|

काठमाडौं : फागुन -४ गेत बनेपा नगरपालिका वडा-७ धनेश्वरका १३ बर्षका सुवोध गौतम हराए। दिउँसो १ बजेतिर घरबाट निस्किएका उनलाई हराएको चार दिनपछि काठमाडौंको गौशलाबाट प्रहरीले फेला पारेर आफन्तलाई जिम्मा लगायो।

गौतम बनेपा काठमाडौं चल्ने बसमा साथीको लहैलहैमा काठमाडौं पुगेका थिए। काठमाडौं पुगेपछि हुलियाको आधारमा प्रहरीले खोजी गर्दा उनी गौशालामा भेटिएका हुन्।

यसरी नै साउन २९ गते काठमाडौंको गोंगबु नयाँ बसपार्कबाट एउटा बालक हराएको सूचना प्रहरीमा पुग्यो। तनहुँ शुक्लागण्डकी नगरपालिकाका निवासी सीता महतले आफ्ना नौ वर्षीय छोरा हराएको उजुरी प्रहरीमा दिएकी थिइन्।

प्रहरीको दिनभरीको खोजी कार्य पछि बालक राति आठ बजे सम्पर्कमा आएका थिए। सुरुमा प्रहरीलाई बालक अपहरणमा परेको सूचना आएको थियो। अपहरणको खबरले प्रहरीले खोजी तीब्र पारेको थियो।

तर घटनाको अनुसन्धान गर्दै जाँदा घरायसी झगडाका कारण बालककी आमाले छोरालाई छाडेर गएको खुल्यो। प्रहरीको सक्रियताले बालक त्यही दिन राति आठ बजे फेला परेका थिए।

यी दुई प्रतिनिधि घटनामात्र हुन्। यसरी देशका विभिन्न ठाउँबाट बालक हराउने र कतिपय बालबालिका सम्पर्कमै समेत नआउने गरेका छन्। प्रहरीका अनुसार कतिपय बालबालिका अपहरणमा परेर मारिएका समेत हुन्छन्, तर परिवारलाई थाहा नै हुँदैन। बालबालिका खोज तलास समन्वय केन्द्र भृकुटीमण्डपका अनुसार आर्थिक वर्ष २०७४-७५ र चालु आर्थिक वर्ष ०७५-७६ को पुषसम्म मात्रै देशभरबाट एक हजार चार सय ८३ बालक र तीन हजार पाँच सय ७२ बालिका हराएको उजुरी परेका छन्।

यसमध्ये सात सय १२ बालक र एक हजार २२ बालिका मात्र फेला परेको र सात सय ७१ बालक र दुई हजार पाँच सय ५० बालिका अझै वेपत्ता रहेको खोजतलास केन्द्रका प्रमुख मोहनबिक्रम दाहालको भनाइ छ। 'बालबालिका हराएका परिवारले आफ्ना बालबालिका हराउँदा मात्रै प्रहरी र बालबालिका खोज तलास समन्वय केन्द्रलाई जानकारी गराउने भेटिएपछि सम्पर्कमै नआउने प्रवृतिले हराएकाको तथ्यांक बढी देखिने गरेको छ,' दाहालले भने।

त्यस्तै खोजतलास केन्द्रका अनुसार दुई आर्थिक वर्षमा चार सय ४५ बालक र दुई सय ५२ बालिका बेवारिसे अवस्थामा फेला परेको जनाएका छन्। यसमध्ये २५३ बालक र १५१ बालिकाको परिवार खोजेर पुनर्मिलन गरेको प्रहरीले जनाएको छ। बाँकीलाई केन्द्रमै राखेर परामर्श दिइएको छ।

उपत्यकाबाट हराउँछन् धेरै बालबालिका

बालबालिका खोजतलास समन्वय केन्द्रको तथ्यांकअनुसार उपत्यकाबाट सबैभन्दा बढी बालबालिका हराउँछन्। यो सातै प्रदेशको भन्दा बढी हो। केन्द्रको तथ्यांकअनुसार दुई आर्थिक वर्षमा उपत्यकाबाट २९० बालबालिका हराएका छन्। केन्द्रका अनुसार देशभरका मानिसको बसोबास उपत्यका रहेको र ठूलो शहर भएका कारण पनि उपत्यकाबाट बालबालिका धेरै हराउने गरेका हुन्।

२०६३ सालबाट खोजतलास समन्वय केन्द्रले हराएका बालबालिकाको खोजी कार्य सुरु गरेको थियो। बालबालिका खोजतलास केन्द्रले हराएका बालबालिको खोजी मात्र नभएर वेबारिसे बालबालिको पुर्नस्थापनासमेत गर्ने गरेको केन्द्रका प्रमुख दाहलले बताए। जसको कारण बेवारिसे बालबालिकाको अवस्थामा सुधार आएर विभिन्न रोजगारी समेत लागेको उनको भनाइ छ।

केन्द्रका अनुसार बेवारिसे अवस्थामा फेला परेका बालबालिकालाई ‘बालबालिका खोज तलास समन्वय केन्द्र’मै राखेर उनीहरुको पारिवारिक अवस्थाबारे बुझ्ने र पत्ता लाग्यो भने घर पठाउने पत्ता लागेन भने बालबालिकालाई संस्थागत संरक्षणमा राखेर परामर्श गराउने गरेको हो। बालबालिका हराए खोजतलास समन्वय केन्द्रको १०४ हटलाइमा सम्पर्क गर्न सकिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.