|

काठमाडौं : नख्‍खुमा रहेको नीजि क्षेत्रको टेलिफोन सेवा प्रदायक कम्पनी एनसेल टावरको मूलढोकामा भएको बम विस्फोटको अनुसन्धानका लागि पक्राउ गरिएका सुरक्षा गार्डले आफूहरूले 'बम हो भनेर नचिन्दा विस्फोट भएको' प्रहरीलाई बयान दिएका छन्। 'कुकर जस्तो वस्तु एनसेलको अफिसको मूलढोकामै थियो। त्यो कुरा हामीभन्दा माथिका हाकिमले थाहा पायो भने जागिर जान्छ भनेर बाहिरको गेटमा पुगाएका हौँ, तर बम रहेछ विस्फोट भयो,' पक्राउ परेका गार्डले प्रहरी बयानमा भनेका छन्।

शुक्रबार बेलुका भएको बम विस्फोटमा टावरको सुरक्षाका लागि खटिएका सुरक्षा गार्ड नै शंकाको घेरमा परेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेर अनुसन्‍धान गरिरहेको छ। एनसेल टावरको सिसिटिभी फुटेज हेरेका प्रहरी अधिकारीका अनुसार बम विस्फोट हुनुभन्दा केही समयअघि एनसेल टावर अगाडिको गेटमा तीन मोटरसाइकलमा केही मानिस आएको देखिएको छ।

'उनीहरूले गार्डहरूसँग केही कुरा गरेको पनि देखिन्छ,' अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने,' त्यसको एकछिनपछि सुरक्षा गार्ड भित्र गएर बम ल्याएर गेटतिर लाँदै गरेको देखिन्छ।' त्यसको केही समयलगत्तै बम विस्फोट भएको थियो। विस्फोट भएको प्रेसर कुकर बम भएको प्रहरी अनुसन्धानमा देखिएको छ।

प्रहरीका अनुसार दुवै सुरक्षा गार्ड यसअघि सेनाका जमदार हुन्। प्रहरीले विप्लवको पार्टीले उनीहरूलाई प्रयोग गरेको आशंका गरेको छ। तर, उनीहरूले त्यो कुरा अस्वीकार गरेका छन्। तर, कहिलेकाहीँ विप्लवका कार्यकर्ता चिठी छाड्न अफिसमा आउने गरेको उनीहरूले स्वीकार गरेका छन्।

ललितपुर प्रहरीकाअनुसार ललितपुरबाटै शंकास्पद थप चारजना पक्राउ परेका छन्। उनीहरूमाथि अनुसन्धान भइरहेको ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी रवीन्द्र धानुकले बताए।

बम विस्फोटमा परेर घाइते भएका सिमप्रसाद गुरुङको शनिबार बिहान मृत्यु भइसकेको छ। अन्य दुईजना प्रतीक्षा खड्का र उरुसा मानन्धरको ललितपुरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ। ललितपुर बम विस्फोटको घटना पछि मुलुकभरको सुरक्षा व्यवस्था कडा परिएको प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले जानकारी दिएका छन्। 

सम्बन्धित समाचारः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.