अगाडी बढ्नै सकेन कार्यदल

|

काठमाडौं : पार्टीको एकताको सम्पूर्ण सांगठिक काम पूरा गर्ने जिम्मेवारी दिएर गठन गरिएको कार्यदलले काम गर्न नसकेपछि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले एकताको बाँकी काम आफैले गर्नेगरी अधिकार आफ्नो हातमा लिने तयारी गरेका छन्। पार्टीले गठन गरेको कार्यदलले काम पुरा गर्न नसकेपछि कार्यदलको अपुरै प्रतिवेदन भएपनि माग्ने दुई अध्यक्षको तयारी छ।

केन्द्रमा दुई पार्टी (तत्कालीन एमाले र माओवादी)बीच एकता भए पनि एकताका बाँकी काम टुंगो लगाउन नेकपाको स्थायी समिति बैठकले गएको पुस १३ गते ९ सदस्यीय कार्यदल गठन गरेको थियो। कार्यदलको बैठक अगाडि बढ्नै नसकेपछि दुई अध्यक्षले अधिकार आफ्नो हातमा लिने तयारी गरेका हुन्।

पुस मसान्तसम्म काम सम्पन्न गरिसक्ने भनेको कार्यदलको मुस्किलले ५/६ वटा बैठक मात्र बस्न सक्यो। कार्यदलको काम अगाडि बढ्न नसक्दा एकता प्रकृया नै पछाडि धकेलिएपछि दुई अध्यक्ष ओली-प्रचण्डले हालसम्म भएको कामको अधुरो प्रतिवेदन माग्ने तयारी गर्न थालेका हुन्।

यसविषयमा दुई अध्यक्षबीच पछिल्लो समय निरन्तर छलफल हुँदै आएको छ। शनिबार पनि दुईअध्यक्ष अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो। दुई अध्यक्षले अझै कार्यदललाई केही दिन पर्खने तर पर्खदा पनि कार्यदलले प्रतिवेदन बुझाउने संकेत नदेखाए प्रतिवेदन जस्तो अवस्थामा भएपनि माग्ने मनस्थितिमा अध्यक्षद्वय पुगेको स्रोतले बतायो।

नेकपाको गएको मंसिर २९ देखि पुस १३ सम्म चलेको स्थायी कमिटीको बैठकले सचिवालय सदस्य रामबहादुर थापा 'बादल'को नेतृत्वमा ९ सदस्यीय शक्तिशाली कार्यदल गठन गरेको थियो। एकताको काम पूरा गर्नका लागि गठन गरिएको यो चौथो कार्यदल हो। यसअघि विभिन्न समयमा विभिन्न नेताहरूको नेतृत्वमा तीन वटा कार्यदल बनाइएको थियो। ती कार्यदलले पनि अधुरो काम मात्रै गरेका थिए।

चौथोपटक गठन गरिएको कार्यदललाई जिल्लाको नेतृत्व टुंग्याउने सहित बाँकी एकताका सम्पूर्ण काम पुरा गर्नेगरी अन्तिम खाका तयार पार्नेगरी अधिकार दिइएको थियो। तर यो कार्यदल पनि केही दिन बैठक बसेर बिचमै नेताहरूबिच बिवाद चुलिएपछि कार्यदलको बैठक बस्नै सकेको छैन।

खासगरी यसअघिको कार्यदलले सिफारिस गरेको प्रदेश कमिटीको विषयमा कार्यदलका नेताहरूबीच बिवाद भएको थियो। खासगरी प्रदेश कमिटीमा १० प्रतिशत छुटेका नेताहरू थप्ने भन्ने विषयले प्रवेश पाएपछि बिवाद चुलिएको हो। त्यसयता कार्यदलका नेताहरूबीच बैठक बस्न नसकेको छैन।

कार्यदलका सदस्य नेकपा स्थायी कमिटी सदस्य बेदुराम भूषालले गएको माघ ७ गतेपछि बैठक बस्न नसकेको बताए। कार्यदलमा अध्यक्षद्वय ओली, दाहाल र वरिष्ठ नेता माधव नेपाल पक्षका ३–३ जना नेता सदस्य छन्।

यो पनि हेर्नुस्ः

नेकपा एकता : कार्यदलको बैठक बस्नै सकस

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.