिखण्डन गर्नेखालका, हिंसा भड्काउने खालका, देशलाई पछाडि फर्काएर फेरि सामन्तवादतर्फ, निरंकुशता, तानाशाहीतर्फ लाने कुनैपनि प्रयासलाई नसहने प्रधानमन्त्री ओलीले बताए। यो सरकार जनताबाट खास अभिभारा लिएर उपलब्धीहरूको रक्षा गर्न, सुदृढ गर्ने अभिभारा लिएर बनेको भन्दै उनले शान्ति सबै नेपालीको साझा आकांक्षा बताए। आज देशको गौरव/प्रतिस्ठा बढेको भन्दै यसलाई अझ बढाउँदै लैजानुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो।

भ्रष्टाचारी कसैको अनुहार हेरिनेछैन

अर्को प्रसङ्गमा प्रधानमन्त्री ओलीले गृहमन्त्री रामबहादुर थापा 'बादल'ले मन्त्रालयको तर्फबाट भ्रष्टाचारसम्बन्धी गरेको प्रतिवद्धताको प्रसंसा गरे। सोही कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले गृहमन्त्रालय अन्तर्गतका कुनैपनि निकायहरू भ्रष्ट हुँदैनन् र हुनेछैनन् भन्ने प्रतिवद्धता जनाएका थिए।

भ्रष्टाचार नियन्त्रण गर्ने गर्नका निम्ति सरकार सजग रहेको भन्दै उनले भ्रष्टाचार रोक्न सम्पूर्ण जिम्मेवार निकाय क्रियाशिल रहेको बताए।

भ्रष्टाचार आफुले पनि नगर्ने र भ्रष्टाचार गर्ने कसैलाई नछाडिने बताउदै उनले भने, 'भ्रष्टाचार म आफूपनि गर्दिन गर्न पनि दिन्न। गरेमा कसैको अनुहार हेरिनेछैन। कसैप्रति कुनै मलाईजा राखिनेछैन।'

भ्रष्टाचार नियन्त्रण गर्ने निकायले कहिलेकाँही आफ्नो अधिकार हातमा लिएर त्यसको दुरूपयोग समेत गर्दै आएको बताउँदै उनले त्यसको पनि सरकारले निगरानी गर्ने बताए। 'भ्रष्टाचार गर्ने निकायले नै कहिलेकाँही आफ्ना हातमा अधिकार लिने र त्यसलाई भ्रष्टाचारको माध्यम बनाउने प्रयासहरू भए। एकपल्ट १३ पन्ने आतंक भन्ने नै नेपालमा निकै चल्यो', उनी भन्छन्, 'भ्रष्टाचार नियन्त्रण गर्ने निकायले भ्रष्टाचार नियन्त्रणका कामहरू गर्ने हो तर भ्रष्टाचारजन्य उद्देश्यहरूमा निम्ति आफैले वातावरण बनाउने र त्यसका निम्ति अनेक प्रकारका अनुचित क्रियाकलापहरू गर्ने होइन।'

अहिलेको सरकार राजनीतिक प्रतिशतको हिसाबले वा अरू कुनै हिसाबले भ्रष्टाचार गर्नका निम्ति टाउको उठाउने काम नगरेको भन्दै प्रधानमन्त्रीले भ्रष्टाचारबाट देशलाई मुक्त गरेर विकासका कामलाई अगाडि बढाउनका लागि यो सरकार अगाडी बढिरहेको बताए।

आजै ट्रान्स्परेन्सी इन्टरनेशनलले एक प्रतिवेदन सार्वजनिक गर्दै नेपाल अति भ्रष्टाचार हुने मुलुकको ५४ औँ स्थानमा रहेको जनाएको छ। नेपालमा सबैभन्दा बढी राजनीतिक भ्रष्टाचार हुनेसमेत ट्रान्स्परेन्सीले जनाएको छ।

मुलुकले लोकतन्त्र प्राप्तीको लामो यात्रा पार गरेर सफलता उपलब्धीमा टुंगिएको भन्दै उनले यो यात्रालाई विभिन्न पक्षले विभिन्न ढंगले हेरेपनि यसलाई अब भन्न योग्य सफल ठाउँमा पुर्‍याएको भन्दै यसमा सबैले गर्व गर्नुपर्ने बताए।

दुनियाँका निम्ति उदाहरणीय र अनुसरणीय ढंगले विगतका समस्याको समाधान गरिएको दाबी गर्दै उनले सानो देश सानो ठाउँमा एकैचोटी लाख भन्दा बढी शरणार्थी थपिदा भएका असहजतालाई पनि सहज ढंगले समाधान गरिएको बताए।

जनताबाट निर्वाचित प्रतिनिधिले संविधान बनाउने सहज कुरा नहुँदा पनि लोकतान्त्रिक संविधानसभाबाट लोकतान्त्रिक संविधान नेपाली जनताले बनाएको भन्दै उनले अब मुलुक समृद्धि र विकासको बाटोमा अगाडि बढेको र यसमा सबैले हातेमालो गर्नुपर्ने बताए।

कार्यक्रममा प्रधानमन्त्री ओलीले भर्खरै आफुले सम्पन्न गरेको स्वीजरल्याण्ड भ्रमण सम्पन्न भएको बताए। स्विट्जरल्यान्डको डाबोसमा सम्पन्न भएको विश्व आर्थिक मञ्च (वर्ल्ड इकोनोमिक फोरम)को वार्षिक बैठकमा सहभागीता भएर फर्किएका प्रधानमन्त्री ओलीले ४९ वर्षमा डाभोसले नेपाललाई सम्झिएको भन्दै खुसी व्यक्त गरे। उनले उक्त कार्यक्रममा सहभागी भएर नेपालको विचार, दृष्टिकोण, आकांक्षाहरू डाभोस बैठकमा बताएको समेत जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.