|

पाल्पा : पाल्पा जिल्ला बगनासकाली गाउँपालिका बराङदीकी तुलसी गैरेको तानसेन मेहलधारामा हस्तकला केन्द्र सञ्चालनमा छ। त्यहाँ उनी क्रिष्टल माला, औठी, टप, चुरा, गुडिया तथा खेलौना बनाउँछन्।  श्रम र पसिना खर्चेर दुई चार पैसा कमाउन सकिने अनुभव उनले सुनाए। गैरे हस्तकलाका उत्पादित सामाग्री बिक्री गरेर केही पैसा कमाउन सफल भएका छन्। यसबाट आत्मनिर्भर बनेपछि सन्तृष्टि मिलेको गैरेको भनाइ छ। 

विसं २०५९ मा बगनासकाली गाउँपालिका पोखराथोककी १८ वर्षीया गैरे र बराङ्दीका २१ वर्षीय दीपक घिमिरे बीच विवाह भयो। विवाहको पाँच वर्षपछि गैरेले जीवनसाथी दीपकलाई गुमाउनु पर्दा ठूलो पीडा भयो। श्रीमान् गुमाउनुपर्दा साहाराविहीन मात्र होइन पारिवारिक समस्याकोसमेत चाङ लाग्यो। समस्यामाझ शिक्षण पेशा रोज्न बाध्य हुनुपर्‍यो। छोरासाथ तानसेनमा बस्नुभएकी गैरेका लागि छोरा र विद्यालय दुवैतर्फ समय निकाल्न निकै मुस्किल भयो। अहिले नौ वर्षको शिक्षण पेशा छाडेर उनी हाल हस्तकला व्यवसायमा रमाएका छन्। 

बिहानको समयमा छोराको पढाइलेखाइमा ध्यान दिन भ्याउछन्। भने दिउँसोमा हस्तकला केन्द्रको व्यवस्थापनमा खट्छन्। छोरा आदर्श कक्षा ८ मा अध्ययनरत छन्। आजकल घरमा सजावटकारुपमा गुडिया तथा खेलौनाको प्रयोग गर्नेक्रम बढ्दो छ। क्रिष्टल माला, औठी, टप, चुरा खोज्नेहरु तानसेनको मेहल्धाराको तुलसी हस्तकला धाउँछन्। हस्तकला सञ्चालनपछि मासिक रु २५ हजार कमाई हुने गैरेले बताए। 

हस्तकलाबाट समान बेच्ने र पैसा कमाउने मात्र गैरेको उद्देश्य होइन। अन्य एकल महिलालाई पनि रोजगार र स्वरोजगार बनाउने उनको चाहना छ। 'आफूले जानेको हस्तकलाको सीप अरु महिलालाई पनि बाँड्न तयार छु, आफूजस्तै एकल महिलालाई सक्षम बनाउन प्रशिक्षण सञ्चालनमा समय निकाल्छु, तालीम चलाउन गाउँगाउँमा पुग्छ',तुलसीले भने। हालसम्म १५० एकल तथा अन्य महिलालाई तालीम दिइएको उनले बताए। 

'केहीलाई आफूले जानेको सीप सिकाउन र अन्य महिला पनि आत्मनिर्भर होउन भनेर हस्तकला प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याएको हो', तुलसीले भने। सस्तो र राम्रो पनि हुने भएकाले अधिकांश महिलाको क्रिष्टल सामाग्रीप्रति आकर्षण बढेको पाइन्छ।  बिहान १० बजेदेखि साँझ ६ बजेसम्म हस्तकला सिकाउन व्यस्त गैरे सामाजिक रूपमा एकल महिलाका हकअधिकार सुनिश्चितताका लागि आवाज उठाउने निडर महिलाका रुपमा परिचित छन्। मानवअधिकारका लागि एकल महिला समूह पाल्पाको अध्यक्ष, मानवअधिकार तथा शान्ति समाजमा सहसचिव तथा राष्ट्रसेविका नेपाल अञ्चल संयोजकमा रहेर भूमिका निभाउन उनी सफल छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.