|

उदयपुरः स्थानीय तहको निर्वाचन भएको झन्डै दुई वर्ष भएको छ। जनप्रतिनिधिहरू आफ्नो क्षेत्रको विकासमा लागिपरेको बताउँछन्। गाउँपालिका उपाध्यक्ष तथा नगरपालिकाका उपप्रमुखहरूलाई न्याय र अनुगमन क्षेत्रको कार्यकारी अधिकार दिइएको छ। यसैक्रममा थाहाखबरकर्मी विदुर कटुवालले उदयपुरगढी गाउँपालिकाकी उपाध्यक्ष सानु राउतसँग गाउँपालिका र उपाध्यक्षको कामकारबाही, अनुगमन, न्याय सम्पादनलगायतका विषयमा गरेको कुराकानी:

स्थानीय तहको करिब दुई वर्षको अनुभव कस्तो रह्‍यो?

हामी सिकाइकै क्रममा छौँ। सबैसँग घुलमिल अनि अभ्यास गर्दै सिक्ने काम भइरहेको छ। सिक्दै पनि गएका छौँ।

स्थानीय तहमा उपाध्यक्ष तथा उपप्रमुखहरू न्यायिक समितिको संयोजक छन्। सिकाइकै क्रममा न्याय सम्पादन कसरी गरिरहनुभएको छ?

म उदयपुरगढी गाउँपालिकाको उपाध्यक्ष भएकाले न्यायिक समितिको संयोजक पनि छु। जनप्रतिनिधि भएर आएको दुई वर्ष बित्न लागिसक्यो। कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको व्यवस्था छ। यी तीन वटैलाई एउटै लेबलबाट हेरिएको छ। तर, न्यायपालिकालाई हेर्ने नजर अलि फरक हो कि भन्ने जस्तो लाग्छ। हालसम्म न्याय सम्पादनको कुनै पनि तालिम गोष्ठीमा राज्यले सहभागी गराएको छैन। जसले गर्दा काम गर्न कठिन भएको छ। न्याय सम्पादनका लागि राज्यले तालिम दिनु जरुरी छ। 

सरकारले अहिलेसम्म क्षमता अभिवृद्धि तालिम दिएन?

हो। हामी उपाध्यक्ष वा उपप्रमुख सबै कानुन पढेका छैनौँ। हामीलाई कानुन अधिकृत दिनु पर्छ। हुनत हामीले अहिलेसम्म जिम्मेवारी वहन गरिरहेका छौँ। तर, न्याय सम्पादनको काम गर्न असहज भएको छ। सं‌घीयले न्याय सम्पादनका लागि न्यायिक समितिका संयोजकहरूको क्षमता अभिवृद्धि गरिदिए झनै राम्रो हुने थियो। कम्तीमा सात दिनको तालिम भए झनै राम्रो हुने थियो।

उदयपुरगढी गाउँपालिकाका कस्ता कस्ता मुद्दाहरू न्यायिक समितिमा आएका छन्?

साँध सिमाना, पारिवारिक झैँ झगडा, अंशबण्डा, लेनदेन, श्रीमान्-श्रीमतीको झगडा, बहुविवाहका मुद्दाहरू आउने गरेका छन्। 

उपाध्यक्षलाई अनुगमन समितिको पनि संयोजक बनाइएको छ। तपाईले के के अनुगमन गर्नुभयो?

विशेष गरेर विकास निर्माणका कामहरूको अनुगमन गर्ने हो। गाउँपालिकासँग जोडिएका प्रत्येक योजनाहरू प्राविधिकनै लगेर हेर्ने गरेका छौँ। भौतिक पूर्वाधारतर्फ भए प्राविधिक तथा इन्जिनियर नै लिएर जान्छौँ। कृषि, पशुलगायतका योजनामा विषयगतकै कर्मचारी लगेर अनुगमन गर्ने गरेका छौँ। न्यायिक र अनुगमन समितिको जिम्मेवारी सम्हाल्न धेरै समय मिलाउन जरुरी छ। मिलाउँदै जिम्मेवारी वहन गरिरहेको छु।

जनप्रतिनिधि आएको यति लामो समयसम्म पनि उदयपुरगढीमा खासै परिवर्तन भएको देखिँदैन नि?  

कर्मचारी र जनप्रतिनिधिका आ-आफ्नै क्षेत्राधिकार छन्। त्यहीअनुसार नै जनप्रतिनिधि र कर्मचारीले काम गर्ने हो। भन्नेले भनेको र सुन्नेले सुनेको जस्तो छैन। हामीले जनताको काम गर्दा आरोपहरू लगाउनेलाई केही भन्न सकिँदैन। हामी पनि जनप्रतिनिधिहरू भएर आएसँगै केही समस्या आएको हो। अहिले त्यस्तो समस्या छैन। 

देखिनेगरी काम भएको छैन। छर्लङ्ग देखिने काम गर्न सकिएको छैन। व्यवस्थापनकै पक्षमा धेरै काम गर्नु परेको छ। कार्यालयहरू व्यवस्थित छैनन्। उदयपुरगढी गाउँपालिकामा धेरै विषयगत कार्यालयहरू अझै भाडामा छन्। विस्तारै विषयगत कार्यालयहरूको स्थापना गर्दै लगेका छौँ। अन्य गाँउपालिकाकोभन्दा कार्यालय व्यवस्थापनमा हामी अगाडि छौँ। उदयपुरगढीको आठ वटै वडामा सामुदायिक विद्युतीकरणको प्रक्रिया अघि बढाइरहेका छौँ। चार वटा वडाका लागि टेन्डर अघि बढिसकेको छ। अन्य स्वास्थ्य, शिक्षा, रोजगार, कृषि सडकमा पनि काम भइरहेको छ।

समग्र गाउँपालिकाको विकास कसरी अघि बढिरहेको छ होला?

प्रत्येक वडाका ठूला बस्ती रहेका टोलटोलमा सडक पुर्‍याउने काम भइरहेको छ। सबै टोलमा सवारी साधन पुगेका छन्। स्तरोन्नतिका लागि पनि काम भएको छ। बिजुलीका लागि सामुदायिक विद्युतीकरण कार्यक्रम चलाएका छौँ। आशा छ, हामी सफल हुन्छौँ।

अहिलेसम्म गाउँपालिकाको केन्द्र उदयपुरगढीमा त बिजुली पुगेको छैन। कसरी सफल होला सामुदायिक विद्युतीकरण कार्यक्रम?

केन्द्रमा मात्र बाल्ने भनेको भए अहिलेसम्म पुर्‍याउने थियौँ। तर, एकैपटक सबैतिर बिजुली बाल्ने गरी काम भइरहेको छ। एकै योजनाले गाउँपालिकाभित्र रहेको सबै वडामा पुर्‍याउने गरी सामुदायिक विद्युतकरण योजना अघि सारेका हौँ। मैले अघि पनि भनेको छु। चार वटा वडामा टेन्डर प्रक्रियाबाट अघि बढेको छ। सामुदायिक विद्युतीकरणले गरेपछि अन्य योजनाहरू ल्याउन नसकिने रहेछ। हामी सामुदायिक विद्युतीकरणबाटै गाँउपालिकाभरी बिजुली बाल्नेछौँ।

उदयपुरगढीमा कर्मचारीको समस्या कस्तो छ?

एक वर्षअघिसम्म कर्मचारी अभाव अनि गाउँपालिकाको केन्द्रमै भौतिक पूर्वाधारतर्फका भवनहरू नहुँदा झनै समस्या थियो। सदरमुकाम गाईघाट र उदयपुरगढी गरेर चलाउनु पर्ने थियो। अहिले गाउँपालिकाको केन्द्रबाटै धेरै काम गर्न सकिने भएको छ। अहिले आएको कर्मचारी समायोजनले झनै समस्या निम्त्याएको छ। भएका कर्मचारी पनि कहाँ पुगिने हो, कहाँ पुर्‍याउने हो, भन्ने चिन्तामा छन्। नेपाल सरकारले तोकेको दरबन्दीअनुसार अझै पनि कर्मचारी छैनन्। कर्मचारी नभएकै कारण जनप्रतिनिधिहरूले विभिन्न दोषहरू बोक्नु परेको छ।

तपाई जनताका प्रतिनिधिहरू कर्मचारीको इशारामा चलेको आरोप छ नि?

कर्मचारी र जनप्रतिनिधिका आ-आफ्नै क्षेत्राधिकार छन्। त्यहीअनुसार नै जनप्रतिनिधि र कर्मचारीले काम गर्ने हो। भन्नेले भनेको र सुन्नेले सुनेको जस्तो छैन। हामीले जनताको काम गर्दा आरोपहरू लगाउनेलाई केही भन्न सकिँदैन। हामी पनि जनप्रतिनिधि भएर आएसँगै केही समस्या आएको हो। अहिले त्यस्तो समस्या छैन। 

भन्नेले भन्दै जान्छन्, गर्नेले काम गर्दै जाने हो?

नकारात्मक बाटोहरू हेर्नेले सकारात्मक रूपमा भएका कामहरू पनि हेर्नु पर्छ। हामी जानीजानी नकारात्मक बाटोमा जाँदैनौँ। अन्जानमा गयौँ भने, उहाँहरूले सल्लाह सुझाव दिनुपर्छ।

उदयपुरका अधिकांश स्थानीय तहले डोजर खरिद गरेका छन्। तपाईहरूले चाहिँ किन किन्नु भएन?

सुरुमा डोजर खरिद गर्ने हो कि भन्ने सोँच थियो। कि त आठ वटै वडामा एक/एक वटा पुग्ने गरी खरिद गर्न सक्नु पर्‍यो, नत्र खरिद गर्न भएन भन्ने निष्कर्षमा पुग्यौँ। अनि किनेनौँ।

उदयपुर जिल्लाकै प्रमुख पर्यटकीय क्षेत्र पनि उदयपुरगढी हो। पर्यटनको नजरबाट उदयपुरगढी कस्तो बन्छ?

हामीले  सुरुमा पाँच वर्षमा पाँच पर्यटन केन्द्रको विकास गर्ने छलफल गरेका थियौँ। निर्णय पनि गरेका छौँ। पुरानो ऐतिहासिक उदयपुरगढी प्रकृति, धार्मिक, सांस्कृतिक रुपले पर्यटकीय क्षेत्रको विकास गर्न सकिन्छ। उदयपुरगढीलाई पर्यटकीय रूपमा विकास गर्न बहुजातीय सङ्ग्रहालय बनाउने योजना छ। 

द्वन्द्वकालमा ध्वस्त भएको स्वास्थ्य चौकीलाई यथावत् राखी युद्ध सङ्ग्रहालय बनाउने तयारी पनि छ। भ्युटावर बन्दै छ। उदयपुरढीलाई पर्यटकीय पूर्वाधार निर्माण गरी प्रमुख गन्तव्य बनाउने योजना छ। यस्तै उदयपुरगढीका विभिन्न ठाउँमा रहेका धार्मिक क्षेत्रहरूलाई पनि धार्मिक पर्यटनको केन्द्र बनाउने जमर्को गरेका छौँ। 

तपाईहरूको कार्यकालमा उदयपुरगढी गाउँपालिकाको अनुहार कस्तो हुन्छ?

पर्यटन, स्वास्थ्य, शिक्षा, रोजगार, कृषि, आर्थिक, खानेपानीको आधार तयार पक्कै बनाउने छौँ। पुनर्संरचनापछि आएका जनप्रतिनिधिले गरे भन्ने गरी परिवर्तन ल्याउनु छ। भोलिका दिनहरूमा पनि हाम्रै नाम आउने गरी विकास गर्नु पर्ने छ। कतिसम्म सम्भव हुन्छ। साथ सहयोग जनताकै चाहिन्छ। उदयपुरगढीको उज्वल भविष्यका लागि एउटा आधार निर्माण गर्न सक्छौँ भन्ने आशा राखेका छौँ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.