यो वर्ष पनि समयमै पुस्तक नपुग्ने पक्का

|

डोल्पा : कर्णालीमा यसवर्ष पनि समयमै पाठ्यपुस्तक नपुग्ने पक्का भएको छ। फागुनदेखि नयाँ शैक्षिक शत्र सुरु हुने हुम्ला, जुम्ला र डोल्पामा यसवर्ष पनि समयमै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक नपुग्ने पक्का भएको हो। यतिबेलासम्म एजेन्टहरूलाई पाठ्यपुस्तक वितरण गरिसक्नुपर्ने भए पनि निजी प्रकाशनले अझै किताब छाप्न सुरु गरेको छैन। देशभर १ देखि ४ कक्षासम्म पाठ्यपुस्तक छाप्ने जिम्मा पाएको निजि प्रकाशनलाइ सरकारले दिने जिम्मेवारीमा ढिलासुस्ती गरेको कारण अझै किताब छाप्न सुरु नगरेको बताएको छ।

'सरकारले अघिल्लो महिनाको ३० गते मात्रै निजि प्रकाशनलाइ किताब छाप्न अनुमति दियो,जसका कारण करिब दश महिनासम्म मेशीनहरु थन्केर बसे,बल्ल मेशिन बनाउने मान्छे भारतबाट बोलाएर बनाउँदै छौ,मेशिन बनेलगत्तै धमाधम किताब छाप्न शुरु गर्छौ' निजी प्रकाशनका रामहिरा पाठकले भने।

'जनक शिक्षा सामाग्री केन्दलाइ ३ सय ६५ दिननै किताब छाप्ने अनुमति दिइएको छ,जनक शिक्षालाइ जस्तै निजी प्रकाशनले समयमै किताब छाप्ने अनुमति पाएको भए यतिखेरसम्म कर्णालीकालागि किताब बितरण गर्न शुरु गरिसक्थ्यौ।' गत वर्षका पुराना किताबहरु बाँकी रहेकाले पुराना र नयाँ गरेर फागुन २० गते सम्म जुम्ला, हुम्ला र डोल्पामा किताब पुर्‍याउने निजी प्रकाशनले जनाएको छ।

फागुन लाग्दैमा कर्णालीमा नयाँ शैक्षिक सत्र सुरु भइसक्ने भए तापनि निजी प्रकाशनको ढिलासुस्तीका कारण यसवर्ष पनि १–४ कक्षाको किताब समयमै विद्यार्थीको हातहातमा नपुग्ने पक्का भएको हो। निजी प्रकाशनले फागुन २० सम्ममा किताब पुर्‍याउने बताइरहँदा ढुवानी लगायतका समस्याका कारण नयाँ शैक्षिक शत्र सुरु भएको एक महिनापछि मात्रै विद्यार्थीले किताब पाउने भएका हुन्।

'जनक शिक्षाबाट ५ देखि १० कक्षा सम्मका किताब लिएर पनि पठाइसकेका छौँ, निजी प्रकाशनले भने किताब नछापिएको भन्दै खालीहात फर्काएको छ' डोल्पा मुड्केचुला गाउँपालिका किताब एजेन्ट लंक रोकायले भने। 'अहिलेसम्म किताब छाप्न सुरु नभएको निजी प्रकाशनले कहिले किताब छाप्छ, कहिले हामीले पाउँछौ,कहिले ढुवानी गर्ने कहिले विद्यार्थीको हातहातमा किताब पुर्‍याउने ठूलो अन्योलमा परेका छौँ।' मुड्केचुला गाउँपालिकामा पर्ने १३ बिद्यालयको किताब ढुवानीका लागि रोकाय नेपालगञ्ज पुगेका हुन्। हवाईजहाजमा किताब लैजाँदा ढुवानी भाडा महँगो पर्ने भएकाले बिचबाटोसम्म गाडी र त्यसपछि खच्चडमा ढुवानी गरेर किताबहरु पुर्‍याउँदै आएको डोल्पाका एजेन्टहरुले बताएका छन्।

जनक शिक्षाले किताब बाँड्न सुरु

गत वर्षसम्म किताब छपाइमा हुने गरेको ढिलासुस्तीका  कारण कर्णालीमा समयमै किताब नपुग्ने गरेको आरोप खेप्दै आएको जनक शिक्षा सामाग्री केन्द्रले यस बर्ष भने गत शुक्रबारदेखि नै धमाधम किताब वितरण सुरु गरेको छ। कक्षा ५ देखि १० सम्मको किताब छाप्ने जिम्मा पाएको जनक शिक्षा सामाग्री केन्द्रले कर्णालीमा किताब ढुवानीकालागि सुर्खेत नेपालगञ्जबाट वितरण सुरु गरेको हो।

किताब लिन आएका एजेन्टहरुलाई शनिबार पनि किताब बितरण गरिरहेको जनक शिक्षा सामाग्री केन्द्र नेपालगञ्जका प्रमुख रबीन्द्र शर्माले जानकारी दिए। हुम्ला, जुम्ला र डोल्पामा फागुन देखिनै नयाँ शैक्षिक सत्र शुरुहुने भएकाले समयमै किताब पुर्‍याउन कालागि सुर्खेत र नेपालगञ्जमध्ये जता पायक पर्छ त्यतैबाट किताब लैजान भनेको शर्माले बताए। आठवटा स्थानीय तह रहेको डोल्पामा आ–आफ्नो स्थानीय तहमा पाठ्यपुस्तक ढुवानी गर्नकालागि एजेन्टहरु नेपालगञ्ज पुगिसकेका छन्।

त्रिपुरासुन्दरी नगरपालिका,ठुलीभेरी नगरपालिका र शे–फोक्सुन्डो गाउँपालिका कतिपय पाठ्यपुस्तक एजेन्टहरुले गत शुक्रबारनै कक्षा ५ देखि १० सम्मका किताबहरु उठाइसकेको र बाँकी स्थानीय तहका किताब एजेन्टहरु आउनेक्रम जारी रहेको जनक शिक्षा सामाग्री केन्द्र नेपालगञ्जले जनाएको छ। फागुनदेखि नयाँ शैक्षिक सत्र सुरुहुने तीन जिल्लाका कक्षा ५ देखि १० सम्म ५ हजार सेट पाठ्यपुस्तक भए पुग्ने जनक शिक्षा सामाग्री केन्द्रको भनाइ छ।

नेपालगञ्जमा मात्रै पुरानो बचत भएका र नयाँ छापिएका गरेर २० लाख थान पाठ्यपुस्तक रहेकाछन्।हुम्लाकालागि १ देखि १० कक्षासम्मकै किताब आफैले बितरणगर्ने जनक शिक्षा समाग्री केन्द्रले जनाएको छ। कर्णालीमा समयमै पाठ्पुस्तक नपुग्ने र पुगिहाले पनि अपुरा पुग्ने गरेकाले कतिपय बालबालिकाले विद्यालयमा शिक्षकले पढाएको सुनेको भरमा वार्षिक परीक्षा दिने गरेका छन्।

डोल्पा जिल्लामा प्राविदेखि मावि तहसम्मका एक सय १५ वटा बिद्यालयका विद्यार्थीको लागि १२ हजार ४ सय ३५ थान पाठ्पुस्तक आउदो शैक्षिक सत्रमा आवश्यक रहेको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ। कर्णालीका जिल्लामा समयमै पाठ्यपुस्तक नपुग्ने गरेकाले शैक्षिक सत्र सुरुवातको दुइ महिनासम्म पुराना किताबको भरमा अध्यापन गर्नुपर्ने बाध्यता रहेको प्रधानाध्यापकहरुले गुनासो छ।

जनक शिक्षाले किताब बितरण शुरु गरिसकेकाले कक्षा ५ देखि १० सम्मका किताब समयमै पुग्ने देखिएपनि निजि प्रकाशनले जिम्मा लिएको १ देखि ४ कक्षासम्मको किताब यसबर्ष पनि अभाव हुने देखिन्छ। कर्णालीका जिल्लाहरु प्रत्येक वर्ष किताब अभाव हुँदै आएको छ भने विद्यार्थीहरुले पुराना किताबको भरमा वार्षिक परीक्षामा सामेल हुनुपर्ने बाध्यता यस वर्ष पनि कायमै हुने देखिन्छ। कर्णालीका तीन जिल्लाबाहेक अन्य जिल्लाहरुमा वैशाखमा मात्रै नयाँ शैक्षिक शत्र सुरु हुने गर्दछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.