|

काठमाडौं : केही समय अगाडिसम्म युवतीले आफ्नो सुन्दरताकै आधारमा युवाहरूलाई माया जालमा पार्ने र विभिन्न वहानामा ठग्ने गरेको घटानाहरू आउने गर्थे। कतिपय युवतीले व्यवसायीहरूलाई माया जालमा पार्दै फिरौतीका लागि अपहरण र हत्यासम्म गरेका उदाहरण छन्।

त्यसको उदाहरण २०७४ साल जेठ २६ गते अपहरणपछि हत्या गरिएका दाङ तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठ र ०७४ चैत्र ५ गते काठमाडौं न्युरोडका अपहरणमा परेका व्‍यापारी श्याम सुन्दर अग्रवाल हुन्।

श्रेष्ठलाई तुलसीपुरकै १७ वर्षीया पूजा श्रेष्ठको योजनापछि हत्या भएको थियो। तीन करोड रुपैयाँ फिरौती माग्ने उद्देश्यका साथ पूजाका बुबा टीकाराम घर्ती लगायतका समूहले पूजालाई प्रयोग गरेर श्रेष्ठलाई अपहरण गरेका थिए। सल्यानको जंगलमा तीन दिनसम्म लगातार हिँडेपछि उनी बिरामी भएर ढलेपछि उनको हत्या गरिएको प्रहरीले जनाएको थियो। हाल पूजालगायत श्रेष्ठका हत्यामा संलग्नहरू जेल जीवन भोगिरहेका छन्।

त्यस्तै, अग्रवाललाई उनकै पसलमा काम गर्ने धादिङ थाक्रे ४ का २४ वर्षिया राधिका सुनारले आफ्ना प्रेमीसँग मिलेर अपहरण गरी काठमाडौंको सुन्धारास्थित सनराइज होटलमा बन्धक बनाएका थिए। अग्रवालले १० लाख ७० हजार रकम दिएपछि उनी अपहरण मुक्त भएका थिए।

पछि अपहरणकारीले पोल खुल्ने डरले राधिकाकै हत्या गरेका थिए। हत्या र अपहरणमा संलग्न किशोर गिरीलगायत अन्य दुईजना हाल जेल जीवन भुक्तान गरिरहेका छन्। अपराधको दुनियाँमा युवतीहरूले ‘हनी ट्रयापर’ को भूमिका खेल्ने र पुरुषहरूलाई जालमा पार्ने चलन संसारभरी नै रहेको प्रहरीको भनाइ छ। तर, आजभोलि केही अवस्था परिवर्तन हुँदै पुरुषहरूले समेत विभिन्न आश्‍वासन दिएर युवतीहरूलाई ठग्ने गरेको घटना सार्वजनिक हुँदै गएका छन्।

काठमाडौं महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी नावय उपरीक्षक होबिन्द्र बोगटीका अनुसार युवाहरूले पैसाकै लागि युवतीहरूलाई विभिन्न आश्‍वासन दिने देखावटी रूपमै कोही उच्च घरानाका बताउने, कोही नेपाल प्रहरीको उच्च अधिकारी हुँ भन्नेदेखि हङकङका लाहुरे भनेरसमेत ठगी गरेका घटना आएको उनको भनाइ छ। केही युवाले ‘हनी ट्रयापर’ शैलीमै धनाढ्य महिलालाई मायाको जालमा परेर ‘रोमान्स’ गर्ने पैसासमेत माग्ने गरेको देखिएको बोगटीको भनाइ छ।

घटना नम्बर १

पुस २९ गते पाँचथर फैलचा गाउँपालिका- ४ का रविन चिमरिया पक्राउ परे। दाङकी एक दोहोरी साँझकी सञ्‍चालिकासँग विवाह गर्छु भनेर २० लाखभन्दा बढी ठगेको अभियोगमा अपराध महाशाखाको टोलीले उनलाई सुन्धाराबाट पक्राउ गरेको थियो।

चिमरियाले आफू अस्‍ट्रेलियाबाट आएको र विवाह गर्ने आसपासन देखाएर युवतीलाई दोहोरी साँझसमेत बेच्न लगाएर दोहोरी साँझ बेचेको २० लाख रुपैयाँ ठगेका थिए।

रूपैयाँ लिएर चिमरिया फरार भएपछि युवतीले महानगरीय अपराध महाशाखामा उजुरी दिएका थिए। सोही आधारमा पक्राउ परेका चिमरियालाई ठगी मुद्धामा अनुसन्धान गर्दा उनले सयौ युवतीलाई यस्तै विभिन्न आसपासन दिएर ठगी गरेको खुलेको हो।

घटना नम्बर २

चैत १९ गते हटौंडा–४ मकवानपुरका ३१ वर्षीय रामबहादुर मोक्तानमाथि एक महिलाले चेक बाउन्सको उजुरी दिइन्। मोक्तानले एक युवतीलाई विभिन्न आसपासन दिएर करिब दुई लाख रुपैयाँभन्दा बढी लिएका थिए।

पछि सम्बन्ध बिग्रिन थालेपछि युवासम्पर्कविहीन हुन खोजेका थिए। युवतीको प्रहरीमा उजुरी गर्ने भनेपछि मोक्तानले आफूले खर्च गरे बराबरको चेक ती युवतीलाई दिएका थिए। चेक नसाटिएपछि उनले चेक बाउन्स गरेर युवती प्रहरी कहाँ उजुरी दिन पुगेका थिए। 

चेक बाउन्सबारे प्रहरीले युवतीलाई सोधपुछ गर्दा मोक्तानले पीडित युवतीलाई विहेको आश्‍वासन दिएर शारीरिक सम्बन्धसमेत गर्ने गरेको खुलेपछि मोक्तानलाई प्रहरीले पक्राउ गरेको थियो। प्रहरीका अनुसार पैसाकै लागि उनले युवतीसँग बिहेको आश्वासन दिएका थिए।

घटना नम्बर ३

केही महिनाअघि मनीष नामको एक युवाको सम्पर्क सामाजिक सञ्जाल फेसबुकमार्फत हङकङमा रहेकी युवतीसँग हुन पग्यो। फेसबुककै माध्यमबाट कुराकानी हुन थाल्यो। विस्तारै उनीहरू बीचको सम्बन्ध प्रेममा परिणत भयो। युवती प्रेमीलाई भेट्न हङकङबाट काठमाडौं आइन्। भेट पनि भयो। दरबारमार्गको एक होटलमा उनीहरुले केही रातसमेत विताएको देखिएको काठमाडौं प्रहरीको भनाइ छ। उनीहरूले अर्कोपटक बिहे गर्ने सहमति गरेका थिए। सहमतिपछि युवती फेरि हङकङ फर्किइन्।

युवतीले हङहङबाट ती युवालाई हुण्डीमार्फत लाखौं रुपैयाँ पठाएकी थिइन्। जब युवती बिहे गर्ने भन्दै काठमाडौं आइन् एकाएक ती युवा सम्पर्कविहीन भए। युवा सम्पर्कविहीन भएपछि युवती प्रहरीमा उजुरी दिन पुगेकी थिइन्। प्रमाणको रूपमा म्यासेन्जरमा कुराकानी भएको बाहेक अरू केही नदेखिएपछि युवासम्म प्रहरी पुग्न सकेको छैन।

निशानामा एकल महिला

प्रहरीका अनुसार आजभोलि युवाहरूबाट ठगिए भनेर प्रहरीमा आउने अधिकांश महिलाहरू श्रीमान विदेशमा भएका, श्रीमानसँग सम्बन्धविच्छेद भएर एक्लै बसेका महिलाहरू हुने गरेका छन्। युवाबाट ठगिएका महिलाहरूको भित्री अनुसन्धान गर्दै जाँदा अनैतिक सम्बन्ध हुने गरेको मन मिल्दासम्म रमाइलो गर्ने र पछि सम्बन्ध बिग्रेपछि ठगिएँ भनेर प्रहरीमा आउने गरेको देखिएको परिसरका प्रवक्ता होवीन्द्र बोगटीको भनाइ छ।

धेरै युवा सजिलै पैसा पनि आउने रमाइलो गर्न पनि पाइने लालशाले पैसा हुने र घरमा श्रीमान नहुने महिलाप्रति आक्रर्षित हुने गरेको देखिएको प्रहरी भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.