|

काठमाडौं : गृह मन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यालयले पूर्व-प्रधानमन्त्री, पूर्व-न्यायाधीश, पूर्व-मन्त्रीलगायत विशिष्टहरूको सुरक्षार्थ खटिएका १ सय १७ जना सुरक्षा गार्ड (पिएसओ) फिर्ता गरेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार २०७४ चैतदेखि हालसम्म १ सय १७ पिएसओ र अगुवापछुवाका लागि प्रयोग भएका सवारीसाधन र चालकसमेत फिर्ता बोलाएको प्रहरी प्रधान  कार्यालयले जनाएको छ।

पिएसओका नाममा पूर्व-गृहमन्त्रीमा खुमबहादुर खड्काको घरमा समेत तीनजना प्रहरी कर्मचारी खटिएका थिए। उनको निधन पछि पनि ती प्रहरी उनको घरद्वार सुरक्षामा खटिएका थिए। त्यस्तै, पूर्व-गृहमन्त्री जनार्दन शर्माको अगुवापछुवा र सुरक्षार्थ खटिएका नौजना प्रहरी कर्मचारीसमेत फिर्ता गरिएको छ।

त्यस्तै, सशस्त्र प्रहरी बलले समेत २ सय बढी कर्मचारीलाई फिर्ता बोलाएको जनाएको छ। गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी २ सय ७५ जना बढी कर्मचारी फिर्ता भएको बताए।  

'पूर्व-विशिष्ट कर्मचारी र पूर्व-मन्त्रीहरूले सुरक्षार्थभन्दा सुरक्षाकर्मीहरूलाई घरायसी काममा प्रयोग गर्ने गरेको पाएपछि त्यस्ता कर्मचारी फिर्ता बोलाउन सशस्त्र बल र नेपाल प्रहरीलाई निर्देशन भएको त्यहीअनुसार फिर्ता भएका हुन,' सुवेदीले भने। गृहमन्त्री रामबहादुर थापाले सार्वजनिक गरेको ८२ बुँदे गृह सुधार योजनाअन्तर्गत पूर्व-विशिष्ट कर्मचारी र मन्त्रीका घरमा रहेका पिएसओ फिर्ता बोलाइने रहेको थियो।

वर्षौंदेखि त्यस्ता व्यक्तिको सुरक्षा र सहयोगीको रूपमा धेरै सुरक्षाकर्मी खटाइएका छन। यसमध्ये कतिपयले घरको काम र करेसाबारीमा समेत काम लगाउने गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.