कञ्चनपुर : कञ्चनपुरको बेलौरी नगरपालिकाका ट्रेन्च प्रविधिमा उखु रोप्दै आएका किसानले अन्तरबालिका रूपमा आलु रोपेर अतिरिक्त आम्दानी हात पारेका छन्।नगरपालिकाका उत्कृष्ट १० जना किसानले ट्रेन्च प्रविधिअन्तर्गत उखु रोपिएको ठाउँ नजिकैको खाली ठाउँको सदुपयोग गर्दै उखु सँगसँगै आलु रोपेर आम्दानी लिएका हुन्।
ट्रेन्च प्रविधिअन्तर्गत पंक्तिबद्ध रूपमा उखु रोप्दा एक पंक्तिदेखि अर्को पंक्तिको दूरी दुई फिट बढी छाड्नुपर्ने हुन्छ नगरपालिकाको कृषि शाखाका नायव प्राविधिक सहायक हरिश सेटीले भने, ‘पंक्तिको बीचको खाली रहने भागमा किसानलाई अनुदान उपलव्ध गराई पहिलोपटक अन्तर्बालीका रूपमा आलु रोप्न लगाएका छौँ।’
उखु आठ महिनाभित्र बेच्नका लागि तयार हुने भए पनि उखुका बोट हुर्किनुअगावै तीन महिनामा आलुबाली भित्र्याउनका लागि तयार हुने गरेको उनले बताए।
नगरपालिकाको १० वटै वडाका उत्कृष्ट १० जना किसान छनोट गरी उखुसँग आलु बाली प्रदर्शन कार्यक्रमअन्तर्गत बढी फल्ने कार्डिनल जातको आलुको बिउ, रासायनिक मल, विषादी अनुदानमा उपलब्ध गराउनुका साथै प्रविधिमा सहयोग गरिएको कृषि शाखाका प्रमुख रणबहादुर मल्लले बताए।
अनुदान उपलब्ध गराइएका प्रत्येक किसानले ६ कठ्ठा जग्गामा उखुसँगै आलु रोपेर आम्दानी गरेका छन् उनले भने, ‘पहिलोपटक नमुनाका रूपमा उखु बालीसँगै आलु रोप्न किसानलाई उत्प्रेरित गरेका छौँ। आलुको उत्पादन चाहेभन्दा राम्रो भएकाले किसान उत्साहित भएको पाइएको छ।’
उखुसँगै रोपिएको आलुको उत्पादन प्रतिकठ्ठा ६ क्विन्टल बढी फलेको उनले बताए। स्थानीय किसान असारे बडायकले ६ कठ्ठामा उखुसँगै लगाइएको आलुको उत्पादन ३० क्विन्टल बढी भएकाले उत्साहित भएको बताए।
अर्को वर्ष उखु रोपिएको पूरै क्षेत्रमा आलु पनि सँगै रोप्ने मनस्थितिमा रहेको उनले सुनाए। उनले भने ‘यसअघि उखु मात्रै रोप्दथ्यौं। यस वर्षदेखि उखुसँगै आलु रोपेर दोहरो आम्दानी भएको छ।’
कृषि शाखाले नयाँ तरिकाले उखु बालीसँगै आलु रोप्नेबारे तालिम दिई दक्ष बनाई अनुदानमा बिउसँगै आवश्यक रासायनिक मल उपलब्ध गराएपछि उखुसँग आलु रोप्दा सोचेभन्दा बढी आलु फल्यो अभिनन्दन बडायकले भने, ‘उखुसँग अर्को वर्ष बढी जग्गामा आलु रोप्ने योजना छ।’
आलुसँगै यस क्षेत्रका किसानले ट्रेन्च प्रविधिको प्रयोग गरी कात्तिके उखुका चाँडै हुर्कने ०२३८, को ०२३९, कोलख ९४१८४, कोशा ०३२३४ लगायतका जातका लगाउँदै आएका छन्। यसरी रोपिएको उखुको उत्पादन प्रतिहेक्टर ८० मेट्रिक टन हुने गरेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।