|

काठमाडौं : नाटक मञ्चमा आइपुगेपछि मात्र दर्शकको दृष्टिमा पर्छ। नाटककलाई मञ्चसम्म पुर्‍याउन नाटकका लेखक र निर्देशकले धेरै मिहिनत गरेका हुन्छन्।कलाकारहरुको रिहर्सलमा बग्‍ने पसिनाले पनि नाटकलाई दर्शकको मनमा बस्ने बनाउँछ।

यस्तै लेखक, निर्देशक र कलाकारको संगमबाट बनेको नाटक हो 'चिरिएका साँझहरु।' प्रा. डा. अभि सुवेदीको यो नाटकलाई शिल्पी थिएटरका निर्देशक घिमिरे युवराजले मंसिर १ देखि मञ्चमा ल्याएका छन्। यस नाटकका लागि कलाकारहरुले १ महिना त रिहर्सल मात्रै गरेका थिए। 

सद्देपन र पागलपनको बीचबाट नाटक!

'मान्छे कि परेर सिक्छ, कि पढेर!' यो भनाइ यत्रतत्र सुनिन्छ। तर, अभि सुवेदीको सिकाइमा 'कि' आउदैन। किनकी उनले जिन्दगानीमा परेर र पढेर दुबै किसिमले सिकेका छन्। सुवेदीको कलमबाट नाटकको जन्म पढ्नु र पर्नुको समागमबाट हुन्छ।

'चिरिएका साँझहरु' को रिहर्सलको अन्तिमतिरको एक दिन शिल्पी थिएटरमा सुवेदीलाई भेट्दा नाटकको जन्मबारे उनी भन्दै थिए 'लेखकको मन सद्देपन र पागलपनको बीचमा हुन्छ। त्यसैको प्रभावमा नाटकको जन्म हुन्छ।' भक्तपुरमा चर्चित बिस्केट जात्राको विषयमा लेखिएको नाटक 'चिरिएका साँझहरु' अभि सुवेदीको भक्तपुरको बिस्केट जात्रा दर्शनको अनुभव र ग्रीक नाटकको पठन अनुभवबीचबाट आएको हो।

सुवेदीले ग्रीक नाटक अध्ययनको पाटो आफ्नै शैलीमा यसरी सुनाए, 'पश्चिमा खासगरी ग्रीक नाटकमा मान्छे देवतासँग लड्छ हौ। म मर्छु भन्‍ने थाहा हुँदाहुँदै पनि लड्छ। आफ्नो मान्छेपन लिएर लड्छ र मर्छ पनि, तर त्यो मराइ ट्राजिक हुँदैन' उनले थपे,'म आफ्नो जीवनमा लडेरै मर्छुं भन्छ र लडेरै मर्छ पनि। मर्नुलाई पश्चिमा साहित्य (नाटक) मा जीतकै रुपमा उल्लेख गरिएको छ।'

यसपछि सुवेदीमा ग्रीक नाटक अध्ययनले नेपाली साहित्यमा मृत्युलाई कसरी लिइदो रहेछ त भन्‍ने जिज्ञासा बढ्यो। अनि नेपाली साहित्यमा देवता र मानव र मृत्युको व्याख्या कसरी हुन्छ भन्‍ने खोज्‍न उनी लागे। 

सुवेदीले पूर्वीय साहित्यमा त्यस्तो हुँदैन भन्‍ने पढ्दै आएका थिए। 'पूर्वमा चाहिँ मान्छेले जित्‍न हुँदैन भन्‍ने बुझाइ थियो। मान्छेले जित्‍न हुँदैन र देवतालाई पुज्‍नैपर्छ, यसका अगाडि घुँडा टेक्नैपर्छ भन्‍ने थियो। साहित्यमा पनि देवता नै शक्तिशाली भन्‍ने धारणा भेटिन्थ्यो,' उनले भने। 

तर सुवेदीले फरक नाटक पनि भेटे। भक्तपुरको बिस्केट जात्रामाथि लेखिएको तेजेश्वरबाबु ग्वंगको कथा फरक छ। यहाँ देवता र मान्छेको सहमति हुन्छ। सहमति शक्तिशाली र निर्धाबीच नहुने सुवेदीको धारणा छ। उनी त्यसलाई 'समानबीचको सहमति' भएको मान्छन् र पूर्वमा पनि मान्छेको र देवताको आसन समान भएको भन्छन्। उनी यो नाटकको थिम 'आरुका फूल' नाटक लेख्‍ने बेला नै आएको बताउँछन्।

अभि सुवेदीको यो नाटक संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगको कथामा आधारित छ। ग्वंगको कथामा आधारित रहेर २०६४ सालतिर सुवेदीले नाटक लेखेका थिए। जसलाई २०६५ सालमा घिमिरे युवराज र डा. शिव रिजालले संयुक्त निर्देशनमा रंगमञ्चमा ल्याए। अहिले घिमिरे युवराजले एकल निर्देशनमा शिल्पी थिएटरको रंगमञ्चमा उतारेको नाटक यसैको परिस्कृत रुप हो। 

सुवेदी कथालाई नाटकमा ढाल्न आफै भक्तपुरको बिस्केट जात्रा हेर्न पुगेका रहेछन्। उनले भने 'यो नाटक लेख्‍ने क्रममा बिस्केट जात्रा हेर्न पुरा रात भक्तपुरमा बिताएको छु।'

निर्देशनको कला

'नाटक लेखक, निर्देशक र कलाकारको सामुहिक कला हो' लेखक अभि सुवेदी र निर्देशक घिमिरे युवराजले सामूहिक अभिव्यक्ति दिए। नाटक 'चिरिएका साँझहरु' को सुरुवाती लेखनदेखि २०६५ मञ्चन र २०७३ को मञ्चनसम्म यी दुबै एकसाथ छन्। अहिले नाटक मञ्चन भइरहँदा पनि बेलाबेला दर्शकमाझसँगै देखिन्छन्।

नाटक लेखनको बेलासँगै रहेका सुवेदी र घिमिरे नाटक मञ्चमा नपुगुन्जेलसम्म एकसाथ रहे। नाटक लेख्‍नेबेलामा पटक-पटक सँगै बसेर बिस्केट जात्रा हेरेको पुरानो सम्झना उनीहरुले थाहाखबरसँग साटे। नाटकको तयारीका बेला कलाकारलाई समेत लिएर नाटक हेरेको उनीहरुले बताए। 

वास्तविक बिस्केट जात्रा हेरेर त्यसैमा आधारित 'चिरिएका साँझहरु' मा कला भरेर महिनौं रिहर्सल गरे कलाकारले। घिमिरे भन्छन्, 'कला भरेर दर्शकसामु ल्याउने काम निर्देशक र कलाकारको हो।'

'लेखनका क्रममै सुरू हुन्छ लेखक-निर्देशक सहयात्रा' 'चिरिएका साँझहरु' को रिहर्सल हेर्दै घिमिरेले भने, 'यसो गर्दा नाटकको रिहर्सल र मञ्चनमा सहजता हुन्छ।' लेखक- निर्देशक सम्बन्धले नाटकलाई अन्तिमसम्म राम्रो बनाउन सघाउ पुर्‍याउँछ। नाटकलाई दृश्यमा ढाल्न लेखकले तयार पारेको नाटकको बारम्बार सम्पादन हुन्छ।

'नाटक सामुहिक कला हो। मैले त नाटकका पात्र कल्पना मात्र गर्ने हो नि! जब स्टेजमा कंक्रिट रुपमा आउँछ तब दृष्टिगोचर हुन्छ।' अभि सुवेदीको यो भनाइलाई समर्थन गर्दै निर्देशक घिमिरे नाटक दृष्टिगोचर हुनुपूर्व बारम्बार सम्पादन हुने बताउँछन्। उनी भन्छन्, 'नाटक निर्देशकले पढ्न सुरु गरेपछि लेखकले फाइनल गरेको नाटक फेरि एडिट (सम्पादन) हुन थाल्छ। कतिपय कुरा निर्देशकले परिवर्तन गर्छ कतिपय कलाकारले रिहर्सल गर्दा परिवर्तन हुन्छ। एक्टरले क्यारेक्टरले आत्मसात नगरेसम्म नाटक परिवर्तन भइरहन्छ।'

एउटै नाटक उही निर्देशकले फरक फरक समयमा निर्देशन गर्दा फरक पर्ने घिमिरेको भनाइ छ। त्यसो हुनुमा निर्देशकको सोचाइमा आउने परिवर्तन र अनुभवले महत्वपूर्ण प्रभाव पार्छ। 

रिहर्सलका क्रममा निर्देशकको दिमागमा जन्मिएका परिकल्पना जति बढी स्टेजमा उतार्न सक्यो त्यति राम्रो हुन्छ। त्यसका लागि नाटक पढ्दै जाँदा नयाँ दृष्य थप्‍ने, समसामयिक बनाउने, केही दृष्य हटाउने गरिन्छ। यसो गर्न पनि निर्देशकलाई लेखक वा लेखकको अनुपस्थितिमा सम्बन्धित विषयबारे जानेबुझेकाको सहयोगको आवश्यक पर्ने घिमिरेको धारणा छ। दशौं विकल्प मध्येको एक विकल्प मात्र मञ्चन हुने उनले बताए।

नाटक 'चिरिएका साँझहरु'

शिल्पी थिएटरमा मंसिर १ गतेदेखि मञ्चन सुरु भएको नाटक मुलतः भक्तपुरको बिस्केट जात्रामा आधारित साँस्कृतिक नाटक हो। यसमा देवता र मानिसको अभिमानको द्वन्द्व समावेश छ।

कथामा दरबारभित्र एक युवती हुन्छिन्, मयजु। उनको हरेक साँझ बिहे गरिन्छ। जब बिहेको साँझ मयजु र दुलाहा शयनकक्षमा गएर पहिलो रात बिताउँछन् तब मयजुको नाकबाट दुईओटा नाग निस्कन्छन्। ती नागले दुलाहालाई डस्छन् र उनको मृत्यु हुन्छ। ती दुलहीको नियति, हरेक साँझ बेहुलीको रंगीन भेषमा सजिन्छिन् र हरेक बिहान बिधवाको सेतो वस्त्र धारण गर्छिन्। त्यसपछि केही चमत्कार हुन्छ। मयजुको जीवनमा खुशियाली आउँछ, फेरि उही दुख।

नाटकको अर्को पाटो छ, देवता र मानवबीचको द्वन्द्व। मान्छेले भैरव र महाकालीलाई चुनौती दिन्छन्। उनीहरुसित बराबरीको सम्बन्ध कायम गर्छन् र सहमति गर्छन्। शक्तिवान ईश्वर मृत्युको खेला रच्छ तर आममान्छे मृत्युसँग हार मान्दैन। बरू मृत्यु आउन्जेल उत्सव मनाएर जीवनअघि बढाउँछ।

सँस्कृतिमा आधारित नाटक 'चिरिएका साँझहरु' मा स्टेज निर्माणदेखि कलाकारको पहिरनले भक्तपुरको जात्राको झल्को दिन्छ। त्यस्तै संगीतको प्रयोगले पनि मुग्ध बनाउँछ। पवित्रा खड्का, सविन कट्टेल, इनेशा भट्टराई, सञ्जु पराजुली, झकेन्द्र बिसी, संगीत पोखरेल, सुरेश महर्जन, देविन श्रेष्ठ, विवेक तिवारी, रमेश चौधरी लगायतको अभिनय रहेको 'चिरिएका साँझहरु' मा मेटाड्रामा (छायाँ नाटक) को पनि प्रयोग गरिएको छ। नाटक मंसिर २० गतेसम्म हरेक साँझ ४:३० बजे मञ्चन भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.